कारोबार


काम अझै बाँकी हुँदा ३ महिना धकेलियो धरहरा चढ्न पाउने समय


वसन्त अर्याल
पुस ६ , काठमाडौँ

धरहरा उद्घाटन भएको ३ वर्ष पुग्न लागेको छ तर अहिलेसम्म सर्वसाधारणले चढ्ने अनुमति भने पाएका छैनन्। बाहिरी संरचनाको काम पूरा नहुँदा उनीहरुले अनुमति नपाएका हुन्।  

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हतारमा धरहराको उद्घाटन गरेका थिए। तर केही काम अझै बाँकी छन्। उद्घाटन हुँदा पार्किङलगायत भुइँमुनिको मात्रै काम सकिएको थियो। 

अहिले पर्खाल लगाउने, बगैँचा निर्माण गर्ने, पार्किङको फिनिसिङका काम अन्तिम चरणमा छन् भने धरहरा क्षेत्रभित्र विद्युतीयकरणको काम भइरहेको छ। करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको पूरा संरचनाको लागत सवा ३ अर्ब रुपैयाँ छ। 

‘गोश्वारा हुलाक, सञ्चयकोषको भवन भत्काई ठाउँ खाली गराउने, स्थानीयका विभिन्न मागलगायतले समय बढ्दै गएको हो’, सहरी विकास विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ प्रमुख कोषनाथ अधिकारीले नेपालखबरसँग भने, ‘बीचको बाटो सञ्चयकोषको जग्गा परेको भनी दाबी परेपछि पिच गर्न रोकिएको छ।’

आयोजनाले अबको ३ महिनाभित्र धरहरामा सर्वसाधारण चढ्न पाउने जनाएको छ। 

‘सबै काम सकिने चरणमै छन्। बाँकी कामअनुसार ३ महिना पर्याप्त समय हो’, अधिकारीले भने, ‘ठेकेदारले कामै नगरे त भन्न सकिएन। सरासर काम भए ३ महिनामा धरहरा चढ्न पाइन्छ।’

२०७८ वैशाखमा तत्कालीन प्रधानमन्त्री ओलीले २२ तल्लाको धरहरा उद्घाटन गरेका थिए। उक्त समयमा समग्र भौतिक प्रगति ६० प्रतिशत मात्रै थियो। 

सुरुमा २ वर्षको लागि ठेक्का लागेकोमा म्याद थप गर्दै लगेको छ। २०७५ वैशाखमा ठेक्का आह्वान गरी भदौमा जीआईआईटीसी/रमन जेभीले ठेक्कामा छनोट भएको थियो। आयोजनाले म्याद थप गरिए पनि आयोजनाको लागत नबढाएको जनाएको छ। 

‘आयोजनालाई थप आर्थिक दायित्व नपर्ने गरी म्याद थप गरिरहेका छौँ’, उनले भने। 

सुन्धारामा प्राकृतिक पानी खसाउन र निकास गराउनै मुस्किल
धरहरा डिजाइन गर्दा सुन्धाराको पानी एउटा इनारमा जम्मा गर्ने र मोटरले तानेर नगरपालिकाको सिस्टममा जडान गर्ने योजना थियो। 

स्थानीय समुदाय, स्थानीय तहले सुन्धारामा पहिला जसरी पानी बगेको थियो त्यसरी नै बग्नुपर्ने माग गर्दै आएका छन्। धरहराको पानी जमिन सतहबाट १४ फिट तल छ। पहिला पानी बग्ने छेउछाउमा अग्ला घर बनेका छन्। 

‘अहिले १६–१७ फिट गहिराइ खनेर पानीलाई पुरानै बाटोमा लैजान मुस्किल छ’, अधिकारीले भने, ‘यो समस्या समाधानको लागि सुरुङमार्ग खनिरहेका निकायसँग छलफल गरिरहेका छौँ।’

सुन्धारामा प्राकृतिक रुपमै पानी खसाउनुपर्ने माग छ। आयोजनाले बोरिङ खन्ने वा महानगरको पानीको सप्लाईबाट धारो खसाउने योजना बनाएको थियो। सुन्धारा क्षेत्रमा ४० फिटभन्दा तल पानी रहेकाले प्राकृतिक रुपमा पुरानै धारामा झार्न अप्ठ्यारो रहेको अधिकारी बताउँछन्। 

पुरानो धरहरा क्षति नहुने गरी संरक्षण गरिने
सुन्धारामा धरहरा भीमसेन थापाले स्थापना गरेका हुन्। वि.सं. १९९० को भूकम्पले भत्काए पनि पुनर्निर्माण गरिएको थियो। उक्त धरहरा चुना र सुर्कीले बनाइएको थियो। २०७२ सालको भूकम्पले लडेपछि नयाँ संरचना बनाइएको हो। 

सरकारले बनाएको नयाँ धरहराको बाहिरी स्वरुप पुरानै धरहराको भए पनि आधुनिक निर्माण सामग्री प्रयोग गरिएको छ। नयाँ धरहरामा २ वटा लिफ्टसहित भर्‍याङ राखिएको छ। पहिलाको धरहराभन्दा फराकिलो छ। 

भूकम्पको जोखिमका दृष्टिले पुरानो धरहराको तुलनामा बलियो छ।

‘पुरानै निर्माण सामग्री प्रयोग गरी अग्लो संरचना बलियो हुँदैनथ्यो’, अधिकारीले भने, ‘पुरानोलाई संरक्षण गर्ने र त्यसैको झल्को दिने गरी नयाँ बनाइएको हो।’

लुम्बिनीको मायादेवी मन्दिर, भारतको कुदमिनारमा वर्षौँ पुराना संरचना खुल्ला रुपमै संरक्षण गरिएको छ। 

‘अहिले स्ट्रक्चरल इन्जिनियर, विज्ञहरुलाई अध्ययन गर्न भनेका छौँ। कसरी संरक्षण गर्ने छिट्टै निक्र्यौल निस्किन्छ’, उनले भने। 

थप तस्बिर/भिडिओ (सरोज बैजू)

पुस ६, २०८० शुक्रबार १२:५९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .