ad ad

कारोबार


नेपालमा डेढ वर्षभित्र प्रचलनमा आउला डिजिटल मुद्रा?

राष्ट्र बैंकले थाल्यो दोस्रो चरणको काम
नेपालमा डेढ वर्षभित्र प्रचलनमा आउला डिजिटल मुद्रा?

केशर बोगटी
जेठ ७, २०८० आइतबार २१:५१, काठमाडौँ

नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रा (डिजिटल करेन्सी) प्रचलनमा ल्याउन दोस्रो चरणको काम सुरु गरेको छ।

राष्ट्र बैंकले पहिलो चरणमा (डिजिटल मुद्रा)को अध्ययन गरेपश्चात दोस्रो चरणको काम अगाडि बढाएको हो।

केन्द्रीय बैंकले डिजिटल मुद्रा प्रचलनमा ल्याउन पहिलो चरणको अध्ययन गत साउनमै सम्पन्न गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले जानकारी दिए।

पौडेलका अनुसार डिजिटल मुद्रा प्रचलनमा ल्याउन प्रारम्भिक अध्ययनपश्चात अब नेपाल राष्ट्र बैंकको पेमेन्ट सिस्टम डिपार्टमेन्ट अन्तर्गत सीबिडिसी महाशाखा स्थापना गरी दोस्रो चरणको काम अघि बढाएको छ।

सीबिडिसी महाशाखाले सेन्ट्रल बैंक डिजिटल करेन्सीलाई कसरी लगेर अगाडि बढ्ने भन्ने बारेमा थप अध्ययन गर्ने पौडेले बताए।

‘महाशाखाले हामीलाई डिजिटल करेन्सी सञ्चालन गर्न उपयुक्त मोडल चयन लगायतका काम गर्नेछ,’ उनले भने,‘अबको एक डेढ वर्षमा डिजिटल मुद्राको अन्तिम रुप दिने गरी काम अगाडि बढ्दैछ।’

पौडेलका अनुसार अध्ययन पश्चात त्यसैको लागि केही फिडब्याक माग गरेकोमा छिटफुट फिडब्याक आएको छ।

‘पहिलो चरणको अध्ययन अनुसार रिभिजिट गरेर डेडिकेटेड टिम बनाउने, नयाँ विभागमा जाने कुरा भएको थियो,’ उनले भने, ‘अब महाशाखाले कारोबार आईटीमा गर्ने कि पेमेन्टमा गर्ने लगायतका काम गर्नेछ।’

विश्वभरका केही मुलुकका केन्द्रीय बैंकहरुले डिजिटल मुद्रा प्रचलनमा ल्याइसकेका छन्।  

‘हाल नाइजेरिया, बहराइन लगायतका राष्ट्रले विद्युतीय मुद्रा एडप्सन गरिसकेको अवस्था हो,’ पौडेलले भने, ‘हामी त्यसबाट पछि पर्नुहुन्न भनेर गभर्नरको संयोजकत्वमा अध्ययन समिति बनाएर अध्ययन पश्चात दोस्रो चरणको काम सुरु गरेका छौं।’

साथै, डिजिटल करेन्सी धेरै मुलुकमा परीक्षण र अधिकांश देशमा ‘पर्ख र हेर’को अवस्थामा रहेको कार्यकारी निर्देशक पौडेलले बताए।

छिमेकी मुलुक भारत र चाइनाले समेत डिजिटल मुद्रा ल्याउन काम सुरु गरेका छन्। भारतको केन्द्रीय बैंक (भारतीय रिजर्ब बैंक)ले डिजिटल मुद्रा परीक्षण ल्याएको छ।

नेपाल राष्ट्र बैंकका एक कार्यकारी निर्देशकका अनुसार डिजिटल मुद्रा सञ्चालनमा ल्याउन केही नीतिगत सुधार गर्नुपर्ने देखिएको छ। उनका अनुसार डिजिटल करेन्सी चलनमा ल्याउन राष्ट्र बैंकले ऐन संशोधन गर्नुपर्छ।

ऐनमा कागजी र सिक्का मुद्राको मात्र कारोबार गर्ने व्यवस्था भएकाले डिजिटल करेन्सी प्रयोगमा ल्याउन ऐनमा नयाँ व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

उनल भने, ‘राष्ट्र बैंकको ऐन नै परिमार्जन गर्नुपर्छ। अहिले राष्ट्र बैंकको ऐनमा सिक्का र नोट निष्कासनको मात्रै व्यवस्था छ।’

राष्ट्र बैंकले ऐन संशोधन गरेर सिक्का र नोट निष्कासन अगाडि बढाउने गरी काम भइरहेको उनको भनाई छ।

हाल राष्ट्र बैंकको ऐनमा क्वाइन, नोट निष्कासनका साथै डिजिटल करेन्सी पनि जारी गर्न संशोधन गरिने उनले बताए।

विश्वका धेरै देशमा प्रमाणित भएपछि वा प्रयोगमा आइसकेपछि मात्रै नेपालमा डिजिटल करेन्सी प्रचलनमा आउने जानकार बताउँछन्।

छिमेकी मुलुक भारत र चीनमा कसरी लागू हुन्छ, त्यसलाई हेरेर नेपाल अगाडि बढ्न उपयुक्त हुने जानकारहरुको सुझाव छ।

डिजिटल मुद्रा हतारमा लागू गर्दा असहज अवस्था आउनेतर्फ पनि सचेत हुनुपर्ने विज्ञको सुझाव छ।

पछिल्लो समय नेपालीहरुले क्रिप्टो लगायतका केही फण्डहरुमा लगानी गर्न थालेको भन्दै अध्ययन हुन थालेका छन्।

विश्व अर्थतन्त्रमै विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट)ले ठूलो फड्को मारेको अवस्थामा डिजिटल करेन्सीको आवश्यकता भने बढ्दै गएको छ।

के हो डिजिटल मुद्रा?
विद्युतीय मुद्रा अर्थात डिजिटल करेन्सी भनेको केन्द्रीय बैंकले ल्याउने एक किसिमको भर्चुअल मुद्रा हो। डिजिटल मुुद्रा ‘इ मनी फम’ मा केन्द्रीय बैंकले ल्याउन लागेको हो।

अहिले राष्ट्र बैंकले फिजिकल रुपमा पैसा छापिरहेको छ। यो सञ्चालनमा आएसँगै फिजिकल रुपमा पैसा छापिरहनु पर्दैन।

यसले एकातिर नयाँ नोट छाप्दा लाग्ने खर्च कम हुन्छ। अर्को, फिजिकल रुपैयाँ जस्तो च्यातिने र हराउने समस्या समेत रहँदैन। हाल नेपाल राष्ट्र बैंकले नयाँ नोट छाप्दा धेरै रुपैयाँ खर्च गर्ने गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .