५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत् आयोजना निर्माणको लागि ५ बैंकले करिव ८ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएका छन्।
सोमबार काठमाडौंका एक कार्यक्रमका बीच हाइड्रो भिलेज प्रालिले निर्माण गर्न लागेको ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत् आयोजना निर्माणको लागि कम्पनी र बैंकहरूबीच करिब ८ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको हो।
कुल १० अर्ब ७४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा नेपाल बैंकको अगुवाईमा मेगा बैंक, कृषि विकास बैंक, कर्मचारी सञ्चय कोष र नेपाल एसबिआई बैंकले लगानी गर्ने सहमति भएको छ।
आयोजनाले ६२६.५० मि. हेड र म्याग्दी खोलाको १२.५० घनमिटर प्रतिसेकेण्ड वहाव प्रयोग गरी ५७.३ मेगावाट क्षमता विद्युत उत्पादन गर्ने कम्पनीले जनाएको छ। हस्ताक्षर कार्यक्रममा बोल्दै हाइड्रो भिलेजका अध्यक्ष रामेश्वर थापाले हाइड्रो भिलेजका प्रवर्द्धकहरु सक्षम एवं अनुभव प्राप्त संस्था तथा व्यक्तिहरु भएको हुँदा आयोजना समयमा नै निर्माणसम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए।
उनले नवीकरणीय ऊर्जाको दिगो विकासमा आफू प्रतिबद्ध रहेको बताए। उनले आयोजनाको निर्माण निर्धारित समयभित्र नै सम्पन्न गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
त्यस्तै, ऊर्जा डेभलपर्स प्रा.लि.का अध्यक्ष विजयबहादुर राजभण्डारीले ऊर्जा क्षेत्रको विकास गर्ने रणनीतिक एउटै भएकाले हाइड्रो भिलेजसँगको सहकार्य गरिएको बताए।
उनले देश विकासमा हाइड्रो पावरको भूमिका आफ्नो पनि सहकार्य जनाउनको लागि काम गरिरहेको बताए। उनले ऊर्जा डेभलपर्सले न्यूनतम समय एवं प्रतिस्पर्धी मूल्यमा उच्च गुणस्तरीय कार्यहरु गरी आयोजना सम्पन्न गरिसकिएको स्मरण गरे।
उनले आन्तिरक तथा क्षेत्रिय बजार अध्ययन गरी अगामी दिनमा विभिन्न मोडलका जलाशय र अर्धजलाशययुक्त आयोजना निर्माण गरिने पनि बताए।
त्यस्तै सम्झौता कार्यक्रममा बोल्दै नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकुमार उपाध्यायले जलविद्युत आयोजना निर्माणको समयमा सम्पन्न गर्न नसक्दा लागत बढ्ने बताए। उनले विगत केही समयदेखि विश्वव्यापी रुपमा नै सिर्जना भएको तरलता अभावका कारण बैंकहरुमा लगानीयोग्य रकम अभाव भएको बताए।
उनले बजारमा लरलता अभाव भनिए पनि तरलता अभाव नभएको भन्दै अभाव भएको भए बैंक बन्द हुने अवस्था आउने बताए। उनले बैंकहरुमा तरलता संकट नभएर लगानीयोग्य रकमको अभाव भएको बताए।
अध्यक्ष उपध्यायले अहिलेको अवस्था हेर्दा कम्पनीको लागत ४ रुपैयाँसम्म बढेको बताए। उनले आर्थिक मन्दीका बाबजुद आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएकोमा खुशी व्यक्त गरे।
त्यस्तै, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकको अग्रता र अन्य चार बैंकको साझेदारीमा यस आयोजनाको वित्तीय व्यवस्थापन सफलतापूर्वक सम्पन्न हुनु उल्लासमय क्षण रहेको बताए। उनले देशको आर्थिक संवृद्धि तथा विदेशी मुद्रा आर्जनका लागि अपार सम्भावना बोकेको जलविद्युत क्षेत्रमा म्याग्दी खोला जलविद्युत आयोजनासँग आवद्ध हुन पाउँदा गर्व महशुस भएको बताए।
माग्दी खोला जलविद्युत आयोजनाबाट स्थानीय निकायहरुसँगकोे सहकार्यमा पहुँच मार्ग र अन्य पूर्वाधार निर्माण कार्य प्रारम्भ गरिसकेको र आगामी सुख्खा यामदेखि मुख्य सिभिल संरचनाको निर्माण थालनी गरिने कम्पनीले जनाएको छ । आयोजना निर्माण थालनी भएको ४० महिनाभित्र आयोजना सम्पन्न हुनेछ।
आयोजनामा वित्तीय संस्थाहरूबाट ७५ प्रतिशत (८ अर्ब ५ करोड ७० लाख रुपैयाँ) र स्वपुँजी २५ प्रतिशत (२ अर्ब ६८ करोड ६० रुपैयाँ) लगानी हुनेछ । आयोजना क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत लगानी छुट्ट्याइएको छ ।
आयोजना सम्पन्न भएपछि सुख्खा याममा १०३.११ गिगावाट आवर (१०.३१ करोड युनिट) र वर्षायाममा २३२.८८ गिगावाट आवर (३२.२८ करोड युनिट) गरी वार्षिक ३३६ गिगावाट आवर (३३.६ करोड युनिट) विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया