ad ad

कारोबार


द्रुतमार्ग : प्रस्थान बिन्दु खोकनाबाहेकका क्षेत्रमा खुल्यो काम गर्ने बाटो

द्रुतमार्ग : प्रस्थान बिन्दु खोकनाबाहेकका क्षेत्रमा खुल्यो काम गर्ने बाटो

वसन्त अर्याल
चैत ९, २०८० शुक्रबार ८:२६, काठमाडौँ

काठमाडौं-मधेस द्रुतमार्गको सुरु बिन्दु खोकनाबाहेकका क्षेत्रमा काम गर्ने बाटो खुलेको छ। मुद्दा मामिला लगायत कारण ठेक्का लगाउनै नसकेको नेपाली सेनालाई ६४.४ किमीमा तीव्र गतिमा काम गर्न सहज हुने भएको छ।

सेनाले ५०.२ किमीमा काम गरिरहँदा बाँकी ठेक्का नै लाग्न सकेको थिएन। हालै १४.२ किमीमा निर्माण व्यवसायी छनोट भैसकेका छन्। अब द्रुतमार्ग सडक आयोजनाले निर्माण व्यवसायीसँग सम्झौता गरेसँगै भौतिक निर्माणको काम सुरु हुन्छ।  

ठेक्का लगाउनका लागि काठमाडौं जोड्ने खोकना–बुङमति क्षेत्रमा जग्गा अधिग्रहण नै बाँकी छ। प्याकेज नम्बर ११ खोकना–बुङमति क्षेत्र पर्छ। उक्त प्याकेजमा ६.५ किलोमिटर रहेको छ।

जग्गा अधिग्रहणको लागि सबैभन्दा बढी जग्गा खोकना बुङमती क्षेत्रमा छ। खोकना–बुङमतीमा मूल्य निर्धारण भई मुआब्जा वितरण हुन बाँकी २१४ रोपनी जग्गा छ। अब १६५ रोपनीको मूल्य निर्धारण हुन बाँकी छ।

आयोजना निर्माणका लागि कुल १५ हजार ४१६ रोपनी जग्गा अधिग्रहण आवश्यक थियो। जसमा १० हजार २४४ रोपनी सरकारी र ५ हजार १७२ रोपनी व्यक्तिगत जग्गा पर्छ। निजी जग्गा ५ हजार १७२ रोपनीमध्ये ४ हजार ७७७ रोपनी अधिग्रहण भइसकेको छ। खोकना सहित ३९५ रोपनी जग्गा अधिग्रहण हुन भने अझै बाँकी रहेको छ।

नेपाली सेनाले अप्ठेरो भूगोल र विशेष संरचना निर्माण हुने खण्डको ठेक्का लागेकाले खोकना बुङमति क्षेत्रमा विवाद समाधान हुँदा निर्माणमा धेरै समय नलाग्ने दाबी गर्दै आएको छ।

‘आर्थिक प्रस्ताव खुलेका प्याकेजको सम्झौता भएसँगै काम सुरु हुन्छ,’ नेपाली सेनाका महासेनानी इन्दीवर गुरुङले भने,‘अब हाम्रो काम अघि बढेको छ।’

खोकना क्षेत्रको समस्या समाधानमा पुलचोक इन्जिनियरिङ क्याम्पससँग मिलेर काम गरिरहेको उनी बताउँछन्। द्रुतमार्गको सुरु बिन्दु निर्धारण, सवारी आवागमन व्यवस्थापनसम्बन्धी निर्णय र जग्गा अधिग्रहण विवाद समाधान सँगै हुने छ।

४ वटा प्याकेजमा ३ चिनियाँ र एक भारतीय कम्पनीलाई
सुरुमा ११ वटा प्याकेज बनाई निर्माण थालेको सेनाले द्रुतमार्गको पुरक विस्तृत अध्ययन प्रतिवेदन बनाउँदा सुरुङमार्ग थप गर्यो। यसले सडकको दूरी घट्यो। ११ वटा प्याकेजलाई १३ वटा बनाइएको छ। जसमा प्याकेज नम्बर ८ र ९ लाई ४ वटा बनाएको छ।

४ वटा प्याकेजमा ८ ख नियमित प्रक्रियाबाट निर्माण कम्पनी छनोट भएपनि ३ वटा प्याकेजमा प्राविधिक मूस्ल्यांकनपछि रिट परेर रोकिएका थिए।

उच्च अदालत पाटनमा ती ठेक्काविरुद्ध परेका रिट खारेज भएपछि खुलाइएको बोलपत्रअनुसार ८ ‘क’, ९ ‘क’ र ‘ख’मा बुधबार निर्माण कम्पनी छनोट भएका छन्।

८ ‘क’मा ६ अर्ब ४४ करोड कबोल गर्ने लंगजियान–भीमेश्वर जेभीले ठेक्का पाएको छ। त्यसैगरी ९ ‘क’ प्याकेजको ठेक्का ९ अर्ब ३२ करोड कबोल गर्ने जिआङ्सी–हनुमान बानियाँले पाएको छ।

एक्ससीजीसी हनुमान बानियाँ जेभीले प्याकेज ९ कै ‘ख’को निर्माण ठेक्का पाएको छ। यसका लागि कम्पनीले ७ अर्ब ६४ करोड रुपैयाँ कबोल गरेको छ। ठेक्कामा सहभागी रहेका गौरी पार्वती निर्माण सेवा प्रालि, इकोन इन्टरनेसनलले अदातलमा मुद्दा दायर गरेका थिए।

गत सोमबार उच्च अदालतका न्यायाधीशद्वय मुनेन्द्र प्रसाद अवस्थी र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले सो मुद्दा खारेज गरिदिएको छ। गौरी पार्वतीले पुस ५ मा, इकोनले माघ २१ मा रिट दायर गरेको थियो।

३ वटा प्याकेजको टेन्डर अवधि सकिएर प्राविधिक मूल्यांकनको चरणमा पुगेपछि ठेक्कामा सहभागी कम्पनीले मुद्दा दायर गरेका छन्। गौरी पार्वती निर्माण सेवा र जियांग्सी कन्स्ट्रक्सन इन्जिनियरिङले मुद्दा रोकिएका प्याकेज गत सोमबार पाटन उच्च अदालतले मुद्दा खारेज गरेसँगै काम अघि बढेको छ।

८ ख को ठेक्का भारतीय कम्पनी केएमसी इन्डियाले पाएको छ। ठेक्का सम्झौताको अन्तिम तयारी रहेको छ।

बोलपत्रअनुसार दुई लेनको ड्युअल क्यारिएजवे स्ट्यान्डर्ड एक्सप्रेसवे सडक निर्माण गर्नुपर्ने हुन्छ। सुरुङ, पुल, स्लोब स्टेबिलाइजेसन लगायतका काम यसमा पर्छन्।

३२ प्रतिशत भौतिक प्रगति
द्रुतमार्ग फागुनसम्म करिब ३२ प्रतिशत भौतिक प्रगति भएको छ। एकवर्षअघि २५.५ प्रतिशत भौतिक प्रगति रहेको थियो।

चालु आर्थिक वर्षमा २२.५१ अर्ब बजेट विनियोजन गरेकोमा १८ अर्ब खर्च गर्दै छ। ८ महिनामा १० अर्ब खर्च भैसकेको द्रुतमार्ग सडक आयोजनाले उल्लेख गरेको छ। गतवर्ष आयोजनाले १४ अर्ब ९४ अर्ब रुपैयाँ खर्च गरेको थियो। हालसम्म कुल ५९ अर्ब १७ करोड खर्च भएको छ।

आयोजनाको कुल लम्बाई ७०.९९ किलोमिटर रहेको छ। जसमा ४८ किलोमिटर सडक, १० किलोमिटर शुरुङमार्ग र १२.९ किलोमिटर साना ठुला पुल रहेका छन्।

इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडलमा अन्तराष्ट्रिय टेन्डरबाट सुरुङमार्ग भएका छन्। प्याकेज १मा पर्ने महादेवटार सुरुङमार्गको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले निर्माण गरिरहेको छ। पोलिचान्दा इन्जिनियरिङ कम्पनी लिमिटेडले धेन्द्रे र लेनडाँडा सुरुङमार्ग निर्माण गरिरहेको छ।

८९ वटा पुल निर्माण भैरहेका छन्। योसिन इन्जिनियरिङ कर्पोरेसन कोरिया जेभीले निर्माणको निरिक्षण गरिरहेको छ।

फागुनसम्म ३ हजार ३५५ मिटरको महादेवटार सुरुङ फागुनसम्म २ हजार ७३ किलोमिटर खनिएको छ। १६ सय ३० मिटर लामो धेन्द्रे सुरुङ १२ सय ८० मिटर खनिएको छ।

१४ सय ३० मिटर लेनडाँडा सुरुङको १२ सय ८० मिटर खनिएको छ। यी सुरुङ दशैंसम्म ब्रेक थ्रु गर्ने लक्ष्य राखिको छ।

१० नम्बर प्याकेजमा पर्ने चन्द्राम भीर सुरुङमार्गको प्रारम्भिक काम सुरु हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .