कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ साधारणसभा सम्पन्न भएको छ।
नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले शुक्रबार राजधानी काठमाडौँको लाजिम्पाटस्थित होटल ले हिमालयमा सम्पन्न गरेको २२औँ साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो।
योसँगै आइएमईलाई नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनीको परिचय पनि थपिएको छ। साधारणसभामा संक्षिप्त मन्तव्य दिँदै आइएमई ग्रुपका अध्यक्ष एवम् संस्थापक चन्द्रप्रसाद ढकालले आजभन्दा २३ वर्षअघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य अत्यन्तै कठिन र चुनौतीपूर्ण छ भन्ने धेरै शुभचिन्तकहरुको सुझाव र सल्लाहकै बाबजुद एउटा सानो स्केलमा आइएमई स्थापना भएको स्मरण गरे।
अध्यक्ष ढकालले आम सेवाग्राहीबीच आईपीओसहित पहिलो पब्लिक रेमिट्यान्स कम्पनीको रूपमा आउन पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै आईएमईको आजसम्मको व्यावसायिक यात्रामा सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सहसंस्थापक एवम् प्रबन्धनिर्देशक हेमराज ढकालले विश्व अहिले डिजिटल यूगमा प्रवेश गरेको औल्याउँदै प्रतिस्पर्धी बजारमा कम्पनीलाई अझै ऊर्जावान, पारदर्शी र व्यवसायिक दयारा फराकिलो बनाउन पब्लिकमा लगिएको बताए।
साधारणसभालाई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट एवम् आईएमईका सञ्चालक सुमन पोखरेल र ग्रुपका वित्त निर्देशक दीपक शर्माले शुभकामना व्यक्त गरेका थिए।
अब नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले शीघ्र आइपीओ निष्कासन गर्ने आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बताए।
यो प्रक्रियाका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरी नियामक धितोपत्र बोर्डमा निवेदन दिनेछ। सम्बन्धित नियामक निकायबाट स्वीकृत प्राप्त हुनासाथ यो प्रकृया अगाडि बढ्नेछ।
रेमिट्यान्स समाधान प्रदायकहरू मध्येको अग्रणी आइएमई स्थापना भएको दुई दशकभन्दा बढी भइसकेको छ। आइएमईले विश्वभर विश्व–स्तरीय मनी ट्रान्सफर सेवाहरू प्रदान गर्दछ। आइएमईको विश्वव्यापी पहुँचका कारण विश्वका दुई सयभन्दा बढी देशहरूबाट मुलुकमा विप्रेषण भित्रिने गर्छ।
Shares
प्रतिक्रिया