कारोबार


विद्युतीय माध्यमबाट कारोबार : संख्या बढ्दा रकम भने घट्यो

जेठमा मात्रै ४४ खर्बको कारोबार
विद्युतीय माध्यमबाट कारोबार : संख्या बढ्दा रकम भने घट्यो

फाइल तस्बिर


केशर बोगटी
असार ३०, २०८० शनिबार १०:०, काठमाडौँ

आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म विद्युतीय कारोबार संख्यामा उल्लेख्य वृद्धि भएको छ। 

विद्युतीय कारोबार संख्या बढिरहँदा कारोबार रकममा भने गिरावट आएको छ।

२०८० जेठमा मात्रै ९ करोड ८ लाख ९८ हजार ८८३ पटकको विद्युतीय कारोबार हुँदा ४४ खर्ब २ अर्बको कारोबार भएको छ।

गत वर्ष यही अवधिमा ६ करोड ३७ लाख ४० हजार पटक विद्युतीय माध्यमबाट ५४ खर्ब ७ लाख ८६ हजार रुपैयाँको कारोबार भएको थियो। 

विद्युतीय कारोबार संख्यामा उल्लेख्य बढोत्तरी हुँदा रकम भने १० खर्ब घटेको छ। 

गत जेठको तुलनामा विद्युतीय कारोबारको संख्या ३ करोड ४३ हजार पटक बढ्दा रकम भने १० खर्बले घटेको हो।

लार्ज पेमेन्ट भ्यालु सिस्टम (आरटीजीएस) कारोबार घट्दा विद्युतीय कारोबार रकम घटेको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए।

विद्युतीय कारोबार संख्यामा उलेख्य मात्रामा प्रगति देखिएको पनि पौडेलले बताए।

‘लार्ज पेमेन्ट भ्यालु सिस्टममा ठूला कारोबार पर्दछन्। यस्तो कारोबारको माथिल्लो सीमा हुँदैन’, उनले भने, ‘आरटीजीएको कारोबार घट्दा विद्युतीय कारोबार घटेको हो ।’ 

रिटेल पेमेन्ट सिस्टममार्फत हुने कारोबार बढेको पनि पौडेलले बताएका छन्। 

‘रिटेल पेमेन्ट सिस्टममार्फत हुने कारोबारमा प्रगति भइरहेको छ। यस सिस्टमभित्र वालेट, मोबाइल बैंकिङ, क्युआर कोड, इन्टरनेट बैंकिङ, कार्ड लगायत इन्स्टुमेन्ट पर्छन्’, उनले भने, ‘यस्तो कारोबारको माथिल्लो सीमा तोकिएको हुन्छ। यस्तो कारोबार निरन्तर बढिरहेको छ। 

उनका अनुसार ठूला उद्यमी र व्यापारीले राज्यलाई १ अर्ब राजस्व आरटीजीएसबाट तिर्न सक्छन्।

यस्तो पेमेन्टबाट मात्रै मासिक २४ खर्बको कारोबार हुने गरेको पौडेलले बताए। आरटीजीएस कारोबारमा समेत गिरावट आएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। 

गत वर्ष हरेक महिना आरटीजीएसमार्फत औसत ३० खर्बको कारोबार हुन्थ्यो। अहिले घटेर औसत २० खर्बमा सीमित भएको छ। 

२०८० जेठमा आरटीजीएसमार्फत ७२ हजार ४७६ पटकको विद्युतीय कारोबार हुँदा २७ खर्ब ५२ अर्ब ७६ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ। 
 

मोबाइल बैंकिङ सबैभन्दा धेरै 
२०८० जेठ एक महिनामा सबैभन्दा धेरै पटक मोबाइल बैंकिङको कारोबार भएको छ। जेठमा मोबाइल बैंकिङमार्फत २ करोड ९२ लाख १० हजार पटक ट्रान्जेक्सन भएको छ। 

मोबाइल बैंकिङमार्फत २ करोड ९२ लाख १० हजार पटक ट्रान्जेक्सन हुँदा २ अर्ब ३० अर्बको कारोबार भएको छ। 

त्यसैगरी क्युआर कोडमार्फत ९५ हजार पटकको कारोबारमा २८ अर्बको कारोबार भएको छ। कनेक्ट आईपीएसबाट ४६ लाख ३२ हजार पटकमा ४ खर्ब १७ अर्बको कारोबार भएको छ। 

इन्टरनेट बैंकिङको कारोबार संख्या र कारोबार रकम दुवै बढेको छ। जेठमा २ लाख ८६ हजार पटको कारोबार हुँदा १४ अर्ब ५४ करोड रुपैयाँ लेनदेन भएको छ। 

शाखारहित बैंकिङमार्फत कारोबार संख्या र रकम बढ्यो 
जेठमा शाखा रहित बैंकिङमार्फत ७९ हजार पटक कारोबार हुँदा १ अर्ब ७० करोडको कारोबार भएको छ। त्यसैगरी वालेटबाट २ करोड ६ लाख पटकको कारोबारमा २० अर्ब १४ करोड रुपैयाँ लेनदेन भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .