ad ad

कारोबार


रेमिट्यान्सको पनि पर्व बन्दै छ दसैँ-तिहार

रेमिट्यान्सको पनि पर्व बन्दै छ दसैँ-तिहार

दसैँमा नयाँ नोट साटेपछि सर्वसाधारण


केशर बोगटी
कात्तिक २३, २०८० बिहिबार ९:३२, काठमाडौँ

दसैँ–तिहारलाई अर्थतन्त्र चलायमान हुने समयको रुपमा लिइन्छ। किनभने चाडबाडले अर्थतन्त्रलाई गति दिन्छ।

चाडपर्वका लागि भनेर किनमेलका लागि बजार लाग्ने भएकाले यसैबेला धेरै कारोबार हुन्छ। खाद्यवस्तुदेखि लत्ताकपडा तथा अन्य उपभोग्य वस्तु किन्न पनि चाडपर्व कुर्ने प्रचलन छ। 

व्यापारीले पनि दसैँका लागि विशेष सामान मगाउने तथा वर्षभरिको करिब एकतिहाइ व्यापार यसै बेला गर्ने गरेको देखिन्छ।

यस्ता पर्वविशेषले अर्थतन्त्रलाई पुनर्जीवन दिन्छ। बजारमा पैसा आउनुको अर्थ उपभोग्य खर्च बढी हुने गर्छ। तर, नेपालको आफ्नो उत्पादन कम अनि आयात बढी भएका कारण उपभोगमा हुने खर्च सबै नै आयातीत वस्तुका लागि खर्च हुन्छ। 

नेपालीहरूले विदेशबाट पठाएको रेमिट्यान्सले धानेको अर्थतन्त्रमा धेरै उपभोगका कारण वास्तवमा अर्थतन्त्र चलायमान भए पनि आन्तरिक उत्पादनलाई सघाउ पुग्ने गरेको छैन। 

पछिल्लो समय देखासिकी गर्ने तथा रेमिट्यान्सकै कारण ठूलो जनसंख्या सहरोन्मुख भएका कारण पनि दसैँ बढी खर्चिलो बन्दै गएको छ। उपभोगको संस्कृतिलाई रेमिट्यान्सले अझ बढावा दिएको विश्लेषण हुँदै आएको छ। 

सहरबाट ठूलो संख्यामा गाउँ जानेहरुका कारण पछिल्लो समय ग्रामीण अर्थतन्त्रमा पनि दसैँ खर्चले केही योगदान दिएको छ। यसले स्थानीय आर्थिक गतिविधि मात्र नभई हवाई तथा स्थल यातायातलगायत अन्य पेसा–व्यवसायमा पनि ठूलो राहत हुने गरेको छ। 

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार दसैँ, तिहार, छठलगायत चाडपर्वमा भित्रिने रेमिट्यान्स उल्लेख्य मात्रामा बढेको छ। 

गत वर्षको सोही अवधिको तुलनामा यो वर्षको असोजसम्म आइपुग्दा रेमिट्यान्स २० प्रतिशतले बढेको देखिन्छ। रेमिट्यान्स आयको वृद्धिदरले विदेशी मुद्रा सञ्चिति समेत सहज देखिएको छ। 

गत वर्ष रेमिट्यान्स घट्दा विदेशी मुद्रा सञ्चितिमा समेत दबाब देखिएको थियो। तर, यो वर्ष निरन्तर रेमिट्यान्समा आएको वृद्धिले आगामी एक वर्ष बढीको लागि वस्तु आयात गर्न मिल्ने मुद्रा सञ्चिति रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ। 

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनमा चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौमा) रेमिट्यान्स २१.१ प्रतिशतले बढेर २ खर्ब २८ अर्ब ३७ करोड पुगेको छ। 

गत आवको सोही अवधिमा रेमिट्यान्स १७ प्रतिशतले बढेर १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ थियो। गत वर्षको सोही अवधिको तुलनामा चालू आवको पहिलो दुई महिनामा रेमिट्यान्स ४१ अर्ब धेरै भित्रिएको छ। 

यो वर्ष चाडपर्व ढिलो हुँदा असोजमा रेमिट्यान्स उल्लेख्य मात्रामा बढेको कम्पनीहरुको भनाइ छ। 

चाडपर्वको समय भएकाले असोज–कात्तिकलाई रेमिट्यान्सको सिजनका रुपमा लिइन्छ। यस समयमा अन्य समयभन्दा बढी रेमिट्यान्स भित्रिने गर्छ। साथै, कम्पनीहरुले चाडपर्वमा विभिन्न स्किम ल्याउने र रेमिट्यान्स पठाउन प्रोत्साहन गर्ने गर्दछन्। 

यो दसैँ–तिहारमा ई–सेवा रेमिटले रेमिट्यान्स पठाउनेलाई घर जित्ने मौका, आईएमईले करोडपति बन्ने मौका र सिटी एक्सप्रेसले पठाएको पैसाको दस गुणा जित्ने अफर ल्याएका छन्। यस्तो अफरले चाडपर्वमा रेमिट्यान्स पठाउन प्रोत्साहन मिल्ने र ग्राहकहरुमा करोडपति नै बन्ने अवसर समेत प्रदान गर्छ।

अन्य बेलाभन्दा चाडपर्वमा रेमिट्यान्स प्रवाह बढ्ने गरेको आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) खिलेन्द्र पौडेल बताउँछन्। उनका अनुसार गत वर्षको तुलनामा यो वर्ष रेमिट्यान्सको वृद्धि १५/२० प्रतिशत देखिएको छ। 

‘राष्ट्र बैंकको तथ्याङ्क हेर्दा पनि गत दुई महिनामा (साउन र भदौ) २२८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ,’ उनले भने, ‘त्यसमाथि दसैँ तिहार रेमिट्यान्स फ्लो बढ्ने बेला नै हो। चाडपर्व लक्षित क्याम्पेन पनि चलिरहेका छन्। यद्यपि, अरु बेलाको भन्दा चाडपर्वको समयमा रेमिट्यान्स आउने क्रम बढ्ने देखिन्छ। गत वर्षको तुलनामा यो वर्ष रेमिट्यान्स वृद्धि राम्रो छ। तर, असोजको डेटा आइसकेको छैन। गत वर्षको तुलनामा रेमिट्यान्स १५/१७ प्रतिशतले वृद्धि भएको देखिन्छ।’

डलरको दर उस्तै रहेको बेला १५ प्रतिशतको वृद्धि धेरै नै राम्रो भएको उनी बताउँछन्।

ई–सेवा मनी ट्रान्सफर ब्रान्ड म्यानेजर आशिष दाहाल वैधानिक च्यानलबाट रेमिट्यान्स आउने क्रम बढेको बताउँछन्। सरकारले वैदेशिक रोजगारीमा जानेलाई अनिवार्य बैंक खाताको व्यवस्था गर्दा वैधानिक च्यानलबाट आउने रेमिट्यान्स बढ्न थालेको दाहालको भनाइ छ। 

‘दसैँ–तिहार र छठ रेमिट्यान्स बढ्ने समय नै हो। दुई नम्बर प्रदेशमा छठमा अलि धेरै रेमिट्यान्स आउँछ,’ उनले भने, ‘दसैँ तिहारमा कम्पनीहरुले स्किम नै ल्याउने गर्दा रेमिट्यान्स फ्लो राम्रो हुने नै भयो। गत एक वर्षजतिको रेमिट्यान्स पछिल्ला ४/५ महिनामै भित्रियो।’

रेमिट्यान्स बढेसँगै महँगीको समेत ख्याल गर्नुपर्ने दाहालको भनाइ छ।
 
‘रेमिट्यान्स बढ्दा महँगी बढी छ भन्ने कुरा बिर्सिन हुँदैन,’ उनले भने, ‘मानिसहरुको हातहातमा जति हुन्छ, त्यति नै खर्च बानी हुन्छ। त्यसैले बाहिर जाने क्रम विस्तारै कम हुँदै जानु पर्छ। महँगी आकासिएको छ। यस्तो बेला निरन्तर बाहिर जाने बढेपछि अबको १०/१५ वर्षपछि के हुन्छ? रेमिट्यान्स त बढ्ला तर महँगी कहाँ पुग्छ? यसलाई सरकारले बेलैमा ध्यान दिएर सन्तुलन मिलाउनुपर्छ।’

पछिल्लो समय वैैधानिक च्यानलबाट रेमिट्यान्स पठाउने बढ्न थालेसँगै रेमिट्यान्स वृद्धिदर बढेको सीटी एक्सप्रेस मनी ट्रान्सफरकी हेड अफ ब्रान्ड एन्ड प्रमोसन अनिता थापा आचार्य बताउँछिन्। 

‘अरु बेलाभन्दा चाडपर्वको समयमा विदेशमा कमाएको पैसा घरवरिवारलाई पठाउने गर्छन्,’ उनले भनिन्, ‘त्यसमा पनि पछिल्लो समय मानिसहरु सचेत हुँदा वैधानिक च्यानलबाट पैसा पठाउन थालेका छन्। जसकारण  रेमिट्यान्स फ्लो राम्रो देखिएको हो।’ 

सरकारले अवैधानिक च्यानलबाट पैसा आउने क्रम रोक्न सके अझै रेमिट्यान्स बढ्ने थापा बताउँछिन्। 

‘विगत १७ वर्षदेखि सीटी एक्सप्रेसले आफ्ना ग्राहकको लागि स्किम ल्याउँदै आएको छ,’ उनले भनिन्, ‘यो वर्ष पनि स्किम ल्याएका छौँ। कुनै एक जनाले १ लाख पठाउँदा त्यसको १० गुणासम्म पैसा पाउने योजना छ। यो योजना छठसम्मको लागि छ।’

साथै, हरेक हप्ता ५ जनालाई २५ हजार, हरेक महिना १ जनालाई १ लाख जित्ने मौका रहेको थापा बताउँछिन्। यस्ता सुविधाले थुप्रै ग्राहक लाभान्वित हुनुको साथै ग्राहकलाई थप उत्साहित बनाएको थापाको भनाइ छ। 

चालु आवको भदौसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या वृद्धि भई ७४ हजार ४५५ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ७०.६ प्रतिशत बढी हो। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या समेत वृद्धि भई ३२ हजार ४ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८.३ प्रतिशतले घटेको थियो।

चालु आवको दुई महिनामा मूल्यवृद्धि पनि बढेको छ। २०८० भदौ महिनामा उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत छ। अघिल्लो वर्ष यसै अवधिमा मुद्रास्फीति ८.६४ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०८०/०८१ को पहिलो दुई महिनामा ७.८ प्रतिशतले वृद्धि भई २६ अर्ब ४५ करोडको निर्यात र ५.१ प्रतिशतले कमी आई २ खर्ब ५९ आयात हुँदा वस्तु व्यापार घाटा ४.७ प्रतिशतले कमी भई २ खर्ब ३३ अर्ब ३० करोड पुगेको छ।

२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब २६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३.९ प्रतिशतले बढेर २०८० भदौ मसान्तमा १५ खर्ब ९८ अर्ब ९० करोड कायम भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .