कारोबार


क्यान इन्फोटेक मेला फागुन २ देखि ७ गतेसम्म भृकुटीमण्डपमा, ८० प्रतिशत स्टल बुकिङ

क्यान इन्फोटेक मेला फागुन २ देखि ७ गतेसम्म भृकुटीमण्डपमा, ८० प्रतिशत स्टल बुकिङ

नेपालखबर
माघ १५, २०७६ बुधबार १०:१९,

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गर्ने मुलुककै ठूलो सूचना प्रविधि प्रदर्शनी क्यान इन्फोटेक २०२० को तयारी अन्तिम चरणमा पुगेको छ। आगामी फागुन २ देखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा मेला सञ्चालन हुनलागेको हो।

प्रदर्शनी तथा मेलामा १ सय ७४ स्टल रहेका छन् भने ८० प्रतिशत स्टल बुकिङ भइसकेको महासंघले जानकारी दिएको छ। मेलाको विशेषता इन्नोभेसन एक्स्पोजर रहने क्यानले जनाएको छ। प्रविधि क्षेत्रमा भएका नयाँ तथा आविष्कारजन्य सोचलाई प्रवद्र्धन गर्न महासंघले यसपटक इन्नोभेसन एक्स्पोजरलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ। इन्फोटेकमा स्टार्टअप आइडिया तथा प्रोजेक्ट प्रतिस्पर्धा र जुनियर इन्नोभेटरको प्रदर्शनीका साथै रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेसजस्ता प्रतिस्पर्धा पनि आयोजना गरिने भएको छ। मेलामा हरेक प्रतिस्पर्धाका विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।

प्रदर्शनी अवलोकन गर्न जानेले १०० रुपैयाँको टिकट काट्नुपर्नेछ भने विद्यार्थीहरुले ५० प्रतिशत छुट पाउनेछन्। यसबाहेक सामुदायिक तथा सरकारी विद्यालय, कलेजका विद्यार्थीहरु, सञ्चारकर्मी, ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क गरेको क्यानले जनाएको छ। फागुन ४ गते मेलामा बिजनेस डेका रुपमा तोकिएको छ। यसपटकको मेलालाई पेपरलेस बनाइएको छ। यसअनुसार अवलोकनकर्ताले प्रभु पेबाटै टिकट किन्न सक्नेछन् भने प्रदर्शनीस्थलमा पनि किओस्क मेसिनबाट टिकट लिन सकिनेछ।

मेलामा प्रभु पे, वर्ल्डलिंक, भायनेट, एनसेलले विशेष आकर्षक योजना सार्वजनिक गर्ने तयारी गरेका छन्। त्यस्तै स्मार्टसेलले ९९ रुपैयाँ पर्ने सिमकार्ड र ९० रुपैयाँको रिचार्ज, २ सय एमबी डाटा, १० वटा एसएमएस निःशुल्क उपलब्ध गराउने भएको छ।

यो वर्ष उपत्यकाबाहिर समेत आठ स्थानमा मेला आयोजना गरिने भएको छ। महासंघका अनुसार प्रदेश १ को इटहरी, प्रदेश २ को वीरगञ्ज भइसकेको छ भने माघ १७ देखि २१ गतेसम्म प्रदेश ५ को बुटवलमा, माघ २४ देखि २८ गतेसम्म वाग्मती प्रदेशको चितवनमा, फागुन ११ देखि १५ सम्म गण्डकी प्रदेशको पोखरामा, फागुन २० देखि २४ गतेसम्म प्रदेश ५ को नेपालगञ्जमा, फागुन २८ देखि चैत १ सम्म प्रदेश ७ को धनगढीमा र चैत ५ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुनेछ।

क्यान इन्फोटेक मेलाको यो २६औँ संस्करण हो। यसपटकको मेलाको टाइटल स्पोन्सर प्रभु पे रहेको महासंघले जनाएको छ। त्यस्तै एसोसिएट स्पोन्सरमा वर्ल्डलिंक कम्युनिकेसन र प्लाटिनम स्पोन्सर एनसेलले गरेको छ। डायमन्ड स्पोरमा भायनेट कम्युनिकेसन्स रहेको छ।

महासंघका अनुसार स्मार्ट टेलिकम, नियोटेरिक नेपाल र सागर डिस्ट्रिब्युसन गोल्ड स्पोन्सर रहेका छन् भने जिनिस सोल्युसन, लर्ड बुद्ध एजुकेसन फाउन्डेसन र एसपावर बीपीई सिल्भर स्पोन्सर रहेको बताइएको छ। यस्तै, ब्रेन डिजिट आईटी सोल्युसन क्यान इन्फोटेक डिजिटल पार्टनर रहेको छ भने क्रिएटिभ पार्टनरमा आरआर स्कुल अफ टेक्नोलजी, गेमिङ पार्टनर ओसियन कम्प्युटर तथा आधिकारिक सञ्चार संस्थामा प्रविधि पत्रकार मञ्च तथा आधिकारिक ट्राभल पार्टनर बीएन होलिडेज रहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad