चर्चित कफी सेवाप्रदायक स्टारबक्सले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) ब्रायन निकललाई निजी विमान दिने भएको छ।
सीएनएनका अनुसार क्यालिफोर्नियामा रहेको घर र सियाटलमा रहेको कार्यालय आवतजावतका लागि निजी विमान उपलब्ध गराउन लागिएको हो।
अर्को महिनादेखि उनी स्टारबक्सको मुख्यालय सियाटलमा उपस्थिति जनाउँदै छन्। योसँगै उनी क्यालिफोर्नियाबाट सियाटल हप्तेनी रुपमा आउनेछन्। निकललाई उपलब्ध गराइएको अफर लेटरमा यसको खुलासा भएको थियो। क्यालिफोर्नियास्थित न्युपोर्ट बिचमा रहेको घरमा सानो अफिसको व्यवस्था मिलाइएको छ।
कम्पनीले उनलाई स्थायी रुपमा बसाइँ सर्नु नपर्ने भनेको छ। उनको घरबाट अफिस १ हजार माइल टाढा पर्छ। सोही कारण कम्पनीले कर्पोरेट जेटको व्यवस्था गर्नलागेको हो।
निकलले कम्पनीसँग १६ लाख डलर आधार तलब र १ करोड डलरबराबरको बोनस लिँदै आएका छन्। कम्पनीको व्यावसायिक प्रस्तुतिअनुसार थप रकम समेत उनले पाउने बताइएको छ।
यही महिनाको सुरुतिर स्टारबक्सले निकलले लक्ष्मण नरसिंहनको स्थान लिने घोषणा गरेको थियो।
Shares

प्रतिक्रिया