कारोबार


हिमालय शमशेर : जसले भारतीय नोट विस्थापित गरे

हिमालय शमशेर : जसले भारतीय नोट विस्थापित गरे

स्वर्गीय हिमालय शमशेर राणा।


नेपालखबर
माघ २२, २०७९ आइतबार १८:४०, काठमाडौँ

नेपालको पहिलो गभर्नर हिमालय शमशेर राणाको ९५ वर्षको उमेरमा आइतबार मृत्यु भएको छ। 

विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित उनको केही साता अघिदेखि काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको थियो। 

योसँगै नेपाली अर्थतन्त्रले एउटा महत्वपूर्ण व्यक्तिलाई गुमाएको छ। 

को हुन् राणा? 
राणा नेपालको पहिलो गभर्नरसँगै आफैँमा एक इतिहास हुन्। प्रजातन्त्र स्थापनापछि अर्थतन्त्रमा थिति बसाल्न उनको ठूलो योगदान छ। 

राणाले नेपालको अर्थनीति र मौद्रिक नीति दुवैको सुरुवात गरेका थिए। उनी प्रजातन्त्रपछिको पहिलो अर्थसचिव रहेका थिए। 

सन् १९२८ मा स्वस्थानी पूर्णिमाका दिन जन्मिएका राणाको आइतबार स्वस्थानी पूर्णिमाकै दिन निधन भएको हो। 

राणा पहिलो गभर्नर भएको कारण गभर्नरको हैसियतमा नेपाली नोटमा पहिलो हस्ताक्षर गर्ने व्यक्ति हुन्। 

त्यस समयमा नेपाली मुद्रा तथा मौद्रिक नीतिहरुको थिति बसाल्ने व्यक्तिका रुपमा उनलाई सम्झिन्छन् पूर्वगभर्नर तिलक रावल। 

उनले भने, ‘राणा गभर्नर भएर आउँदा नेपालमा नेपालको मुद्राभन्दा भारतीय मुद्राको प्रचलन थियो। उनले भारतीय मुद्रा मूल्याङ्कन फरक गराए। त्यस्तै सरकारी अड्डामा भारतीय नोटको प्रयोग घटाउन लगाए।’

त्यस समयमा नै अर्थात् २०१३ सालमा नै हिमालय शमशेर राणाले नेपाल र भारतको मुद्रामा १ दशमलव ६ प्रतिशत फरक गराएका थिए। सोही मूल्याङ्कन अहिले पनि कायम छ।

उनले नेपाल राष्ट्र बैंकको शाखा कार्यालयहरु देशभर स्थापना गरेर मौद्रिक व्यवस्थापनमा योगदान गरेका छन्। 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समेत प्रजातन्त्रपछि आर्थिक क्षेत्रमा सबैभन्दा ठूलो योगदान गर्ने व्यक्तिको रुपमा लिन्छन्।

उनी भन्छन्, ‘राणा शासनको अन्त्य भई नेपाल नयाँ प्रजातान्त्रिक युथमा प्रवेश गरेको अवस्थामा २००७ सालदेखि उनले अर्थसचिवको जिम्मेवारी वहन गरे। सो क्रममा उनले बजेट सार्वजनिकीकरणको आधार निर्माण गरे। त्यस्तै राजस्व अभिवृद्धिका लागि भन्सार व्यवस्थापनको आधुनिकीकरण गर्ने आन्तरिक राजस्व प्रशासनको सबलीकरण गर्ने काम समेत गरे।’

वित्तीय पारदर्शिताका सम्वाहक
त्यसका अलावा उनले आर्थिक एवम् वित्तीय अनुशासन र पारदर्शिताका लागि महालेखापरीक्षकको कार्यालयको स्थापना समेत गर्ने नेतृत्वकर्ता हुन्। 

मुलुकको आर्थिक व्यवस्थापनको आधारमा खडा गर्ने अग्रणी भूमिका निर्वाह गरेका उनले नेपालको वित्तीय दायरा विस्तार एवम् व्यापक बनाउने र औद्योगिक विस्तार कार्यमा समेत उनको योगदान महत्पूर्ण रहयो।

नेपाली अर्थतन्त्रका विकासका निम्ति नीतिगत, संरचनागत एवम्, व्यवस्थापकीय पूर्वाधारका कुशल निर्माता एवम् प्रवद्र्धक रााणा रहेको गभर्नर अधिकारीको भनाइ छ। 

स्वर्गीय राणा नेपाल सरकारको अर्थसचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बनेका थिए। 

तत्कालीन राजा महेन्द्रले राष्ट्र बैंकको स्थापना गरेर गभर्नरको नियुक्ति दिँदा उनको उमेर मात्र २९ वर्ष थियो।  

उनले ९५ वर्षको उमेरमा समेत २ वटा किताब प्रकाशनको तयारी गरिरहेका थिए। स्वर्गीय राणाका २ छोरा र २ छोरी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .