ad ad

कारोबार


गठबन्धन दलका घोषणा पत्र : विकासका ठोस योजनाभन्दा उधारो वाचा र आश्वासन

एकैखालका योजनामा थरी थरी कुराले झुक्किन्छन् मतदाता
गठबन्धन दलका घोषणा पत्र : विकासका ठोस योजनाभन्दा उधारो वाचा र आश्वासन

कांग्रेस, माओवादी र समाजवादीको घोषणापत्र सार्वजनिक गरिँदै। तस्बिर: नेपालखबर


वसन्त अर्याल
कात्तिक १४, २०७९ सोमबार २३:१, काठमाडौँ

सत्ता गठबन्धनका ठूला तीन दलको चुनावी घोषणापत्र सार्वजनिक भएको छ। 

सत्ता गठबन्धनको नेतृत्व गरेको कांग्रेसले शनिबार घोषणा पत्र सार्वजनिक गरेको छ। माओवादी केन्द्र र एकीकृत समाजवादीले सोमबार घोषणा पत्र ल्याएका छन्। 

मतदाता आकर्षित ल्याइएका घोषणा पत्रलाई कसैले संकल्प प्रस्ताव त कसैले प्रतिवद्धता पत्र भनेका छन्। जे नाम दिए पनि मत तान्न आकर्षक नारासहित फूलबुट्टा भरेर ल्याइएको यो आश्वासनहरुको पोको नै हो। 

आगामी मंसिर ४ को निर्वाचनपछि सत्ताको नेतृत्व लिने घोषणा गरेका गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको घोषणा पत्रमा अनेक विरोधाभाष देखिएका छन्। 

गठबन्धनका दलले अघि सारेका एकै योजनामा तीनथरी दाबी र तर्क राखेका छन्। केही योजनामा यी दलको मत मिलेको छ।

घोषणा पत्रमार्फत माओवादी देशमा रेलमार्ग बनाउन आफूलाई अघि सारेको छ। दुई वर्षसम्म नेकपा एमालेसँग एकता गरेर एउटै पार्टीमा विलय भएको माओवादीले रेलको सपना देखाएको हो।

माओवादीले रेलका कुरा गरिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीकै शैलीमा एकीकृत समाजवादीले नेपालका ठूला नदीदेखि समुद्रसम्म पानी जहाज चलाउने कुरा गरेको छ। 

एकीकृत समाजवादीले पूर्व–पश्चिम ठूलो नहर बनाएर जलमार्ग र सिँचाइ मार्ग बनाउने घोषणा गर्दा कांग्रेस भने यसबारे मौन छ। 

तर राजमार्गको मुद्दामा भने यी दल एकै ठाउँ देखिएका छन्। मध्यपाहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग र पूर्व–पश्चिम राजमार्ग विस्तार ५ वर्षमै सक्ने वाचा तीनै दलको छ। 

कांग्रेसको घोषणा पत्र सार्वजनिक गरिँदै

बाहिरी चक्रपथमा कांग्रेस मौन, समाजवादीले तीनवटा बनाउने
नेकपा एकीकृत समाजवादीले काठमाडौं उपत्यकामा ३ वटा चक्रपथ बनाउने घोषणा गरेको छ। 

घोषणापत्र सार्वजनिक गर्दै समाजवादीले काठमाडौँ उपत्यकामा भित्री, बाहिरी र बृहत गरी तीनवटा चक्रपथ निर्माण, विस्तार तथा विकास गर्न पहल गर्ने जनाएको छ।

माओवादीले काठमाडौं उपत्यका र अन्य सहरका चक्रपथ स्तोरन्नति र बाहिरी चक्रपथ निर्माण सँगसँगै अघि बढाउने वचा गरेको छ।

कांग्रेसले बाहिरी चक्रपथबारे मौन रहँदै कलंकी र धोबीखोली करिडोर विस्तार सक्ने वाचा गरेको छ।

माओवादीले काठमाडौं उपत्यकामा मोनो र मेट्रो रेल सञ्चालन गर्ने घोषणा गरेको छ। 

प्रतिवद्धता पत्रमा उपत्यकाको बागमती, विष्णुमती, धोवीखोला र मनोहरा कोरिडोरमा मोनोरेल चलाउने भनिएको छ। त्यसैगरी माओवादीले चक्रपथ वरिपरि, बूढानीलकण्ठ–सानेपा, थानकोट–साँगा सडकखण्डमा मेट्रो रेल परियोजना अघि बढाउने प्रतिवद्धता गरेको छ। 

जलमार्गमा कांग्रेस मौन, माओवादी र समाजवादीको योजना
माओवादी केन्द्रले कोशी, गण्डकी, कर्णाली लगायतका प्रमुख नदीप्रणालीमा जलमार्गको विकासका निम्ति आवश्यक योजना बनाएर कार्यान्वयनमा ल्याउने जनाएको छ। 

एकीकृत समाजवादीले नेपालका ठूला नदी तथा नहर र तालहरूमा पर्यटकलक्षित साना पानीजहाज सञ्चालन गरिने उल्लेख गरेको छ। उसले एमाले अध्यक्ष केपी शर्मा ओलीले बताए जस्तै समुद्रमा नेपाली झण्डासहितको पानीजहाज चलाउने बताएको छ।

‘भूपरिवेष्ठित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गरी नेपाली ध्वजावाहक पानीजहाज सञ्चालनका लागि पहल गरिने छ,’  समाजवादीले भनेको छ। जलमार्गबारे कांग्रेस भने मौन छ। 

माओवादीको घोषणा पत्र सार्वजनिक गरिँदै

विदेशी पर्यटक : माओवादीको योजना ३० लाख, कांग्रेसको २० लाख 
माओवादीको घोषणापत्रमा कोभिड महामारी लगायत प्रकोपका कारण स्थगित नेपाल भ्रमण वर्षलाई थप परिस्कृत र विकास गरी घोषणा गरिने उल्लेख गरेको छ। 

उक्त कार्यक्रममार्फत एक वर्षमै ३० लाख विदेशी पर्यटक भित्रिने आधार तयार गरिने प्रतिवद्धता माओवादीले व्यक्त गरेको छ। 

कांग्रेसले आगामी पाँच वर्षमा वार्षिक विदेशी पर्यटक संख्या १२ लाखबाट २० लाख पु¥याउने उल्लेख गरेको छ। पर्यटकको औसत बसाइलाई १३ दिनबाट १५ दिन, प्रतिपर्यटक खर्च दैनिक ४८ बाट १०० डलरको लक्ष्य राखिएको छ। 

समाजवादीले दैनिक कम्तीमा ५ लाख बाह्य तथा आन्तरिक पर्यटकलाई सेवा प्रदान गर्न सक्ने गरी पूर्वाधार निर्माण पहल गर्ने उल्लेख गरेको छ। 

जलविद्युत : माओवादीले ८ हजार, कांग्रेसले १० हजार मेगावाट
कांग्रेसको घोषणापत्रमा हाल २२ सय मेगावाट उत्पादन भइरहेको २०८४ सम्ममा कूल जडित क्षमता १० हजार मेगावाट पु¥याउने लक्ष्य राखेको छ।  

हाल बिजुलीको पहुँच ९३ प्रतिशत जनतामा पुगिसकेको दाबी कांग्रेसको छ। अर्को पाँच वर्षमा कम्तीमा ५० प्रतिशत घरपरिवारले बिजुलीबाट खाना पकाउने लक्ष्यलाई कार्यान्वयन गरिने उल्लेख छ। पेट्रोलपम्पलाई चार्जिङ स्टेशन बनाउने प्रतिवद्धता पनि जनाइएको छ।

माओवादीले अबको ५ वर्षमा हाल निर्माण प्रक्रियामा रहेकोबाहेक थप ५ हजार मेगावाट विद्युत् उत्पादन गर्न लगानी जुटाउने उल्लेख गरेको छ। 

‘थप ५ हजार मेगावाट जलविद्युत आयोजनाको पीपीए गरिने छ । पाँच वर्षभित्र कुल विद्युत उत्पादन ८ हजार मेगावाट पुयाइनेछ,’ माओवादीको घोषणापत्रमा उल्लेख छ, ‘बूढीगण्डकी बहुउद्देश्यीय जलविद्युत परियोजना निर्माण अघि बढाइने छ।’

समाजवादीले ‘घरघरमा बिजुली–जनजनमा सेयर’ नीति लागू गर्दै आकर्षक प्रतिफल दिने जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवर्द्धन गर्ने व्यवस्था मिलाइने जनाएको छ। 

तीनै तहका सरकारको सहकार्यमा हरेक घर–परिवारलाई मासिक २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिने घोषणा उसले गरेको छ। 

एकीकृत समाजवादीको घोषणा पत्र सार्वजनिक गरिँदै

पूर्वपश्चिम रेलमार्ग कांग्रेस र माओवादीको प्राथमिकता
कांग्रेसले घोषणा पत्रमा मेची–काली रेलमार्ग निर्माणलाई उच्च प्राथमिकता दिँदै आवश्यक जग्गा अधिग्रहण तथा अधिग्रहण गरेको जग्गाको समयमै मुआब्जा दिएर निर्माण तीव्र पार्ने उल्लेख गरेको छ। माओवादीले पूर्व–पश्चिम रेल सञ्चालन गर्न रेलवे निर्माणलाई समयमै सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ। 

माओवादीले वीरगञ्ज–काठमाडौँ, रसुवागढी–काठमाडौँ, पोखरा–लुम्बिनी विद्युतीय रेलमार्ग निर्माणलाई प्राथमिकताता दिने बताएको छ। 

कांग्रेसले काठमाडौं जोड्ने अन्तरदेशीय रेलमार्ग निर्माणका लागि विस्तृत अध्ययनपश्चात् आर्थिक, पर्यावरणीय र प्राविधिक सम्भाव्यताका आधारमा अगाडि बढाइने उल्लेख छ। 

माओवादीले पोखरा, विराटनगर, बुटवल, जनकपुर, नेपालगञ्ज लगायत मुख्य सहरहरुमा मेट्रो र मनोरेल, ट्रली लगायत आधुनिक सार्वजनिक यातायात सञ्चालन गर्ने कामको योजनाबद्ध थालनी गरिने उल्लेख गरेको छ। 

पानी जहाज चलाउन तयार एकीकृत समाजवादीे रेल मार्ग निमार्णबारे भने मौन छ। 

ठूला राजमार्ग : ५ वर्षभित्र सक्ने
समाजवादीले प्रतिवद्धता पत्रमा काठमाडौँ–तराई द्रूतमार्ग तीन वर्षभित्र निर्माण गर्ने, पूर्व–पश्चिम राजमार्गलाई पाँच वर्षभित्र ६ लेनमा स्तरोन्नति गर्ने, मध्यपहाडी पुष्पलाल लोकमार्गलाई चार लेनमा स्तरोन्नति गर्ने र मदन भण्डारी राजमार्ग निर्माण आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने जनाएको छ। 

कर्णाली, गण्डकी, कोशी कोरिडोर लगायत उत्तर–दक्षिण राजमार्ग तथा तराईका सबै जिल्लामा राजमार्गदेखि नेपाल–भारत सिमानासम्म फराकिला राजमार्ग निर्माण गर्न जोड दिइने समाजवादीको दाबी छ।

माओवादी केन्द्रले पूर्व–पश्चिम तथा उत्तर–दक्षिण राजमार्ग, लोकमार्ग तथा द्रुतमार्गहरुको निर्माण तथा स्तरोन्नतिलाई तीव्र गतिमा अघि बढाइने छ । काठमाडौं–तराई द्रुत मार्ग निर्माण तीव्रता प्रदान गर्ने बताएको छ। 

कांग्रेसको घोषणा पत्रमा पूर्व–पश्चिम लोकमार्ग र मुग्लिङदेखि पोखरासम्मको पृथ्वी लोकमार्ग चार लेनको बनाउने प्रतिवद्धता जनाएको छ। 

२०७४ मै अहिलेसम्म निर्माण सक्ने वाचा गरेको कांग्रेले निजगढ–काठमाडौं द्रुतमार्ग, हुलाकी सडक, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्ग अबको ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेको छ। 

५ वर्षमा तरकारी र फलफूलमा आत्मनिर्भर
कांग्रेसको घोषणापत्रमा ५ वर्षमा तरकारी, फलफूल, माछा, मासु, दूग्ध, मसला र औद्योगिक बालीमा आत्मनिर्भर हुने लक्ष्य राखेको छ। 

समाजवादीले दुई वर्षभित्र नेपाललाई आधारभूत खाद्यान्न, माछा, मासु, अन्डा र दुधमा आत्मनिर्भर बनाउने र पाँच वर्षभित्र खाद्यान्न निर्यात गर्ने अवस्थामा पुर्‍याउने नीति लिइने उल्लेख गरेको छ। 

माओवादीको घोषणा पत्रमा आगामी पाँच वर्षभित्र प्रमुख खाद्यान्न, तरकारी, फलफूल, माछा, मासु, अन्डा र दुधमा मुलुकलाई आत्मनिर्भर तुल्याउने उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .