ad ad

कारोबार


सेयरबजार समीक्षा : यो साता २२ सयमाथि टिक्न सकेन नेप्से

सेयरबजार समीक्षा : यो साता २२ सयमाथि टिक्न सकेन नेप्से

आकाश बोगटी
माघ १३, २०७९ शुक्रबार २०:६, काठमाडौँ

साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१७८ विन्दुबाट खुलेर अन्तिम दिन २१८३ विन्दुमा पुगेर बन्द भएको छ। अर्थात् साताभरि नेप्से परिसूचक ४.४ अंकले उकालो लाग्यो। 

आइतबार सार्वजनिक विदा हुँदा नेप्से सोमबार कारोबार सुरु भएकै पहिलो दिन परिसूचक १३.७१ अंकले घट्यो। मंगलबार र बुधबार पुनः १८.५७ अंकले उकालो लागेको बजार अन्तिम कारोबार दिन झिनो (०.४१) अंकको गिरावट आयो। अन्तत यो साता सामान्य अंकले बढ्न सफल भयो। 

साताभरि सामान्य अंकले बढेको बजारमा १३ अर्ब बढीको कारोबार भयो। यो साता बजार साढे २२ सय विन्दुमाथि उक्लिएपनि टिक्न भने सकेन। 

मंगलबार बजारले उच्च २२०३ विन्दु र अन्तिम कारोबार दिन बिहीबार २२०१ विन्दु समाते पनि अडिन भने सकेको थिएन। 

दुई कारोबार दिन २२ सय विन्दुको प्रतिरोध सामना गरेको बजार पार गर्न भने सकेन। आगामी साता २२ सय विन्दुलाई तोड्नु बजारको प्रमुख लक्ष्य हुने देखिएको छ। यो साता लगानीकर्ताहरुको ट्रेन्ड २२०० पुग्ने बित्तिकै सेयर बेच्ने गरेको देखिँदै आएको छ। २२०० बाट बजार फर्किने क्रममा धेरै ठूलो गिरावट भने आएको छैन। 

यो साता बजार २१८३ को विन्दुमा आएर बन्द भयो। त्यसैले बजारलाई २२ सय विन्दुमाथि उक्लिन प्रतिरोध भए पनि केही सकारात्मक कुरा आउनेबित्तिकै यो क्षेत्र सजिलै तोडिने र यो क्षेत्र बलियो टेवा बन्ने जानकार बताउँछन्।

त्यसैगरी यो साता खराब कर्जा वृद्धिको कारणले गर्दा वाणिज्य बैंकको नाफामा दबाब परेको र लगानीकर्ताले सोचेजस्तो बैंकहरुको रिपोर्ट आउन नसकेको कारणले गर्दा सबैभन्दा ठूलो बजार पूँजीकरण भएको क्षेत्र वाणिज्य बैंकको सेयरको मूल्य बढ्न सकेन। जसले गर्दा बजारलाई २२०० को विन्दु तोड्न केही अप्ठेरो परेको देखिन्छ। यता कर्जाको ब्याज नघटेको समाचार आएसँगै लगानीकर्ताहरु उत्साहित नभएको पनि देखिन्छ। स्प्रेडदर पनि २०७९ चैतबाट मात्र घट्नेछ। कर्जाको ब्याजदर तत्कालै नघट्ने नदेखिँदा लगानीकर्ता २२ सय विन्दुलाई पर्खिरहेको छन्। 

साथै, बजारले २२ सय विन्दुको प्रतिरोध सामना गरेर माथि गएमा त्यो सपोर्ट हुन्छ। प्रतिरोध जति बलियो हुन्छ, तोडिएमा त्यो त्यति नै बलियो सपोर्ट पनि हुने गर्छ। बजार राम्रो कारोबार रकममा साथ २२०० को क्षेत्रमाथि केही दिन बस्न सकेमा बजारले यो क्षेत्रलाई बलियो टेवाको रुपमा ग्रहण गर्ने देखिन्छ। 

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए यो साता
साताको पहिलो कारोबार दिन सोमबार आर्दश लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको थियो। त्यस्तै कुमारी बैंकको सेयरमूल्य ९.९९ र सानिमा जनरल इन्स्योरेन्सको ९.९९ प्रतिशतले बढेको थियो। मंगलबार सूर्यादय वोमी लघुवित्तको ९.७७ प्रतिशत, शिवश्री हाइड्रोपावरको ९.२ प्रतिशत र सानिमा जनरल इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ। 

बुधबार ग्रिनलाइफ हाइड्रोपावर र आर्दश लघुवित्तको सेयरमूल्य १० प्रतिशत र सानिमा जीआईसीको ९.९९ प्रतिशतले बढेको थियो। बिहीबार लुम्बिनी जनरल इन्स्योरेन्स, आर्दश लघुवित्त र बाराही हाइड्रोपावको सेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको थियो।  

सर्वाधिक कारोबार भएका कम्पनी  
साताको पहिलो कारोबार दिन नेप्सेमा कुमारी बैंकको कारोबार भएको थियो। बैंकको २७ करोडको सेयर कारोबार भएको थियो। त्यसैगरी एनआईसी एसिया बैंकको १२ करोड ७५ लाख र रिडी पावरको ११ करोड ३३ लाख रुपैयाँको कारोबार भएको थियो।

मंगलबार नेपाल टेलिकमको १२ करोड ९१ लाख, शिवश्री हाइड्रोपावरको १० करोड ४१ लाख र अपी पावरको ९ करोड ३० लाख कारोबार भएको छ। बुधबार नेसनल हाइड्रोपावरको १० करोड १४ लाख, हिमाल दोलखा हाइड्रोपावरको ९ करोड २१ लाखको कारोबार गरेको छ। 

त्यसैगरी बिहीबार समृद्धि फाइनान्सको ९ करोड ७० लाख, रिडी पावरको ८ करोड ६१ लाख र अँखु खोलाको ७ करोड ३८ लाखको कारोबार भएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .