ad ad

कारोबार


लगानी सम्मेलनमा १९ यातायात योजना : ३ ‘एक्सप्रेस वे’देखि काठमाडौँका ३ रुटमा मेट्रोरेलसम्म

लगानी सम्मेलनमा १९ यातायात योजना : ३ ‘एक्सप्रेस वे’देखि काठमाडौँका ३ रुटमा मेट्रोरेलसम्म

काठमाडौं तराई द्रुतमार्गको महादेवटार सुरुङ। तस्बिर : सरोज बैजु


नेपालखबर
बैशाख ६, २०८१ बिहिबार ६:३८, काठमाडौँ

लगानी बोर्डले यातायात क्षेत्रका १९ आयोजना आगामी लगानी सम्मेलनमा प्रस्तुत गर्ने भएको छ।

बोर्डले अन्तर्राष्ट्रिय लगानीकर्तामाझ आधा दर्जन सुरुङसहित उक्त संख्यामा सडक तथा यातायात परियोजना प्रस्तुत गर्न लागेको हो। 

बोर्डका अनुसार धादिङको मलेखुदेखि चितवनको लोथरसम्म सडक र सुरुङ बनाउने योजना छ। उक्त आयोजनाबारे हाल सम्भाव्यता अध्ययन भइसकेको छ। 

हाल विस्तार भइरहेको नारायणगढ–बुटवल खण्डमा पर्ने दाउन्नेमा सुरुङमार्ग बनाउने योजना बोर्डले राखेको छ। दाउन्नेमा उकालो हुँदा बस तथा ढुवानीका साधन बिग्रिने तथा जाम हुने समस्या छ। 

त्यसैगरी, पोखराबाट कुश्मा जाने सडकअन्तर्गतको हेम्जा नयाँपुल खण्डमा सुरुङमार्ग बनाउने आयोजना सम्मेलनमा प्रस्तुत गरिँदै छ।

मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने उक्त सुरुङमार्गको अध्ययन सडक विभागले गरिरहेको छ। 

सिरहाको मिर्चैया र उदयपुरको कटारी–घुर्मी सडक बनाउने योजना अघि सारेको छ। कोशी प्रदेशमा धरान–लेउती सुरुङमार्गको योजना राखिएको छ। 

पूर्वसम्भाव्यता भएका ३ वटा एक्सप्रेस वेहरु शोकेसमा राखिँदै छन्।

बोर्डका अनुसार चितवन–रामपुर–बुटवल एक्सप्रे वे, चितवन–रामपुर–पोखरा एक्सप्रेस वे, चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन एक्सप्रेस वेको लागि विदेशी लगानीकर्ता खोज्न लागिएको छ।

यस्तै, मधेश र सुदूरपश्चिम प्रदेशमा बोर्डले सार्वजनिक यातायातको योजना अघि सारेको छ। यसबाहेक काठमाडौंको चक्रपथमा विद्युतीय बस र्‍यापिड ट्रान्जिट सिस्टम र पाटनढोका, जाउलाखेल, लामाचौरमा बहुतले पार्किङ बनाउने योजना छ। 

नयाँ प्रविधिको रुपमा भित्रिएको पोडवे प्रोजेक्ट पोखरा महानगरमा सञ्चालन गर्न शोकेस हुँदै छ। नयाँ सार्वजनिक यातायातको विकल्पको रुपमा हेरिएको पोडवेमा विदेशी लगानीकर्ता खोजिँदै छ। 

त्यस्तै, नेपालभर विद्युतीय गाडीको लागि फास्ट चार्जिङ स्टेसन बनाउने योजना पनि शोकेस गरिँदै छ। यसबाहेक बेथानचोक नारायणस्थान दर्शन केबलकार लगायत आयोजनाहरू पनि लगानीकर्तामाझ प्रस्तुत गरिँदै छ। 

काठमाडौंका ३ रुटमा मेट्रो 
लगानी बोर्डले काठमाडौंका ३ वटा रुटमा मेट्रो रेल सञ्चालन गर्ने योजना पुनः अघि सारेको छ। अघिल्लो लगानी सम्मेलनमा समेत शोकेस गरिएका आयोजना फेरि अघि सारिएको छ। 

काठमाडौंमा मेट्रो रेल सञ्चालनसहितको सार्वजनिक यातायातका लागि जापानको सहयोेगमा गुरुयोजना अध्ययन भइरहेको छ।

बोर्डले शोकेस गर्ने ३ मेट्रो रुटमध्ये पहिलो सातदोबाटो–रत्नपार्क–नारयणगोपाल चोक रहेको छ। दोस्रोमा कीर्तिपुर–कालीमाटी–नयाँ बनेश्वर– एयरपोर्ट रहेको छ। त्यस्तै, तेस्रोमा कोटेश्वर–चाबहिल–स्वयम्भू–कोटेश्वरमा मेट्रो रेल बनाउने योजना अघि सारिएको छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले थानकोटदेखि धुलिखेलसम्म मेट्रो सञ्चालन गर्न सकिनेबारे समेत अध्ययन गरिरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .