कारोबार


प्रधानमन्त्री भन्छन् : अर्थतन्त्रमा सुधार देखिँदैछ, तर जनतामा आशा जगाउन सकिएन

प्रधानमन्त्री भन्छन् : अर्थतन्त्रमा सुधार देखिँदैछ, तर जनतामा आशा जगाउन सकिएन

फाइल तस्बिर


नेपालखबर
मंसिर २१, २०८० बिहिबार १२:४८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सुधार देखिए पनि जनतामा अझै आशा जगाउन नसकिएको बताएका छन्। 

रेस्पोन्सेबल विजनेश समिट कार्यक्रमलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

प्रचण्डले अर्थतन्त्रको क्षेत्रमा देखिएको दबाबलाई चिर्दै देशभित्र लगानीको वातावरण बनाउने प्रयास अझै जारी रहेको पनि बताए। 

‘यहाँहरु सबैलाई अवगत नै छ-अर्थतन्त्रको क्षेत्रमा विद्यमान दबाबलाई चिर्न र देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न मैले लगातार प्रयास गर्दै आएको छु’, उनले भने, ‘केही दिन पहिला मैले सरकार, निजी क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरु सम्मिलित बैठक गरेर अर्थतन्त्रमा सुधार ल्याउन बृहत अन्तरक्रिया गरेको छु। अन्तरक्रियापछि केही महत्वपूर्ण घोषणासमेत गरिएको छ। मेरो विश्वास छ-उक्त अन्तरक्रिया र घोषणाले अर्थतन्त्रमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ।’

दाहालले अर्थतन्त्रमा सुधारको अनुभूति भए पनि जनतामा आशाको सञ्चार गर्न अझै मिहिनेत आवश्यक रहेको बताए। 

‘तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिन्छ। तर, आमजनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मिहिनेत गर्नुपर्ने परिस्थिति हाम्रासामु छ’, उनले भने, ‘त्यसैले मैले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत् बैठक र केही नयाँ घोषण गर्ने तयारी गरिरहेको छु। त्यसमा यहाँहरुको सक्रिय सहभागिता, महत्वपूर्ण सुझाव र कार्यान्यवनमा जिम्मेवारीवोध एवम् तत्परता रहने विश्वास लिएको छु।’

दाहालले बुधबार मात्रै शासकीय सुधारमा केन्द्रित रहेर सरकारका बहालवाला र भूतपूर्व कर्मचारीहरूको बृहत गोष्ठी गरिएको बताए। ‘त्यसबाट समेत केही महत्वपूर्ण सुझाव र दिशानिर्देश प्राप्त भएको छ’, उनले भने, ‘शासकीय सुधारका क्षेत्रमा केही नयाँ गर्न सकियो भने त्यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा देखिने विश्वास लिएका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .