कारोबार


अबको १० वर्षमा २० हजार मेघावाट बिजुली निकाल्ने योजना बन्दैछ : ऊर्जामन्त्री बस्नेत

अबको १० वर्षमा २० हजार मेघावाट बिजुली निकाल्ने योजना बन्दैछ : ऊर्जामन्त्री बस्नेत

नेपालखबर
साउन १२, २०८० शुक्रबार १७:३०, काठमाडौँ

ऊर्जा मन्त्रालयले ऊर्जा विकास दसकको रोडम्याप तयार गर्न लागेको छ। आगामी १० वर्षभित्र ऊर्जा क्षेत्रमा फड्को मार्ने गरी यो रोडम्याप तयार गर्न लागिएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा विकास दशकको रोडम्याप बनाउन मन्त्रालयले अहिल शोध गरिरहेको बताए। 

शुक्रबार अमेरिकन चेम्बरका प्रतिनिधिमण्डलसँग भेटघाटका क्रममा मन्त्री बस्नेतले यस्तो बताएका हुन्। 

उनले आगामी १० वर्षलाई ऊर्जा विकास दशक घोषणा गरी २० देखि २५ हजार मेघावाट विद्युत उत्पादन गर्ने गरी योजना बनाउन लागिएको जानकारी दिए। 

ऊर्जा उत्पादनसँगै प्रशारण लाइन र वितरण प्रणालीको विकासको योजना पनि रोडम्यापमा रहने उल्लेख गर्दै मन्त्री बस्नेतले त्यसका लागि नीतिगत सुधारसमेत गर्ने गरी अध्ययन भइरहेको बताए।

ऊर्जा क्षेत्रका नीति सुधारका लागि इनोभेटिभ वित्तिय मोडालिटी अपनाइने उल्लेख गर्दै मन्त्री बस्नेतले यसका लागि वैदेशिक प्रत्यक्ष लगानी र निजी क्षेत्रको थप संलग्नतालाई बढाइने बताए। 

उनले त्यसका लागि थप नीति निर्माण गर्नुका साथै उपलब्ध नीति नियमहरुको सुधार गरिने बताएका छन्। 

मन्त्री बस्नेतले नेपालमा पछिल्लो समय जलवायु परिवर्तनको प्रत्यक्ष देखिने गरी असर पर्न थालेको बताए। 

उनले पर्यावरणीय समस्याहरूको दीर्घकालीन समाधानका लागि नवीनतम उपायहरू पत्ता लगाउनुपर्ने कुरामा जोड दिँदै यो कुरा पनि मन्त्रालयको रोडम्यापमा समेटिने जानकारी दिए। 

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक वृद्धि हासिल गर्नका लागि स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुल पूर्वाधारमा लगानी गर्नुपर्ने उल्लेख गर्दै मन्त्री बस्नेतले पर्यावरणीय दीगो हरित हाइड्रोजन अर्थतन्त्रको विकास गरी ऊर्जा र खाद्य सुरक्षाको सुनिश्चितता बढाउने रोडम्यापको लक्ष्य रहने बताए। 

बस्नेतले ऊर्जाको उपभोग देशभित्रै बढाउनेबारे नीतिगत व्यवस्था गर्न गृहकार्य पनि भइरहेको जानकारी दिए।

विद्युतीय सवारी साधन, सौर्यबत्ती, पानी तताउने शौर्य मेसिन, विद्युतीय चुल्हो जस्ता उपकरणलाई प्रोत्साहन गरेर पेट्रोलियम पदार्थको खपत घटाउन सकिने उनको भनाइ थियो।

मन्त्री बस्नेतले मन्त्रालयले हरित ऊर्जा विकासमा प्रभावकारी नीतिगत व्यवस्था तर्जुमा गर्न जरुरी रहेको भन्दै पर्यावरणीय समस्याहरूको दीर्घकालीन समाधानका लागि नवीनतम उपायहरू पत्ता लगाउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad