कारोबार


५० लाख माथिको सेयर धितो कर्जाको माग उच्च, बढ्ला त सेयरबजार?

५० लाख माथिको सेयर धितो कर्जाको माग उच्च, बढ्ला त सेयरबजार?

केशर बोगटी
भदौ ५, २०८० मंगलबार १७:४७, काठमाडौँ

५० लाख माथिको सेयर धितो कर्जाको डिमान्ड बढ्दै गइरहेको छ। २०८० असार मसान्तसम्ममा ५० लाखदेखि १ करोडसम्मको सेयर धितो कर्जा साढे ११ प्रतिशतले बढेको हो। यसले पनि पछिल्लो समय ५० लाख बढीको सेयर धितोकर्जा बढेको देखाएको छ।

साथै, औषत कारोबार समेत घटेको छैन। पछिल्लो समय औषत २ अर्ब भइरहेको नै छ। ठूलो सेयर कर्जाको माग बढ्नु र घटेको बजारमा कारोबार बढ्नु नराम्रो भने होइन।

गत वर्ष ५० लाख कमको सेयर धितो कर्जामा भने गिरावट आएको छ। अघिल्लो वर्षको तुलनामा गतवर्ष २५ लाखसम्मको सेयर धितो कर्जा १३.९ प्रतिशत र २५ देखि ५० लाखसम्मको सेयरधितो कर्जा १५.९ प्रतिशतले घटेको छ।

गत वर्षसम्म २५ लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार भने १०० प्रतिशत थियो। २५ लाख माथिको कर्जाको जोखिमभार १५० प्रतिशत थियो।

जोखिम भार १५० प्रतिशत हुँदा समेत ५० लाखदेखि १ करोडसम्मको सेयर धितो कर्जा साढे ११ प्रतिशतले बढेको देखिएको छ। यसले ठूला लगानीकर्ताले कर्जा लिन थालेको देखाउँछ। साथै, एक करोड माथिको सेयर धितो कर्जा भने ४ प्रतिशतले घटेको छ।

२०८० असार मसान्तमा ५० लाख माथिको सेयर धितो कर्जाको डिमान्ड उच्च हुँदा बजार समेत करिब २२ प्रतिशतमा पुगेको थियो। मौद्रिक नीति पश्चात भने बजार करिब २ सय अंकले घटेको देखिन्छ।

मौद्रिक नीतिमा सबै खाले सेयर धितो कर्जाको जोखिम भार १५० बाट १०० ल्याइने लगानीकर्ताको अपेक्षा थियो। जुन अपेक्षा पूर्णरुपमा मौद्रिक नीतिमा समेटिन सकेन। बरु, राष्ट्र बैंकले २५ लाखको ठाँउमा ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशतमा झार्यो।

यसले साना लगानीकर्तालाई त केही सहज देखियो। तर, समग्र लगानीकर्तालाई राहत नपुगेको उनीहरुको गुनासो छ।

राष्ट्र बैंकले ५० लाख माथिको कर्जाको जोखिम भार १५० प्रतिशतको सिमालाई यथावथ नै राख्यो। त्यसयता बजार करिब २०० अंकले घटेको देखिन्छ। बजार घटेपनि कारोबारको भोलुम घटेको छैन। बजार घट्दा भोलुम नघट्नुले बजार धेरै तल नआउने आकलन भने गर्न सकिन्छ।

साथै, गत वर्ष बैंकहरुले कर्जा समेत खुम्च्याएका थिए। एकातिर सेयर धितोको जोखिम भार उच्च हुनु र अर्काेतिर बैंकहरु कर्जा प्रवाह ठप्प गरी रिकोभरीमा लाग्नु बजारको लागि सुखद हुने भएन।

पछिल्लो समय वाणिज्य बैंकहरुले समेत सेयरधितो कर्जाको विज्ञापन गर्न थालेका छन्। अधिक तरलता रहेको बेला चालु पुँजी लगायतका कर्जाको डिमान्ड न्यून हुँदा बैंकहरु सेयरधितो कर्जाको विज्ञापन गर्न थालेका हुन्। यसले पनि आगामी दिनमा सेयर धितो कर्जा बढ्ने आकलन गर्न सकिन्छ।

हालै एनआईसी एशिया बैंकले ५० लाखदेखि १२ करोडसम्मको अठोट सेयर धितो योजना सार्वजनिक गरेको छ। बैंकले कर्जामा १ वर्षको भुक्तानी अवधि (वार्षिक रुपमा नवीकरण गर्न सकिने) कर्जा योजना ल्याएको छ।

अन्य बैंकहरुले सेयर धितो कर्जाको योजना सार्वजनिक नगरेपनि कर्जा प्रवाह गर्न तम्तयार छन्। बैंकहरुले सेयर धितो कर्जाको योजना ल्याउन थालिरहेको हुँदा आगामी दिनमा यस्तो कर्जा बढ्दै जाने आकलन गर्न थालिएको छ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष सेयर धितो कर्जामा गिरावट आएपनि धेरै घटेको भने देखिएको छैन। अघिल्लो वर्ष ८० अर्बको सेयरधितो कर्जा प्रवाह भएकोमा गत वर्ष ७६ अर्ब ३० करोडमा सीमित देखिएको छ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष सेयरधितो कर्जा ४ अर्बले घटेको छ। दैनिक ५/७ अर्बको कारोबार भइरहेको बजारमा ४ अर्ब कर्जा अन्तर धेरै नरहेको जानकार बताउँछन्।

आर्थिक वर्ष २०७७/०८८ मा १ खर्ब ६ अर्ब रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको थियो। त्यो वर्ष बजार ३ हजार विन्दु नाघ्न सफल समेत भयो। त्यो वर्ष १ करोड माथिको सेयरधितो कर्जाको वृद्धिदर समेत १३३ प्रतिशत थियो।

१०/२० अर्ब कर्जा घटबढ हुनुले बजारमा धेरै असर नहुने बजार विश्लेषकको भनाई छ। सेयरधितो कर्जासँगै अन्य (प्रयोजना खुलाउनु नपर्ने) कर्जा नबढेसम्म सेयरबजार धेरै तलमाथि नहुने उनीहरुको भनाई छ।

‘अघिल्ला वर्षहरुको तुलनामा चालु पुँजी कर्जा, ओडी लगायतका ठूलो भोलुमका कर्जामा के कतिको गिरावट आएको छ त्यसलाई नियाल्नु पर्छ’, एक विश्लेषकले भने, ‘१०/२० अर्ब कर्जा घटबढ हुनुले बजारमा धेरै फरक पर्दैन। यता, प्रयोजन नखुलाउनु पर्ने क्षेत्रमा गएको कर्जा सेयरबजारमा गए मात्रै मार्केट उथल पुथल हुने गर्छ।’

उनका अनुसार ठूलो परिमाणको सेयर धितो कर्जा बढ्दै जानु राम्रो नै हो। तर, त्यसले मात्रै बजार उचाई आकलन गर्न मिल्दैन।

‘सानो सानो धितो कर्जा त बैंकको ब्याज बुझाउने लगायतका काममा प्रयोग हुने गरेको छ,’ उनले भने।

‘नेप्से २२ सय विन्दु पुग्दा ट्रेडर्सले नाफा बुक गर्ने प्रवृत्ति बनेको छ’, उनले भने, ‘अब २२ सय विन्दु तोड्न सफल भए नेप्से २४ सयसम्म पुग्ने देखिन्छ।’

‘लगानीकर्ताले बजार २ हजार तल नआउने मनोविज्ञान बनाएको अवस्था छ, त्यसकारण ब्याजदर बढाउँदा होस् वा अन्य कुनै कारणले बजार त्यो विन्दुभन्दा तल नआउने देखिन्छ,’ उनले भने।  

राष्ट्र बैंकका अधिकारीहरु समेत अघिल्ला वर्षमा (प्रयोजना खुलाउनु नपर्ने) कर्जा उत्पादनशील नगई घरजग्गा र सेयरजारमा गएको बताउँदै आएका छन्।

अहिले चालु पुँजी, ओडी लगायत क्षेत्रमा जाने कर्जा घट्दो छ र, माग समेत न्यून छ। जसकारण बैंकहरु सेयरधितो कर्जा ५० लाख माथिको सेयरधितो कर्जा बढेको उनीहरुको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .