कारोबार


सात प्रदेशमा साढे ७ हजार सहकारी, कुन प्रदेशमा कति समस्या?

सहरकेन्द्रित सहकारीमा समस्या बढ्दै/सञ्चालककै बदमासी
सात प्रदेशमा साढे ७ हजार सहकारी, कुन प्रदेशमा कति समस्या?

केशर बोगटी
फागुन ८, २०७९ सोमबार १७:४९, काठमाडौँ

देशैभर प्रदेशमातहत रहेका सहकारीको संख्या साढे सात हजार बढी छ। 

२०७९ फागुनसम्म सात प्रदेशमा ७ हजार ६ सय १० सहकारी संस्थाहरु छन्। 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको सहकारी विभागका अनुसार देशभर कुल २९ हजार ८८६ सहकारी रहेकोमा १ प्रतिशत संघ, १९ प्रतिशत प्रदेश र ८० प्रतिशत स्थानीय सरकारमातहत छन्। 

प्रदेश सरकारको मातहतमा रहेका ७ हजार ६ सय १० सहकारी संस्थामध्ये हाल १८३ सहकारी समस्यामा देखिएका छन्। 

सबैभन्दा धेरै बागमती प्रदेश सरकारको मातहतमा रहेका सहकारी समस्यामा देखिएका छन्। बागमती प्रदेश सरकारको मातहतका ३३ सय ३६ सहकारीमध्ये १४६ सहकारी समस्यामा छन्। 

बागमती प्रदेश सहकारी विभागका रजिष्ट्रार नारायणप्रसाद ज्ञवालीका अनुसार यस प्रदेशमा १४६ सहकारीमा बचतकर्ताले मागदाबी गर्दै उजुरी दिएका छन्। 

उनका अनुसार अधिकांश सहरकेन्द्रित भएर सञ्चालन आएका सहकारी समस्यामा देखिएपछि बचतकर्ताहरु उजुरी दिन थालेका छन्। 

उनले उजुरी दैनिक रुपमा बढ्दै गइरहेको बताए। दुई वा दुईभन्दा बढी पालिका कार्यक्षेत्र भएका वा पाँच करोड रुपैयाँ बढी पुँजी भएका सहकारी प्रदेश सरकारअन्तर्गत पर्दछन्। अर्थात् प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले हेर्छ। 

हालै बागमती प्रदेश मातहतको सन्ध्या बहुउद्देश्यीय सहकारीका बचतकर्ताले १०० बढी बचतकर्ताले ५ करोड रुपैयाँको मागदाबी गर्दै उजुरी दिएका थिए। 

त्यसैगरी कर्णाली प्रदेश सरकारको मातहतमा रहेका सहकारीमा भने समस्या देखिएको छैन। यस प्रदेशबाहेक अन्य सबै प्रदेशमा सहकारीका बचतकर्ताले मागदाबी गर्दै उजुरी दर्ता गरेका छन्। 

कर्णाली प्रदेश सरकारका सूचना अधिकारी कृष्णप्रसाद खरेलका अनुसार लिखित रुपमा बचतकर्ताले हालसम्म उजुरी नदिएको बताए।  

बागमती प्रदेश : ३ हजार ३२६ सहकारी, १४६ उजुरी
बाग्मती प्रदेशअन्तर्गत ३३ सय २६ सहकारी संस्था छन्। जसमध्ये १४६ सहकारीविरुद्ध उजुरी परेको छ। 

हालसम्म १४६ सहकारीका बचतकर्ताले माग दाबी गर्दै उजुरी दिएको बागमती प्रदेश सरकार सहकारी विभागका रजिष्ट्रार ज्ञवालीले बताए। 
उनका अनुसार दैनिक उजुरी दिने बचतकर्ता बढ्दै गएको छ। 

‘बागमती प्रदेशमातहतका सहकारीमा समस्या बढ्दै गइरहेको छ’, उनले भने, ‘निरन्तर बचतकर्ता उजुरी दिँदै छन्।’

सहरकेन्द्रित भएर सञ्चालन भइरहेका सहकारीमा समस्या बढ्नथालेको ज्ञवालीको भनाइ छ। 

गण्डकी प्रदेश : ९३४ सहकारी, ११ वटामा समस्या
गण्डकी प्रदेश सरकारको मातहतमा ९ सय ३४ सहकारी छन्। जसमध्ये ११ सहकारी समस्यामा रहेको गण्डकी प्रदेश सरकारका सूचना अधिकारी तोलाकान्त वाग्लेले बताए। 

उनका अनुसार केही सहकारीका सञ्चालकको बदमासीका कारण सहकारीमा समस्या देखिएको छ। 

‘पछिल्लो समय देखिएको तरलताको चाप सहकारीमा क्षेत्रमा पनि देखिएको छ’, उनले भने, ‘बचतकर्ता एकैपटक बचत फिर्ता माग्न थालेपछि केही बढेको देखिन्छ।’ 

केही सहकारीका सञ्चालकबाटै बदमासी समेत गरेको वाग्लेले बताए। 

उनका अनुसार सहरकेन्द्रित सहकारीका सञ्चालक बढी नाफा आर्जन गर्न लालायित हुँदा समस्यामा आइरहेको छ। 

प्रदेश १ : १०६५ सहकारी, आधा दर्जनमा समस्या 
प्रदेश १ सरकारको मातहतमा कुल १ हजार ६५ सहकारी छन्। जसमध्ये आधा दर्जन सहकारीमा समस्या देखिएको छ। 

प्रदेश १ सहकारी विभागका रजिष्ट्रार हरिबहादुर खत्रीका अनुसार आधा दर्जन सहकारी समस्यामा छन्। 

‘आधा दर्जन सहकारीमा छुट्टाछुट्टै समस्या छ’, उनले भने, ‘एक–दुई सहकारी समस्यामा देखिए पनि अन्य सहकारीमा भने एक–दुई जनाबाट ठगी उजुरी परेको छ।’

उनका अनुसार एक–दुई सहकारीका सञ्चालक फरार भएपछि उजुरीकर्ताले मागदाबीसहित उजुरी दिएका छन्।  

लुम्बिनी : ७७३ सहकारी, दर्जनविरुद्ध उजुरी 
लुम्बिनी प्रदेशमातहतमा ७ सय ७३ सहकारी छन्। जसमध्ये समस्यामा रहेका करिब एक दर्जन सहकारीविरुद्ध बचतकर्ताले उजुरी दिएका छन्। 

७७३ सहकारीमा १ लाख ८७ लाख ९५७ जना सदस्य छन्। यस प्रदेशमा सबैभन्दा धेरै बचत तथा ऋण सहकारी छन्। 

प्रदेश सरकारको मातहतकामध्ये २६५ बचत तथा ऋण सहकारी छन्। त्यसैगरी बहुउद्देश्यी २३०, कृषि सहकारी १३९, दुग्ध सहकारी ३३, उपझोक्ता सहकारी १३, पशुपालन सहकारी १, विद्युत् सहकारी ४, सञ्चार सहकारी १२, अदुवा सहकारी ८, साना किसान कृषि सहकारी ८, कफी सहकारी, मौरीपालन सहकारी ४, तरकारी तथा फलफस्ल सहकारी ४ र अन्य सहकारी ४६ वटा रहेका छन्। यी सहकारीमा कुल १९ अर्ब १२ करोड बचत रहेकोमा २० अर्ब २४ करोड लगानी छ। 

ग्रामीण र सामुदायिक स्तरबाट सञ्चालनमा रहेका सहकारी समस्यामा देखिएको सूचना अधिकारी सुरेन्द्र पाण्डेले बताए। 

‘सहरकेन्द्रित सहकारी समस्यामा देखिएका छन्’, उनले भने, ‘सहकारीको क्षेत्राधिकारबाहिर गएर काम गर्ने सहकारी समस्यामा देखिएका छन्।’

केही सहकारीले भने राम्रो काम गरेको पाण्डेले बताए। 

कर्णाली : ३१४ सहकारी, छैन समस्या 
कर्णाली प्रदेश सरकारको मातहतमा कुल ३१४ सहकारी संस्थाहरु छन्। 

प्रदेशमा मातहतमा सञ्चालनमा रहेका कुनै सहकारी समस्यामा नरहेको कर्णाली प्रदेशका प्रवक्ता धन बहादुर कठायतले बताए। 

‘मौखिक रुपमा एक/दुई सहकारीले बचतकर्ताको पैसा हिनामिनाको उजुरी गरेका छन्’, उनले भने, ‘लिखित रुपमा कुनै सहकारीका बचतकर्ताले उजुरी दिएका छैनन्।’

सुदूरपश्चिम : ३६६ सहकारी, २ वटामा समस्या 
सुदूरपश्चिम प्रदेश सरकारको मातहतमा कुल ३६६ सहकारी छन्।

जसमध्ये दुई सहकारी समस्यामा देखिएको सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको सहकारी विभागका रजिष्ट्रार टिकाराम थापाले बताए। 

उनका अनुसार सुदूरपश्चिम प्रदेश सरकारको मातहतमा रहेका दुई सहकारीका बचतकर्ताले उजुरी दिएका छन्। 

धनगढीमा रहेका हातेमालो सहकारी र बाजुरा रहेको एक सहकारीका बचतकर्ताले पैसा नपाएको भनेर उजुरी दिएका छन्। 

दुवै सहकारीको कर्जा लगानी समयमा उठाउन नसक्दा समस्यामा देखिएको थापाको भनाइ छ। 

मधेश : २८५ सहकारी, ६ वटामा समस्या
मधेश प्रदेश मातहतमा कुल ८ सय २५ सहकारी संस्था छन्। 

यीमध्ये ६ सहकारीविरुद्ध बचतकर्ताले उजुरी दिएको प्रदेश सरकार सहकारी शाखा अधिकृत ओमनारायण झाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .