ad ad

कारोबार


धमाधम बैंकबाट पैसा झिक्न थाले बचतकर्ता

धमाधम बैंकबाट पैसा झिक्न थाले बचतकर्ता

फाइल तस्बिर


केशर बोगटी
बैशाख ३१, २०८० आइतबार १२:२०, काठमाडौँ

बचतकर्तताहरू धमाधम बैंकबाट पैसा झिक्न थालेका छन्। बैंकको ब्याजदर घट्न थालेसँगै पैसा झिक्ने ग्राहक बढ्न थालेका छन्। 

निरन्तर बढेर दोहोरो अंकमा पुगेको बचतको ब्याज हाल एकल अंकलमा झारिएको छ। बैंकहरूले बचतको ब्याजदर एकल अंकमा झारेसँगै निक्षेप घट्न थालेको हो। 

वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतहरूको संस्था नेपाल बैंकर्स संघले बचतमा वैशाखको ब्याजदर जेठमा निरन्तरता दिने निर्णय गरेको छ। यो निर्णयसँगै अब बचतको ब्याजदर तत्काल नबढ्ने पक्का भएको हो।

नेपाल बैंकर्स संघले गत चैतमा बचतको ब्याजदर वैशाख १ देखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो। त्यसपछि वैशाख १ गतेदेखि लागू हुने गरी बचतको ब्याज एकल अंकमा झारेका थिए। 

व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत र संस्थागत मुद्दतीमा ७.९९ प्रतिशत ब्याजदर कायम गरिएको छ। गत चैतसम्म मुद्दतीतर्फ ११ प्रतिशत माथि थियो। 

वैशाखमा घटेको ब्याजदर जेठमा निरन्तरता दिने भएपछि बैंकबाट पैसा झिक्ने बढेका हुन्। 

२०८० वैशाख २६ गते बैंक तथा वित्तीय संस्थामा ५४ खर्ब ७४ अर्ब रहेको निक्षेप निक्षेप एकैदिन ४ अर्बले घटेर ५४ खर्ब ७० अर्बमा सीमित भएको छ। 

यता वाणिज्य बैंकहरूको निक्षेप एकैदिन ३ अर्ब घटेको छ। २०८० वैशाख २६ गते वाणिज्य बैंकहरूमा ४८ खर्ब २७ अर्ब रहको निक्षेप ३ अर्बले वैशाख २७ गतेसम्म आइपुग्दा ४८ खर्ब २४ अर्बमा सीमित भएको छ। 

बैंक तथा वित्तीय संस्थाको निक्षेपसँगै कर्जा प्रवाह समेत घटेको छ। 

वैशाख २०८० वैशाख २६ गते बैंक तथा वित्तीय संस्थाले ४८ खर्ब ५६ अर्ब कर्जा प्रवाह गरेकोमा एकैदिन ६ अर्बले घटेर ४८ खर्ब ५० अर्बमा सीमित भएको छ। 

यता वाणिज्य बैंकको मात्रै कर्जा प्रवाह ६ अर्बले घटेको छ। 

वैशाख २०८० वैशाख २६ गतेसम्म वाणिज्य बैंकहरूले ४३ खर्ब ५ अर्ब कर्जा प्रवाह गरेकोमा वैशाख २७ गतेसम्म आइपुग्दा ६ अर्ब कर्जा प्रवाह घटेर ४२ खर्ब ९९ अर्बमा सीमित भएको छ। 

बैंक तथा वित्तीय संस्थामा निक्षेपसँगै कर्जा प्रवाहमा गिरावट आउँदा कर्जा निक्षेप अनुपात (रेसिडी रेसियो) समेत ८५.२१ प्रतिशत रहेको छ। 

बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो जति कम हुन्छ त्यति नै राम्रो मानिन्छ। 

यता जेठबाट बैंकहरुले महिनैपिछे कर्जाको ब्याजदर परिवर्तन गर्न पाउने भएका छन् । 

पछिल्लो तीन महिनाको आधार दरअनुसार मासिक रुपमा कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो।

‘कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक परिवर्तन गर्नुपर्नेछ’, राष्ट्र बैंकको निर्देशनमा भनिएको छ। 

यसअघि त्रैमासिक रुपमा मात्रै कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था गरिएको थियो।

यसको अर्थ अब बैंकहरुले जेठ महिनामा पनि कर्जाको ब्याजदर परिवर्तन गर्नेछन्। 

राष्ट्र बैंकको निर्देशनअनुसार फागुन, चैत र वैशाखको औसत आधार दरमा भएको परिवर्तनअनुसार जेठमा कर्जाको ब्याजदर पनि परिवर्तन गर्नुपर्नेछ। 

यसअघि भने तीन-तीन महिनामा मात्रै कर्जाको ब्याजदर परिवर्तन हुने व्यवस्था अनुसार साउनमा मात्रै हुने गरेको थियो। 

बैंकहरुले निक्षेपकर्तालाई दिने ब्याजदर घट्दै गएकाले आधार दर पनि घट्दो क्रममा छ, यसले ऋणीलाई ब्याजदर महिनैपिच्छे घट्न गएर राहत पुग्छ।

पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन पाइने व्यवस्था पनि गरिएको छ। 

जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँग सहमतिमा स्थिर ब्याजदर कायम गर्न यस व्यवस्थाले बाधा नपुग्ने राष्ट्र बैंकले जनाएको छ।

तर आधार दर बढ्दो क्रममा रहेको अवस्थामा भने महिनैपिच्छे ब्याजदर बढ्न सक्ने जोखिम पनि रहन्छ। यो व्यवस्था स्थिर ब्याजदरमा ऋण लिएकाहरुको हकमा भने लागू हुने छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .