नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वचयन यही चैत २८ र २९ गते हुने ५७औँ साधारणसभा तथा निर्वाचनले गर्दै छ।
वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल अध्यक्ष हुनेछन् भने वरिष्ठ उपाध्यक्षसहित अन्य तीन उपाध्यक्ष र कार्यकारिणी सदस्यहरुको टुंगो निर्वाचनबाट लाग्नेछ।
त्यसको लागि तीन प्यानल बन्ने निश्चितप्रायः छ। निवर्तमान वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ र हालका एसोसिएट उपाध्यक्ष रामचन्द्र संघाईले वरिष्ठ उपाध्यक्षको लागि टिम नै बनाएर अघि बढ्ने तयारी गरेका छन्।
वरिष्ठ उपाध्यक्षका लागि चुनावमा लड्नलागेका अन्जन श्रेष्ठ अहिलेका वस्तुगत उपाध्यक्ष हुन्। अन्जन श्रेष्ठले आफ्नो टिम नै घोषणा गरिसकेका छन्। उनको टिमबाट एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ सुब्बा र वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान उम्मेदवार बन्दै छन्। दुवै जना नेपाल रत्न तथा आभूषण संघमा छन्।
ज्योत्स्ना उक्त संघकी हालकी अध्यक्ष हुन् भने मनिषलाल पूर्वअध्यक्ष हुन्। अन्जन श्रेष्ठको टिममा रहेका अरुणराज सुमार्गी जिल्ला नगरतर्फको उपाध्यक्ष लड्ने पक्का भएको छ।
यो टिम परिवर्तन नहुने गरी अघि बढेको छ।
श्रेष्ठ र संघाईको टिममा नयाँ ‘ट्विस्ट’
तर उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईको टिममा भने नयाँ ट्विस्ट आएको छ।
रामचन्द्र संघाईले टिममा एसोसिएट उपाध्यक्षमा भरत आचार्य राखेका थिए। तर अहिले उनी चुनाव उठ्ने वा नउठ्ने दोधारमा छन्। रामचन्द्र संघाईलाई नै वरिष्ठ उपाध्यक्षमा चुनाव उठ्नुपर्छ भनेर लागेका आचार्य पछिल्लो समय चुनाव नै नउठ्ने वा उठ्ने दोधारमा पुगेपछि संघाईले एसोसिएट उपाध्यक्षमा सन्दिपकुमार अग्रवाललाई उठाउने भएका छन्।
त्यसमा सन्दिप सहमत समेत भइसकेका छन्। यसअघि सन्दिप वस्तुगत उपाध्यक्षको तयारीमा थिए।
सन्दिप एसोसिएट उपाध्यक्षको उम्मेदवार भएपछि संघाईले वस्तुगत उपाध्यक्षमा नयाँ उम्मेदवारको रुपमा हालका कोषाध्यक्ष सुकुन्तलाल हिराचनलाई ल्याएका छन्। उनी गोल्छा अध्यक्ष भएपछि कोषाध्यक्ष भएका थिए। जिल्ला नगरका उपाध्यक्षमा भने सुरकृष्ण वैद्यको नाम नै संघाईले अघि सारेका छन्।
उमेशलाल श्रेष्ठको टिममा भने एसोसिएट उपाध्यक्षमा भरत आचार्य उठ्न चाहेको खण्डमा उनी नै रहने तर उनी नउठेको खण्डमा गोपाल खनाल रहने देखिएको छ।
खनाल ऊर्जा वातावरण समितिका सभापति समेत हुन्। वस्तुगत उपाध्यक्षमा पूर्वअध्यक्ष चण्डीराज ढकालका भई हेमराज ढकाल रहने तयारी भएको छ। त्यस्तै हालका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठलाई सोही पदमा दोहोर्याउने तयारी भएको बुझिएको छ।
प्रतिक्रिया