छाडा चौपायाको समस्या दिनप्रतिदिन भयावह बन्दै गएको छ।
प्रभावकारी व्यवस्थापनको अभावमा सवारी दुर्घटना बढिरहेका छन् भने खेतबारीमा लगाइएका बाली नष्ट हुँदा किसानहरू चिन्तित छन्।
छाडा चौपायाले स्थानीय वासिन्दाको दैनिक जीवनमा समेत चुनौती थपेको छ।
यही समस्याबीच भीमदत्त नगरपालिका-१९, बागफाँटाका युवा मिलन सिंह भने फरक उदाहरण बनेका छन्। अधिकांशले बोझका रूपमा हेर्ने छाडा चौपायालाई उनले अवसरमा रूपान्तरण गरेका छन्।
सिंहले छाडा चौपायाको व्यवस्थापन मात्र गरेका छैनन्, तिनको मलमुत्रको सदुपयोग गर्दै गड्यौला मल (वर्मी कम्पोस्ट) उत्पादन गरेर राम्रो आम्दानी समेत गरिरहेका छन्।
चौधर नदीको छेउमा त्रिवेणी गाइपालन तरकारी खेती तथा वर्मी कम्पोष्ट मल फर्म छ। त्यहाँ गोठमा गाउँबाट संकलन गरिएका २० बढी चौपाया व्यवस्थापन गरिएका छन्।

चौपायाको व्यवस्थापन गरिनुका साथै मनग्य आम्दानी गरिरहेको सिंह बताउँछन्। ‘दिनमा चराउन जंगलतिर लगाउँछौँ। बेलुका गोठमा राख्छौँ। त्यसकै मलमुत्र सदुपयोग गरेर एक/डेढ वर्षदेखि गड्यौला मल पनि उत्पादन गरिरहेका छौँ,’ उनले भने।
उनका अनुसार यो वर्ष १५/२० टन मल बिक्री भइसकेको छ। प्याकेजिङ गरेर महेन्द्रनगर बजारलगायत क्षेत्रमा मल बिक्री गरिन्छ।
मलसँगै गँड्यौला पनि बिक्री हुने गरेको सिंह बताउँछन्। उनका अनुसार मल प्रतिकिलोग्राम २० रुपैयाँ र गड्यौला प्रतिकिलोग्राम एक हजार रुपैयाँको दरले कारोबार हुन्छ।
उनलाई मलको माग पूर्ति गर्न भ्याइनभ्याइ छ। ‘माग धेरै छ। पूर्ति गर्न हम्मेहम्मे छ,’ उनले भने, ‘अहिलेसम्म ५/६ लाख कारोबार गरिसकेका छौँ।’
सिंहलाई विभिन्न संघसंस्थाले उपकरण सहयोग गरेका छन्। ‘विदेशमा काम गर्नुभन्दा स्वदेशमै मेहनत गर्न सक्यो भने आम्दानी राम्रो छ,’ उनले भने, ‘यहाँ हामीले स्थानीय दुई जनाले रोजगारी पनि पाएका छन्।’
छाडा चौपायाको गोबर कम परेर गाउँबाट खरिद गरेर ल्याउनु परेको उनले बताए। चौपायाबाट प्राप्त गोबर र अन्य जैविक पदार्थ प्रयोग गरी उत्पादन गरिएको गड्यौला मलको माग बढ्दै जाँदा उनको व्यवसाय पनि विस्तार हुँदै गएको छ।
यसले एकातिर छाडा चौपायाको व्यवस्थापनमा सहयोग पुगेको छ भने अर्कोतिर वातावरणमैत्री कृषि प्रवर्द्धनमा पनि टेवा पुगेको छ।
मल उत्पादनका लागि सुरुमा झारपात, गोबर, पानी र गँड्यौलाको जोहो गरिन्छ। छाया पर्ने, हावापानीको असर कम हुने, पानी नजम्ने ठाउँमा यिनलाई कुहाइन्छ।
बेडमा गँड्यौला पनि राखिन्छ। यसरी राखिएको ३ महिनापछि मल तयार हुने सिंह बताउँछन्।
तयार भएको कम्पोस्ट कालोखैरो रङको, माटोजस्तो गन्ध हुने मललाई छानेर प्याकेट वा बोरामा हालेर बिक्रीका लागि पठाइन्छ।
गँड्यौला मलले माटोको उर्वरशक्ति बढाउने हुनाले अन्नबाली, तरकारी, फलफूल तथा फूलबारीमा प्रयोग गरिने भएकाले यसको माग बढ्दो छ।
छाडा चौपाया समस्या समाधानका लागि सरकारी निकाय र स्थानीय तहले प्रभावकारी योजना ल्याउन नसकिरहेका बेला मिलन सिंहको पहलले छाडा चौपायालाई व्यवस्थापन गर्दै आर्थिक लाभ लिन सकिने सम्भावना देखाएको छ।
Shares

प्रतिक्रिया