कारोबार


सप्तकोशीमा सञ्चालित जेटबोट बन्द

सप्तकोशीमा सञ्चालित जेटबोट बन्द

नेपालखबर
फागुन ५, २०७६ सोमबार १६:८,

भोजपुरलाई दक्षिणी क्षेत्रबाट तराईसँग जोड्ने सप्तकोशीमा सञ्चालित (जलयातयात) जेटबोट सेवा बन्द भएको छ। स्थानीयले जेट बोट सञ्चालकबाट कमिशन माग्दै अवरोध गरेपछि सुरक्षाको माग गर्दै गत बिहीबारबाट सेवा बन्द गरेको व्यवसायीले बताएका छन्। स्थानीयवासीले जथाभावी चन्दा उठाउने, कमिशन माग्ने गरेको भए पनि सरकारले रोक्न कुनै कदम नचालेको व्यवसायीले गुनासो गरेका छन्।

उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहा नगरपालिकाका बीचमा रहेको सप्तकोशी पुलबाट भोजपुरको हलेदे र धनकुटाको सिम्लेसम्म जेटबोट सञ्चालनमा रहेको थियो। चतराघाटबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गम सिम्लेसम्म जेटबोट सञ्चालनमा ल्याएपछि सर्वसाधरणले जलयातायातबाट सेवा लिँदै आएका थिए।

चतराघाटबाट करिब १५ किलोमिटर धनकुटाको सिम्ले १० देखि १५ मिनेटमै पुगिने र सिम्लेबाट भोजपुरको घोडेटार क्षेत्र एक घण्टामा पुग्ने गरेको स्थानीय दीपक राईले बताए राईले भने, ‘जेटबोट सञ्चालन हुँदा हामीलाई निकै सहज थियो तर आपसी किचलोका कारण सेवा बन्द हुँदा अहिले समस्या छ, सञ्चालनका लागि तत्काल पहल गर्न आवश्यक छ।’

जेटबोट सञ्चालनमा आएपछि भोजपुरसँगै धनकुटाको सिम्ले क्षेत्रका स्थानीय पनि दुई घण्टामै धरान तथा साढे दुई घण्टामा इटहरी पुग्ने गरेका थिए। भोजपुर, खोटाङ धनकुटालगायतका जिल्लाबाट दैनिक ७०० बढीले जेटबोटमार्फत यात्रा गर्ने गरेको सञ्चालकले बताउँछन्। जेटबोटमार्फत नै बराहक्षेत्र दर्शनका लागि मानिस आवतजावत गर्ने गरेका कारण बाह्य र आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने गरेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए।

सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेसन, वरुण वाटरवेज, बराहक्षेत्र मरिन एण्ड रिसोर्ट र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालीले सप्तकोशी नदीमा चार वटा जेटबोट सञ्चालन गर्दै आएका छन्। सरकारले कानून निर्माण गरी नियमन गर्नुपर्ने, सुरक्षा प्रदान गर्नुपर्ने, भाडादर कायम गर्नुपर्नेलगायतका माग राख्दै अनिश्चितकालका लागि बिहीबारबाट जलयातायात सेवा बन्द गराएको व्यवसायीको भनाइ छ। सप्तकोशी नदीमा दुई वर्षदेखि नियमित जलयात्राको सेवा सञ्चालन भइरहेको थियो। जेटबोट सञ्चालनका लागि प्रष्ट कानून अभावका कारण आफूहरु समस्यामा परेको सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोटेसनका सञ्चालक राजेन्द्र कार्कीले बताए।
व्यवसायको सुरक्षा गरिदिने ‘ग्यारेन्टी’ सरकारले नगरेसम्म सेवा सञ्चालन गर्न नसकिने उनको भनाइ छ। व्यवसायीले सप्तकोशी नदीमा जलयात्राको सेवा बन्द गरेपछि भोजपुरको दक्षिणी तथा धनकुटा र उदयपुर क्षेत्रका मानिसलाई तराईसम्म जान समस्या भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad