ad ad

कारोबार


‘सिस्टम रिप्लेस’ गर्दै नेप्से, वाईकोको विकल्प के?

‘सिस्टम रिप्लेस’ गर्दै नेप्से,  वाईकोको विकल्प के?

फाइल तस्बिर


केशर बोगटी
माघ १९, २०८० शुक्रबार १०:३६, काठमाडौँ

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ‘सिस्टम रिप्लेस’ गर्ने गरी तयारी थालेको छ। डाटा सेन्टर अपरेसनको काम सम्पन्न गरेपछि नेप्सेले ‘सिस्टम रिप्लेस’ गर्ने भएको हो।

प्रत्येक पाँच/छ वर्षमा सिस्टम पुरानो हुँदै जाने हुँदा अपग्रेड गर्ने वा सिस्टम नै रिप्लेस गर्नुपर्छ।

नेप्सेले डेरिभेटिभ इन्डेक्स (नेप्से-३०), इन्ट्रा डेलगायत कारोबार गर्न मिल्नेगरी डाटा सेन्टर अपरेसनको काम अघि बढाएको छ।

नेप्सेले गत वर्ष नै डेरिभेटिभ इन्डेक्स सञ्चालनको सम्पूर्ण तयारी गरेको थियो। 

करिब ९ महिनाअघि ‘नेप्से-३०’ परीक्षण गरी सञ्चालन स्वीकृतिका लागि नेप्से सञ्चालक समितिमा पठाएको थियो। तर, हालसम्म सञ्चालक समितिले ‘नेप्से–३०’ सञ्चाल अनुमति दिइसकेको छैन। 

सूचीकृत कम्पनीको सेयर किनबेचबाहेक अन्य स्टुमेन्टको कारोबार गर्न मिल्नेगरी नेप्सेको सिस्टम नै रिप्लेस तयारी भइरहेको एक अधिकारीले बताए। 

उनका अनुसार नेप्सेमा डाटा सेन्टर र सफ्टवेयर अति महत्पूर्ण हुन्छ। यद्यपि, पहिलो चरणमा डाटा सेन्टरको काम गर्न लागिएको ती अधिकारीको भनाइ छ। 

‘नेप्सेको मुटु नै डाटा सेन्टर हो। त्यसैले डाटा सेन्टर अपरेसनको काम पहिले सम्पन्न गर्नुपर्ने भएको छ’, उनले भने, ‘डाटा सेन्टर अपरेसनको काम सम्पन्न भएपछि सफ्टवेयरको काम थालिनेछ।’

डाटा सेन्टर अपरेसनका लागि टेन्डर आह्वान गर्न बाँकी रहेको उनले बताए।

‘५० लाखभन्दा बढीको सामान खरिद गर्न नेप्से सञ्चालक समितिको अनुमति लिनुपर्छ’, उनले भने, ‘त्यो खरिदका लागि ९ करोड लाग्छ। सञ्चालक समितिले त्यसका लागि स्वीकृति दिइसकेको छैन।’ 

सञ्चालक समिति कुनै पनि खरिद प्रक्रिया वा खर्च हुने कामको लागि स्वीकृति गर्न हिचकिचाउने उनको भनाइ छ। 

‘डाटा सेन्टरको टेन्डरका लागि प्रक्रिया सुरु भएको ३/४ महिना बितिसक्यो। इलेक्ट्रिकल गरी ९ करोडको टेन्डर आह्वान गर्न लागिएको छ’, उनले भने, ‘डेरिभेटिभ र इन्ट्रा-डेलगायतका इन्स्टुमेन्ट सञ्चालनका लागि डाटा सेन्टर खोजेका हौंँ।’

‘त्यसका लागि सञ्चालक समितिले अनुमति दिनुपर्छ, जुन अहिललेसम्म दिएको छैन’, उनले भने। 

किन आवश्यक बन्यो ‘सिस्टम रिप्लेस’? 
नयाँ इन्डेक्स सञ्चालन तयारीमा भइरहेको अवस्थामा नेप्सेको सिस्टम अपग्रेड गर्ने वा सिस्टम नै रिप्लेस गर्नेबारे अध्ययन भएको थियो। 

त्यही अध्ययनले नेप्सेको सिस्टम नै रिप्लेस गर्नुपर्ने देखिएको ती अधिकारीले बताएका छन्।

‘दुई वर्षअघि एकै दिन २२ अर्बसम्मको कारोबार भएको थियो’, ती अधिकारीले भने, ‘सेयरबजारमा लगानीकर्ता थपिँदै गइरहेका छन्।’

सर्वसाधारणको उपस्थिति बढ्दै गइरहेको अवस्थामा नयाँ इन्डेक्स बढाउँदा सिस्टम नै रिप्लेस गर्नुपर्ने देखिएको ती अधिकारीले बताए। 

यी योजना अधुरै 
नेप्सेले वर्षौँअघि थालेका कयौँ काम अपूरै छन्। नेप्सेले ९ महिनाअघि तयार पारेको नेप्से-३०, ओटीसी बजारलाई अनलाइनमा रुपान्तरण गर्ने, डाटा सेन्टर अपरेसनलगायत योजना पूरा हुन सकेका छैनन्। 

सञ्चालक समितिले स्वीकृति नदिँदा नेप्से-३०, ओटीसी बजारलाई अनलाइनमा रुपान्तरण गर्ने, डाटा सेन्टर अप्रेसन लगायत कामले पूर्णता पाउन नसकेको नेप्सेका सचना अधिकारी मुराहरि पराजुली बताउँछन्। 

सञ्चालक समितिले स्वीकृति दिएसँगै यी कामले पूर्णता पाउने उनले बताए। 

नेप्सेमा २०७५ कात्तिक २० गतेदेखि अनलाइन कारोबार सुरु भएकोे हो। नेपालको सेयरबजारलाई अन्तर्राष्ट्रियस्तरको बनाउन नेप्सेले अनलाइन कारोबार सुरु गरेको थियो।

त्यसबेला तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले अनलाइन कारोबारको उद्घाटन गरेका थिए।

सुरुवाती समयमा करोडको कारोबार भइरहेको नेप्सेमा अनलाइन प्रणाली आउँदासमेत खासै कारोबार बढ्न सकेको थिएन। 

२०७६ चैतमा विश्वव्यापी रुपमा कोभिड महामारी फैलियो। जसबाट नेपालसमेत अछुतो रहेन। नेपाल सरकारले कोभिडकालमा लकडाउन लगाउँदा सबै क्षेत्र ठप्प भए। तर सेयरबजार निरन्तर बढेको थियो। 

निरन्तर बढ्दै गइरहेको बजारले २०७८ भदौ २ गते कारोबार अवधिमा ३२ सय बिन्दु पार गरेको थियो। कारोबारसमेत २२ अर्बको भएको थियो। 

कारोबार र लगानीकर्ता बजारमा थपिँदै जाने र नेप्से, टीएमएसमा भने बेलाबेला समस्या बढ्दा लगानीकर्ताले सास्ती पाउने गरेका छन्।

नेप्सेमा कारोबार बढ्दै जाँदा कहिले सिस्टम त कहिले निर्माता कम्पनी वाईकोको सिस्टममा समस्या देखाउँदै नेप्से पन्छिने गरेको थियो। 

२०७७ भदौ २५ गते नेप्सेले ब्रोकरलाई दिएको टीएमएससँग ब्रोकर र नेप्सेको कनेक्सन नभएपछि कारोबार रोक्का भएको थियो। 

२०७७ भदौ २८ गते सिस्टममा समस्या देखिएपछि सेयरबजार बेलुका ५ः१५ सम्म खुलेको थियो। कारोबार समयमा समस्या आउँदा कारोबार अवधिसमेत थपिएको थियो। 

नेप्सेका र ब्रोकरको सिस्टमा बेलाबेला समस्या आउँदा लगानीकर्ता हैरान भई प्रधानमन्त्रीसमक्ष मौखिक उजुरी दिन पुगेका थिए। 

नेप्सेले नयाँ इन्डेक्स सञ्चालन ल्याउँदा आगामी दिनमा सिस्टमका कारण समस्या आई लगानीकर्ता मारमा नपरून् भनी सिस्टम रिप्लेस गर्न लागिएको ती अधिकारीको भनाइ छ। 

नेप्सेको क्यापासिटी (क्षमता) कमजोर भएर सिस्टम रिप्लेस गर्ने भन्ने नहुने उनले बताए। हाल नेप्सेले प्रतिसेकेन्ड १२ हजार कारोबार सपोर्ट गर्छ।

वाईकोको सिस्टम रिप्लेस गर्ने तयारी
डाटा सेन्टर अपरेसनको काम पूरा भएपछि नेप्सले वाईकोको सिस्टम रिप्लेस गर्ने योजना बनाएको छ। 

अनलाइन कारोबार प्रणालीमा अनधिकृत प्रवेश गराएका लगायत विषयमा विवाद चर्किँदा नेप्सेले उसको सिस्टम नै रिप्लेस गर्ने योजना बनाएको छ। 

पछिल्लो समय वाईकोले अनधिकृत प्रवेश गरी स्वार्थअनुरुप कम्पनीको सेयर बढाउने र घटाउने गरेको विषय विवादित बनेको छ।

के हो वाईको?
योमरी कम्पनीको छोटकरी रूप नै अहिलेको अनलाइन प्रणालीको विकास गर्ने वाईको प्रालि हो।

उसले आफूलाई सिस्टम इन्टिग्रेसन तथा प्रविधिको कन्सल्ट्यान्टका रूपमा व्याख्या गरेको छ।

अनलाइन सेयर कारोबार प्रणालीमा वाईकोले अपेक्षित नतिजा देखाउन नसकेको देखिएको छ।

बेलाबेलामा सिस्टम डाउन हुने, नचल्नेजस्ता कुराले यसलाई पुष्टि गर्छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .