ad ad

कारोबार


एक वर्षपछि अगाडि बढ्यो ‘अक्सन मार्केट’ सञ्चालन प्रक्रिया, हट्नेछ राफसाफको समस्या

एक वर्षपछि अगाडि बढ्यो ‘अक्सन मार्केट’ सञ्चालन प्रक्रिया, हट्नेछ राफसाफको समस्या

केशर बोगटी
कात्तिक ८, २०८० बुधबार १३:४४, काठमाडौँ

अक्सन मार्केट अर्थात् लिलाममार्फत सेयर किनबेच हुने बजार सञ्चालनमा ल्याउने गरी नेपाल धितोपत्र बोर्डले प्रक्रिया थालेको छ। बोर्डको कानुन महाशाखाले अक्सन मार्केट सञ्चालन गर्नेगरी अध्ययन सुरु गरेको हो। 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अक्सन मार्केट सञ्चालनमा ल्याउने भन्दै गत वर्ष कार्यविधि बनाएर धितोपत्र बोर्ड पठाएको थियो। बोर्डको कानुन महाशाखाले कार्यविधि पठाएको करिब एक वर्षपछि बल्ल अध्ययन सुरु गरेको छ। 

अध्ययनपश्चात अक्सन मार्केट सञ्चालनको लागि स्वीकृति दिइने बोर्डका एक अधिकारीले बताए। उनका अनुसार एक वर्षअघि अक्सन मार्केट सञ्चालनको स्वीकृतिका लागि कार्यविधि बोर्डमा आएको थियो। 

लामो समयसम्म कुनै छलफल नभएको कार्यविधिको बल्ल अध्ययन सुरु गरिएको ती अधिकारीले बताए। अध्ययन पश्चात अक्सन मार्केट सञ्चालनको लागि स्वीकृति दिने÷नदिने टुङ्गो लाग्ने उनको भनाइ छ। 

बोर्डको वार्षिक कार्ययोजनामा पनि अक्सन मार्केट सञ्चालनमा ल्याइने भनिएको छ। 

‘करिब एक वर्षदेखि कार्यविधि कानुन महाशाखामा थन्किएको थियो,’ उनले भने, ‘पहिलो चरणमा महाशाखाले अध्ययन गर्छ। त्यसपछि सञ्चालक समितिमा जान्छ।’

सञ्चालक समितिले स्वीकृति दिएपछि अक्सन मार्केट सञ्चालन गर्न सकिने उनको भनाइ छ। 

क्लोज आउटको समस्या समाधान गर्ने उदेश्यले अक्सन मार्केट सञ्चालन ल्याउन लागिएको नेपाल स्टक एक्सचेञ्जका सूचना अधिकारी मुराहरि पराजुली बताउँछन्। 

‘अक्सन मार्केट सञ्चालनको स्वीकृतिको लागि कार्यविधि बनाएर बोर्डमा पठाएको एक वर्ष बितिसक्यो। बोर्डले अनुमति दिएको छैन,’ उनले भने, ‘बोर्डले अनुमति दिएसँगै अक्सन मार्केट सञ्चालनमा आउँछ।’

संसारका धेरै मुलुकमा सञ्चालनमा आइसकेको अक्सन मार्केट नेपालमा पहिलोपटक सञ्चालनमा ल्याउन लागिएको उनको भनाइ छ। उनका अनुसार अक्सन मार्केट सुरु भएपछि लगानीकर्ताले समयमा सेयर पाउने वातावरण बन्नेछ।

‘कुनै सेयर बिक्रेताले समयमा ईडीआईएस गर्दैनन्,’ उनले भने, ‘समयमा बिक्री गरेको सेयर ट्रान्सफर नगर्दा (क्लोज आउट)मा पर्दछ।’

क्लोज आउटको व्यवस्था भए पनि लगानीकर्ताले खरिद गरेको सेयर समयमा नपाउने समस्या छ। 

‘कुनै सेयरधनीसँग एक हजार कित्ता छ, उसले १५ सय कित्ता बिक्री गर्यो। उसले १००० कित्ता मात्र ट्रान्सफर गर्न सक्छ,’ उनले भने, ‘सेयर किन्नेले त १५ सय किनेको छ र उसले १५ सय कित्ता पाउनुपर्छ। यस्तो अवस्थामा कारोबारमा समस्या नआओस् भनेर अक्सन मार्केट सञ्चालन ल्याउन लागिएको हो।’

यस्तो अवस्थामा अपुग सेयर ब्रोकरले अक्सन मार्केटबाट खरिद गरी समयमै लगानीकर्ताको डिम्याट खातामा पठाउन सक्छ। जसले गर्दा बजार सञ्चालन भइरहन्छ र यता लगानीकर्तालाई सेयर नपाउने समस्या पनि हुँदैन। 

संसारमा अन्य धेरै मुलुकमा अक्सन मार्केट सञ्चालनमा छन्। नेपालमा ब्रोकरहरुले क्रेताको डिम्याट खातामा हप्तौँपछि पनि सेयर जम्मा गर्ने गरेका छन्।

‘बिक्रेताले समयमा सेयर ट्रान्सफर नगरेको भन्दै क्रेतालाई ढिलाइ गरी सेयर पठाउँछु भन्न ब्रोकरले पाउँदैन,’ उनले भने, ‘लगानीकर्ताले खरिद गरेको सेयर समयमा पाउनुपर्छ।’

अक्सनविनाको बजार अपूरो हुने पराजुलीको भनाइ छ। त्यसो त नेपालमा पछिल्लो समय क्लोजआउट भोल्युम समेत बढ्दै गइरहेको छ। यसको अर्थ बिक्रेताले नभएको सेयर बिक्री गरेको भन्ने बुझिन्छ। 

के भन्छन् जानकार? 
पूर्वगभर्नर चिरञ्जीवी नेपाल अक्सन मार्केट सञ्चालनको स्वीकृति दिन बोर्डले ढिलाइ गर्न नहुने बताउँछन्।

‘अक्सन मार्केट सञ्चालनमा ल्याउने कुरा राम्रो हो,’ उनले भने। 

उनले बोर्डले स्वीकृति दिन ढिलाइ गर्नुको कारण थाहा नपाएको बताउँदै अब ढिलाइ गर्न नहुने बताए। 

नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवत बहादुर कार्की पनि अक्सन मार्केट बजारको आवश्यकता रहेको बताउँछन्। 

‘धेरै अगाडि नै अक्सन मार्केट सञ्चालनमा ल्याउने कुरा थियो,’  उनले भने, ‘त्यो बेलामा नेप्सेले ढिलाइ गर्यो, यो त पहिले नै सञ्चालनमा आइसक्नुपर्ने थियो।’

यसले बजारलाई अगाडि बढाउन थप मद्दत पुग्ने कार्कीको भनाइ छ। 

‘अक्सन मार्केट सञ्चालनमा ल्याउँदा ब्रोकर र लगानीकर्ता दुवैलाई सजिलो हुन्छ’, कार्कीले थपे। 

अक्सन इन्डेक्स सञ्चालनमा आएपछि ब्रोकरले लगानीकर्ताको डिम्याटमा समयमै सेयर पठाउन सक्ने र लगानीकर्ताले पनि समयमै सेयर पाउने अवस्था बन्ने कार्कीको भनाइ छ। 

के हो अक्सन इन्डेक्स? 
अक्सन मार्केट त्यस्तो बजार हो, जहाँबाट तुरुन्त सेयर लिलामीमा खरिद सकिन्छ। यो सञ्चालनमा आउँदा बजारको राफसाफ सहज हुने नेप्सेले जनाएको छ। सेयरको राफसाफमा सहज हुने भएकाले अक्सन मार्केट आवश्यक छ।  

सेयरबजारमा सूचीकृत कम्पनीको जोड्ने काम ब्रोकर (धितोपत्र दलाल व्यवसायी) ले गर्छ। संसारभर कारोबार भएपश्चात सेटलमेन्ट गरिने व्यवस्था छ। 

सोही व्यवस्थाअनुसार नेपालमा पनि सेयरको कारोबार हुन्छ। संसारका अन्य मुलुक अक्सन मार्केट सञ्चालन भए पनि नेपालमा भने पहिलो पटक सुरु गर्न लागिएको हो। 

कुनै सेयरधनीले सेयर बिक्री गरेर ट्रान्सफर (ईडीआईएस) नगरे पनि ब्रोकर कम्पनीले क्रेतालाई सेयर उपलब्ध गराउनुपर्छ। त्यस्तो अवस्थामा ब्रोकरले अक्सन मार्केटबाट सेयर खरिद गरी क्रेतालाई समयमै सेयर उपलब्ध गराउन सक्छन्। 

तर, नेपालमा अक्सन मार्केट सञ्चालनमा नहुँदा ब्रोकर कम्पनीले क्रेताको डिम्याट खातामा सेयर पठाउन हप्तौँ दिन लगाइरहेका हुन्छन्। बिक्रेताले सेयर नदिएपछि ब्रोकरले त क्रेतालाई सेयर उपलब्ध गराउनुपर्छ। 

त्यस्तो अवस्थामा ब्रोकरले अक्सन मार्केटबाट सेयर खरिद गरेर क्रेतालाई उपलब्ध गराउनुपर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .