सुदूरपश्चिम


फूल व्यवसायीलाई भ्याइनभ्याइ

फूल व्यवसायीलाई भ्याइनभ्याइ

नेपालखबर
कात्तिक ८, २०७९ मंगलबार १०:३६, काठमाडौँ

कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलुवापुरकी सङ्गीता धामीलाई सयपत्री फूल टिपेर माला गाँस्न र बेच्न भ्याइनभ्याइ छ ।

सङ्गीताको फूलबारीमा आजभोलि तिहारका लागि फूल र माला किन्न आउने ग्राहकहरूको घुइँचो लाग्ने गरेको छ। कलुवापुरमा उहाँले करिब आठ कट्ठा जमीनमा पुष्प खेती गरेका छन्। 

मागअनुसार फूल पुर्‍याउन हम्मेहम्मे परेको सङ्गीताले बताए। ‘तिहारका लागि फूलको माग असाध्यै छ, मागअनुसार फूल पु¥याउन सकिएको छैन’, उनले भने, ‘सयपत्रीको आठ हजार बिरुवा रोपेको थिएँ, पहिलो पटक फूल खेती गरेको व्यापार राम्रै छ।’

सङ्गीताले कृषि जेटिए अध्ययन गरेपछि गाउँमै पुष्प व्यवसाय गरेका हुन्। फूल र गाँसेको माला बिक्री गर्ने गरेको उनको भनाइ छ। ‘एउटा मालाको एक सय र प्रतिकिलो ग्राम फूल पाँच सयमा बिक्री भइरहेको छ’, उनले भने, ‘पानी परेर केही बिरुवा रोगले नष्ट भए, नभए अझै फूल उत्पादन बढी हुन्थ्यो।’

भीमदत्त नगरपालिका–१० तिलकेनीमा पुष्प व्यवसाय गर्दै आएका जनकबहादुर सिंहलाई पनि सयपत्री फूलबारीमा भ्याइनभ्याइ छ। बझाङ तलकोटका सिंहसहित चारजना युवाले तिलकेनीमा दुई बिघा जमिन लिजमा लिएर संयुक्तरूपमा व्यावसायिक पुष्प खेती गरिरहेका छन्। पाँच लाखको लगानीमा सयपत्रीका चार जातको फूल खेती गरिएको सिंहले बताए। ‘फूलको माग धेरै छ, पूर्ति गर्न सकेका छैनौँ’, उनले भने, ‘एक पटक फुलेको पूरै फूल बिक्री गरेर सकिएको छ।’

चितवनबाट फूलको बेर्ना ल्याएर खेती गरिएको उनको भनाइ छ। ‘एक बोटमा दुई माला बनाउनेसम्म फूल उत्पादन भइरहेको छ’, उनले भने, ‘अहिले तिहारलाई लक्षित गरेर फूल उत्पादन गरेका छौँ।’

उनका अनुसार अब फूल खेतीलाई नियमित गरेर बाह्रै महिना उत्पादन गर्ने तयारी छ। यस पटक फूल राम्रै बिक्री भएकाले १५ लाखसम्म आम्दानी हुने उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad