कारोबार


आयोजक भन्छन्, ‘आइफाले नेपालको शान बढाउँछ, पर्यटन प्रवर्धन गर्छ’

आयोजक भन्छन्, ‘आइफाले नेपालको शान बढाउँछ, पर्यटन प्रवर्धन गर्छ’

कृष्ण आचार्य
असार १६, २०७६ सोमबार १:२४,

नेपालमा आयोजना गर्ने भनिएको इन्टरनेशनल इन्डिया फिल्म एकेडेमी (आइफा) अवार्डले नेपाललाई आर्थिक रुपमा कुनै घाटा नहुने सम्बन्धित निकायले दाबी गरेका छन्। 

असार ३ गते बसेको मन्त्रिपरिषद् बैठकले सन् २०१९ को आइफा अवार्ड नेपालमा गर्ने निर्णय गरेको छ। त्यसको सहआयोजक काठमाडौं महानगरपालिका रहने र पर्यटन बोर्डले नेतृत्व गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ।

कार्यक्रमका लागि सरकारले आयोजकलाई ४४ करोड दिने कुरा बाहिर आएसँगै सामाजिक सञ्जाल तथा मिडियामा यसको विरोध भइरहेको छ।

अवार्ड आयोजनाको नेतृत्व गर्ने नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी आइफाका विषयमा आममानिसमा भ्रम सिर्जना भएको बताउँछन्। आइफाजस्तो अन्तर्राष्ट्रिय इभेन्ट नेपालमा आयोजना हुनु नै ‘उपलब्धि’ भएको उनको तर्क छ।

‘पर्यटन बजारका दृष्टिले भारत एउटा ठूलो स्रोत मुलुक हो। बलिउड फिल्मको बजार भारतमा मात्र नभएर एसियामै राम्रो छ। बलिउड सेलिब्रेटीहरुलाई विश्वका थुप्रै देशका मानिसले फलो गर्छन्’ नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘ती कलाकारहरुको नेपाल आगमन र बिलउडकै सबैभन्दा ठूलो अवार्ड नेपालमा हुँदा यसले नेपालको पर्यटन प्रबद्र्धनमा निकै ठूलो महत्व राख्नेछ।’

भावनामा बहकिएर यसको विरोध भइरहेको उनको भनाइ छ। ‘भविष्यमा यसले पार्ने सकारात्मक प्रभावबारे पनि ख्याल गर्नुपर्छ। ठूला इभेन्टहरुले गर्दा देशको गौरव बढ्ने र पछि अन्य विदेशी इभेन्टहरु पनि नेपालमा गर्न सकिने हुन्छ’, उनी भन्छन्। 

आइफा अवार्ड आयोजनाका लागि बनेको समितिका सदस्य चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ पनि अवार्ड पर्यटन प्रवद्र्धनको सूत्र हुनसक्ने बताउँछन्।

‘यो टुँडिखेलमा गर्ने कन्सर्टजस्तो कार्यक्रम होइन। यो अवार्डबारे संसारभर थाहा हुन्छ। त्यसले नेपालको पर्यटन प्रचार हुन्छ’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘आइफामा आएका कलाकार कोही पशुपति, कोही लुम्बिनी त कोही सौरहा जान्छन्। तस्बिर खिच्छन् र सामाजिक सञ्जालमा राख्छन् र त्यसले नेपालको पर्यटन प्रवर्धन टेवा पुर्याउँछ।’

आर्थिक पाटो के हो ?
आइफाले आधिकारिक रुपमा अवार्ड नेपालमा गर्ने प्रस्ताव राखेको हो। त्यसका लागि उसले कार्यक्रमस्थल, होटललगायतको व्यवस्थापनका लागि ८० करोड रुपैयाँ माग गरेको छ। सुरुमा यो रकम ९० करोड भनिएको थियो। पछि नेपाली पक्षले यसलाई करिब ८० मा सहमत गराएको हो। रकमबारे अझै मोलमोलाइ भइरहेको सम्बन्धित व्यक्तिहरु बताउँछन्।

होटल व्यवस्थापनको खर्च नेपालले आफैँ गर्दा सो रकममा करिब ४० करोड रुपैयाँमा झर्ने समिति सदस्यहरुको भनाइ छ। बलिउड कलाकार आएर बस्दा आफ्नो होटलको पनि प्रवर्धन हुन्छ। प्रवद्र्धनको आशमा नेपाली होटलहरु उनीहरुलाई निःशुल्क बस्न खान दिन तयार छन्।
पर्यटन बोर्डको भनाइअनुसार कार्यक्रममा आफ्नो कम्पनीको प्रवद्र्धनका लागि राखिने विज्ञापन सामग्रीबाट समेत पैसा कमाइ हुनेछ। त्यो रकम करोडौंको दरमा हुने प्रमुख कार्यकारी अधिकृत जोशीको भनाइ छ।

आइफाले यसअघि आयोजना गरेका केही अवार्ड समारोह समेत स्थानीय सहरको प्रायोजनमा भएको चेम्बर अध्यक्ष नारायणकाजी श्रेष्ठ बताउँछन्। मलेसिया, थाइल्याण्ड, मकाउमा अवार्ड समारोह गर्दा पर्यटनसँग सम्बन्धित स्थानीय तहले प्रायोजन गरेका थिए।

पैसा कसले खर्च गर्छ?
बलिउडका कलाकारको अवार्डका लागि जनताले कर तिरेको पैसा दिनु नहुने आवाज उठिरहँदा अर्थमन्त्री युवराज खतिवडाले भनेका छन्, ‘आइफा अवार्डका लागि सरकारले पैसा दिएको छैन।’ पर्यटन बोर्डका कार्यकारी अधिकृत जोशीका अनुसार पनि संघीय सरकारसँग पैसाको कुरा भएको छैन। बोर्ड, महानगरपालिका र अन्य नियकायको पैसा आइफामा लगाउने तयारी भएको छ। ती निकायहरु सरकारी हुन्।

महानगरपालिका स्थानीय सरकार हो। बोर्ड पर्यटन प्रवर्द्धन गर्ने सरकारको केन्द्रीय निकाय हो।

‘पर्यटन प्रबद्र्धन र अन्तर्राष्ट्रियस्तरमा नेपालको शान बढाउन ५० करोड खर्च गरेर १०० जना कलाकार ल्याउँदा त्यसको विरोध किन ?’, कार्यकारी अधिकृत जोशी भन्छन्, ‘हामी ५–६ करोड तिरेर टुँडिखेलमा एउटा बलिउड कलाकार ल्याएर उसको १० मिनेटको डान्स हेरेर रमाउँछौँ। यो कार्यक्रमबाट भएको खर्चभन्दा धेरै फाइदा हुनेछ।’

बलिउड कलाकारको भिडियो
आइफा अवार्डमा सहभागी हुन नेपाल आउने बलिउडका चर्चित ५ कलाकारलाई ‘नेपाल पर्यटन वर्ष २०२०’को प्रवद्र्धनात्मक भिडियोमा उपयोग गर्ने तयारी बोर्डले गरेको छ। सलमान खान, साहरुख खान, प्रियंका चोपडासहित ५ कलाकारलाई पोखरा, लुम्बिनी, काठमाडौंका विभिन्न स्थान जानेछन्। उनीहरुले नेपालबारे बताउनेछन्। नेपाल भ्रमण गर्न आह्वान गर्नेछन्। यसले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बोर्डको अपेक्षा छ।

अवार्ड आगामी अगस्ट (साउन–भदौ)मा गर्नेगरी छलफल भइरहेको छ। मिति अझै छलफलकै चरणमा छ, निश्चित भइसकेको छैन। ‘कुरा मिलेन भने नेपालमा आइफा अवार्ड नहुन पनि सक्छ’ सिईओ जोशी भन्छन्, ‘पहिले खर्चको विषय तय हुनेछ। त्यसछि अन्य विषयमा छलफल हुनेछ। हामी केही दिनमै आइफा पदाधिकारीसँग छलफलमा बस्दैछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .