ad ad

कारोबार


सेयरबजारमा ‘ओपनिङ’ मूल्य सीमा घटाउँदै नेप्से, विज्ञ भन्छन्– आवश्यक छैन

सेयरबजारमा ‘ओपनिङ’ मूल्य सीमा घटाउँदै नेप्से, विज्ञ भन्छन्– आवश्यक छैन

चन्द्रसिंह साउद, डा. रेवत कार्की र निरज गिरी (बायाँबाट क्रमशः)


केशर बोगटी
माघ ९, २०८० मंगलबार १६:४२, काठमाडौँ

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीलाई पहिलो सेयर कारोबारका लागि दिने मूल्यको सीमा घटाउने तयारी गरेको छ। 

सूचीकृत कम्पनीलाई पहिलो कारोबारको लागि नेटवर्थको डेढ गुणासम्म मात्रै ‘ओपनिङ’ मूल्य दिन लागिएको हो। 

हाल कुनै कम्पनीको किताबी मूल्य (नेटवर्थ) १०० रुपैयाँ छ भने त्यो कम्पनी नेप्सेमा सूचीकृत हुँदा उसले पहिलो कारोबारको लागि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ मूल्य पाउँछ। तर अब डेढ गुणामात्र बढाउन दिँदा १५० रुपैयाँ मूल्य रेन्ज पाइनेछ। 

खासगरी कमजोर कम्पनीको सेयर मूल्य उचालिएको निष्कर्षमा नेप्से पुगेको हो। त्यसको लागि सुरुवाती मूल्य सीमा घटाउने प्रस्ताव सञ्चालक समितिमा पुगे पनि पारित हुन बाँकी छ।  

उक्त प्रस्ताव सञ्चालक समितिले पारित गरे प्रक्रिया अगाडि बढ्नेछ। तर यसको कार्यान्वयनसँगै सेयरबजार र लगानीकर्ता दुवैमा असर पर्ने देखिएको छ। 

उदाहरणका लागि कुनै कम्पनीको नेटवर्थ ७५ रुपैयाँ छ भने त्यो कम्पनीले पहिलो कारोबारको लागि १ सय रुपैयाँ ओपनिङ मूल्य पाउने भयो। 

यस्तोमा १०० रुपैयाँ लगानी गरेको कम्पनीको १०० रुपैयाँमा पहिलो कारोबार हुने लगानी निरुत्साहन हुनसक्छ भने लगानीकर्ताले आईपीओमा लगानी नै नगर्न सक्छन्। त्यसले उक्त कम्पनीलाई पुँजी जुटाउन मुस्किल पर्छ।  

‘ओपनिङ रेन्ज’ परिमार्जन अनावश्यक
नेप्सेकै पूर्वप्रमुख कार्यकारी (सीईओ) चन्द्रसिंह साउद सूचीकृत कम्पनीलाई पहिलो कारोबारका लागि प्रदान गर्ने ‘ओपनिङ रेन्ज’ परिमार्जन आवश्यक नभएको बताउँछन्। 

सुरुवाती मूल्यको सीमा घटाउने कुरा वैज्ञानिक नहुने उनको तर्क छ।

‘अन्तर्राष्ट्रिय अभ्यासको कुरा गर्दा सूचीकृत कम्पनीको पहिलो कारोबारका लागि खुल्ला छोडिएको हुन्छ’, उनले भने, ‘हामीकहाँ पनि पहिले ओपनिङ रेन्ज तोक्ने व्यवस्था थिएन। केही कम्पनीले बदमासी गर्दा नेटवर्थको ३ गुणासम्म ओपनिङ मूल्य दिने व्यवस्था बनाइएको हो।’

लगानीकर्ताले १०० रुपैयाँमा भरेको आईपीओ मूल्य ३÷४ सय पुग्छ भनेर लगानी गरिरहेका हुन्छन्। ओपनिङ मूल्य घटाउँदा लगानीकर्ता थोरै पनि प्रतिफल नआउने भए लगानी नगर्ने उनले बताए। 

त्यसैले अहिले हालको विधि परिवर्तन गर्दा वैज्ञानिक नहुने साउद बताउँछन्। 

अझै बजारमा डेरिभेटिभ, सर्ट सेलिङ, अक्सन मार्केट र कमोडिटी मार्केट सञ्चालनमा आएपछि लगानीकर्तालाई थप विकल्प हुने उनको भनाइ छ। 

‘र, लगानीकर्तालाई लगानीको अप्सन (विकल्प) हुँदा केही परिमार्जन गर्नुपर्ने हुनसक्छ तर, अहिले नै मचाहिँ आवश्यक देख्दिन’, उनले भने। 
बजारको विकासको लागि नेटवर्थको ३ गुणा ओपनिङ मूल्य तोक्ने व्यवस्था सकारात्मक रहेको नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्की पनि बताउँछन्। 

कारोबारको लागि नेटवर्थको ३ गुणा ओपनिङ मूल्य तोक्ने व्यवस्था नै बजार विकासको नीति रहेको उनको भनाइ छ। 

‘मेरो कार्यकालमा सूचीकृत कम्पनीलाई नेटवर्थको ३ देखि ५ गुणासम्म ओपनिङ मूल्य तोक्ने व्यवस्था भयो। त्यसमा पनि केही म्यानिपुलेटरी रहेछ’, उनले भने, ‘त्यसपछि नेटवर्थको ३ गुणा बढी ओपनिङ मूल्य तोक्न नपाउने व्यवस्था बनाएका हौं।’

जसले बजार विकासको लागि महत्वपूर्ण भूमिका देखिएको उनको भनाइ छ। 

‘१०० रुपैयाँ कम नेटवर्थ भएका कम्पनी आईपीओ ल्याइरहेका छन्। कमजोर कम्पनीको हकमा ओपनिङ मूल्यको सीमा घटाउने कुरा ठीकै होला तर राम्रो कम्पनीको हकमा भने त्यसले मर्का पर्ला’, उनले भने। 

अहिले ओपनिङ मूल्य घटाउने कुराले बजारलाई परिपक्व बनाउँदै जानुपर्नेमा झन् अपरिपक्व हुँदै गएको आभास हुने कार्कीको तर्क छ। 

यता, नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरी भने लगानीकर्ताको वित्तीय साक्षरताको हिसाबले नेप्सेले ओपनिङ मूल्य तोक्ने व्यवस्था परिमार्जन गर्न लागेको हुनसक्ने तर्क राख्छन्। 

‘मेरो विचारमा नेप्सेको ओपनिङ मूल्य परिमार्जन गरी घटाउने व्यवस्था उपयुक्त नै छ’, उनले भने, ‘कम्पनीहरुको फेस भ्यालु १०० रुपैयाँ हुन्छ। राम्रो कम्पनीलाई केही असर गर्ला तर सेयर मूल्य बढिहाल्छ नि!’

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का तत्कालीन प्रमुख कार्यकारी (सीईओ) डा.रेवतबहादुर कार्कीले नवप्रवेशी कम्पनीलाई ‘ओपनिङ रेन्ज’ तोक्ने व्यवस्था सुरु गरेका थिए। 

त्यसअघि प्राथमिक निष्काशन (आईपीओ) जारी गरेका कम्पनीलाई पहिलो कारोबारका लागि ‘ओपनिङ रेन्ज’ तोक्ने व्यवस्था थिएन।

हाल कुनै पनि कम्पनीले आईपीओ सूचीकृत गर्दा नेप्सेले ‘ओपनिङ’ मूल्य तोक्ने गर्छ। यसअनुसार कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम नेटवर्थदेखि त्यसको अधिकतम ३ गुणासम्म ‘ओपनिङ’ मूल्य दिने गरिएको छ। 

हाल कुनै कम्पनीको किताबी मूल्य (नेटवर्थ) १०० रुपैयाँ छ भने त्यो कम्पनी नेप्सेमा सूचीकृत हुँदा उसले पहिलो कारोबारको लागि अधिकतम ३०० रुपैयाँसम्म ‘ओपनिङ’ मूल्य पाउँछ। 

आईपीओ जारी गरेपश्चात् पब्लिक कम्पनीहरुले नेप्सेमा सेयर सूचीकृत गर्ने गर्छन्। 

सेयर सूचीकृत गरेपश्चात् नेप्सेले उक्त आईपीओ अर्थात् सेयरको ओपनिङ मूल्य तोक्छ। सोही मूल्यमा कम्पनीको पहिलो कारोबार खुल्छ।

त्यसपछि भने कम्पनीको सेयरमा आएको डिमान्ड (माग) र सप्लाई (आपूर्ति)ले कम्पनीको सेयरमूल्य घटबढ हुन्छ।  

अधिकांश कम्पनीहरुले १०० सय रुपैयाँ फेस भ्यालु (अंकित मूल्य)मा आईपीओ जारी गर्ने गर्छन्। तर, केही कम्पनीले प्रिमियम र बुक बिल्डिङ विधिबाट समेत आईपीओ ल्याउन पाउने व्यवस्था छ। 

लगानीकर्ताले १०० रुपैयाँमा आईपीओ भर्दा त्यो बढेर ३/४ सय पुग्ने देखेर नै भर्ने गरेका हुन्छन्। 

१०० रुपैयाँमा भरेको आईपीओ बढेर १५० नपुग्ने भएपछि लगानीकर्ताले लगानी गर्दैनन्। त्यसले कम्पनीहरुलाई असर गर्छ। किनकि सेयरबजार त कम्पनीहरुको लागि पुँजी जुटाउने माध्यम पनि हो। 

लगानीकर्ताले आईपीओ नै नभरे कम्पनीहरुले पुँजी कसरी जुटाउने? त्यसैले बजार कम्पनीको लागि पुँजी जुटाउने माध्यम र लगानीकर्तालाई प्रतिफलमैत्री वातावरण हुनुपर्ने विज्ञहरु बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .