कारोबार


पर्यटन नीति परिवर्तन गर्ने संघारमा छौँ : मन्त्री पाण्डे

पर्यटन नीति परिवर्तन गर्ने संघारमा छौँ : मन्त्री पाण्डे

नेपालखबर
भदौ १७, २०८१ सोमबार १४:५६, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले पर्यटन क्षेत्रमा रहेका नीतिगत समस्यालाई परिमार्जन गर्ने बताएका छन्।

सोमवार ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४६ औं साधरण सभामा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्। उनले सरकार पर्यटन नीति परिवर्तन गर्ने संघारमा रहेको उल्लेख गरे।

उनले संस्कृति नीति, हवाई नीति र पर्यटन ऐन पनि संशोधनको अन्तिम चरणमा पुगेको भन्दै त्यसमा निजी क्षेत्रले आवश्यक सुझाव दिन आग्रह गरे। उनले पर्यटन मन्त्रालय सरकारले मात्रै चलाउन असम्भव रहेको पनि बताए।

मन्त्री पाण्डेले भने, ‘निजी क्षेत्रले काम गर्दा सरकारले बनाएका नीतिमा भएका समस्यालाई परिमार्जन गर्न सहयोग गर्नुस्। सरकार पर्यटन नीति परिवर्तन गर्ने संघारमा छ। संस्कृति नीति,हवाई नीति र पर्यटन ऐन पनि संशोधनको अन्तिम चरणमा पुगेको छ। त्यसमा पनि निजी क्षेत्रका सुझावहरु आउन्।’

उनले संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालय केवल सरकारको मात्रै नभएको बताए। उनले पर्यटन मन्त्रालय भूमिका, कार्यक्षेत्रका दृष्टिकोणले सरकारले मात्रै मन्त्रालय चलाउन असम्भव रहेको बताए। उनले पर्यटन क्षेत्रका चुनौती समाधानको लागि निजी क्षेत्रकै सार्थक हस्तक्षेप र क्रियाशिलताको आवश्यक रहेको बताए।

उनले निजी क्षेत्रको सक्रियता बिना मुलुकको पर्यटन क्षेत्रको विकास नहुने उल्लेख गरे। उनले मन्त्रालयलाई पर्यटन क्षेत्रका काम गर्ने टान लगायतका संस्थासँग निरन्तर पर्यटन संवाद गर्ने वातावरण बनाउने बताए। मन्त्री पाण्डेलले मन्त्रालयले निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्ने अघि बढाउने प्रतिवद्धता जनाए।

उनले भने,‘संस्कृति पर्यटन र नागरिक उड्डयन मन्त्रालय केवल सरकारको मन्त्रालय होइन। निजी क्षेत्रको पनि मन्त्रालय हो।

भूमिका, कार्यक्षेत्रका दृष्टिकोणले सरकारले मात्रै मन्त्रालय चलाउन असम्भव छ। निजी क्षेत्रको प्रोएक्टिभ ढङ्गले अग्रसरताका साथ यो मन्त्रालय मेरो पनि हो भन्ने भावना नराख्ने हो भने हाम्रो मन्त्रालय चल्दैन।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले सरकारले अहिले पनि रफ्तार समाउन नसकेको बताए। उनले पर्यटनमन्त्री मन्त्रालय सम्हालेको ५० दिनसम्म पनि अध्ययनमा नै रहेकाले केही काम हुन नसकेको बताए। उनले मन्त्रीहरु ५० दिनसम्म अध्ययन मात्रै गरेर बस्दा प्रधानमन्त्रीले सोचे जस्तो काम हुन नसकेको उल्लेख गरे।

उनले सरकार गठन भएको एक महिना भन्दा बढी हुँदा पनि सरकारका मन्त्रीहरुले भने जस्तो काम गर्न सकेको स्वीकार गरे। उनले सबै मन्त्रीहरुले समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए।  

उनले भने,‘सरकार अहिले पनि रफ्तार समाउन सकेको छैन। सरकार गठन भएको एक महिना भन्दा बढी हुँदा पनि सरकारका मन्त्रीहरुले भने जस्तो काम गर्न सकेका छैनन्। सबै मन्त्रीहरुले समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता छ। पर्यटन क्षेत्रले नै मुलुकमा युवाहरुलाई रोक्न सक्छ।’

उनले पछिल्लो समय विदेश पलायन भइरहेका युवालाई रोक्नको लागि पर्यटन क्षेत्रको विकास आवश्यक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad