कारोबार


यातायात कार्यालयको सेवा बिहान ८ बजे सुरु गर्ने तयारी

यातायात कार्यालयको सेवा बिहान ८ बजे सुरु गर्ने तयारी

नेपालखबर
फागुन २४, २०७९ बुधबार १७:२९, काठमाडौँ

देशभरिमा सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमा पर्ने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र कार्यालयले बिहान ८ बजे नै सेवा सुरु गर्ने तयारी गरेको छ। 

कार्यालयमा सधैँ कार्यालय समयभन्दा घण्टौँ पहिले नै सेवाग्राही लाममा हुने गरेकाले भीडभाड व्यवस्थापनका लागि बिहान चाँडै सेवा सुरु गर्ने योजना बनाइएको कार्यालयले जनाएको छ। बिहान ८ बजेदेखि खुल्दा सेवाग्राही लाममा बस्नु नपर्ने र उनीहरुले थोरै समयमा काम गरिसक्ने कार्यालयका प्रमुख राजकुमार कपालीले बताए। उनले भने, ‘लाममा बस्न नपरेपछि बिचौलियाले पनि ठग्न पाउँदैनन्। आउँछन् र खुरुखुरु जान सक्छन्।’ 

बिहान सेवा सुरु अहिले छलफल भइरहेको कार्यालयले जनाएको छ। सेवा प्रवाह कार्यालय समयमा हुने भए पनि सेवाग्राही बिहान ६ बजेदेखि लाममा बस्ने गरेको उनले बताए। सेवाग्राहीलाई बुझाउन नसकिएको १० बजेसम्म दुई सय जना लाममा बस्ने उनले बताए। प्रमुख कपालीले भने, ‘ताला लगाए पनि बाहिरैबाट लाम हुने गरेको छ।’

 कार्यालयले दैनिक तीनदेखि साढे तीन सय टोकन बाँड्ने गरेको छ। त्योबाहेक टाढाबाट आएको जाममा परेको वा तुरुन्त अनुमतिपत्र चाहिने सेवाग्राहीलाई टोकन नभए पनि अवस्था हेरेर सेवा दिइने प्रमुख कपालीले बताए। उनले भने, ‘समस्या रहेकालाई टोकन विना ५० देखि एक सयसम्मलाई दिने गरिएको छ।’

कार्यालयमा अहिले दरबन्दीअनुसार नै जनशक्ति कार्यरत छन्। विसं २०७२ को दरबन्दीअनुसार ३५ जना रहेकामा र करारबाट २२ जना कार्यरत छन्। कार्यालयको व्यस्त समय ११ देखि २ बजेसम्म जनशक्ति कमी महसुस हुने भए पनि अरू समयमा जनशक्ति पर्याप्त नै हुने गरेको उनले बताए। सेवाग्राहीको भीडभाड बिहानी समयमा बढी भए पनि दिउँसो कम छ। उनले भने, ‘३ बजेपछि कार्यालय नै सुनसान हुन्छ।’ 

यातायात कार्यालय सधैँ नै सेवाग्राहीको भीडभाड बढी हुने कार्यालयका रुपमा छ। पहिले सङ्घीय सरकारअन्तर्गत रहेको कार्यालय अहिले प्रदेश सरकारअन्तर्गत गएको छ। कार्यालयहरुले केही वर्षदेखि टोकन प्रणाली सुरु गरे पनि सेवाग्राही घण्टौँ लाममा बस्नु परेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .