कारोबार


घरजग्गा कारोबार र गाडी व्यापारसँग कसरी जोडिन्छ सेयरबजार?

घरजग्गा कारोबार र गाडी व्यापारसँग कसरी जोडिन्छ सेयरबजार?

सेयरबजार, घरजग्गा र अटोमोबाइल्सको सांकेतिक डिजाइन (एआईको सहयोगमा)


वसन्त अर्याल
भदौ २०, २०८१ बिहिबार ८:३२, काठमाडौँ

नेपालमा सेयरबजार, घरजग्गा र अटोमोबाइल्सलाई अनुत्पादक क्षेत्रका रुपमा हेरिन्छ। अर्थतन्त्र शिथिल हुँदा सरकारले पनि यिनै ३ क्षेत्रलाई कडाइ गर्छ। बैंकमा पर्याप्त तरलता हुँदा खुकुलो बनाउँछ।

राष्ट्र बैंकले गत आर्थिक वर्षमा मौद्रिक नीतिमा घरजग्गामा ऋण लगानी गर्न सहज बनायो भने चालू आर्थिक वर्षको मौद्रिक नीतिले सेयरबजारमा संस्थागततर्फ २० करोडको क्यापलाई हटायो। पछिल्लो ६–७ महिनामा घरजग्गा र सेयरबजारप्रति खुकुलो नीति अवलम्बन गर्दै गएको छ। 

अटो क्षेत्रमा प्रवाह हुने हायर पर्चेज कर्जामा जोखिमभार १५० प्रतिशतसम्म लगाउँदै आएकोमा गत वर्ष मौद्रिक नीतिमार्फत घटिसकेको छ।

यो वर्ष अटो बजारमा थप सहुलियत नदिए पनि विद्युतीय गाडीमा ८० प्रतिशत कर्जा दिन पाउने व्यवस्था गरिएको छ। यसले बजार चलायमान हुन सहयोग नै गरेको छ।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनी

सेयरबजारको उछालले घरजग्गा र गाडी व्यापार बढ्छ? 
साउनयता सेयरबजारमा उछाल आएसँगै धेरैले अब घरजग्गा र गाडी खरिदबिक्री पनि बढ्ने आकलन गरेका छन्। तर सरकारी वा निजी क्षेत्रबाट यसबारे खासै अध्ययन भेटिँदैन। 

करिब ३ वर्ष सेयरबजारको सूचक नेप्से २ हजार विन्दुआसपासमा रहेपछि पछिल्लो समय ३ हजारसम्म पुगेको छ। दैनिक २५ देखि ३० अर्ब रुपैयाँको कीर्तिमानी कारोबार भएको छ। यसले चालू आर्थिक वर्षमा गाडी र घरजग्गाको कारोबार बढ्ने व्यवसायीले तर्क गरेका छन्। 

करिब २ महिना सेयरबजारमा भएको ठूलो कारोबारको प्रभाव अटो बजार र घरजग्गामा पर्ने सम्बन्धित क्षेत्रका व्यवसायी बताउँछन्। 

विगत २ वर्षको तथ्यांक हेर्दा घरजग्गा र अटो बजारमा गिरावट आएको छ। चालू आर्थिक वर्षको सुरुमै सेयरबजारमा अर्बौँको कारोबार भएकाले दशैँसम्म गाडीलगायतका उपभोग्य वस्तुको बजार बढ्ने अनुमान छ भने चाडपर्वपछि घरजग्गाको कारोबार विगतका वर्षको तुलनामा बढ्ने व्यवसायीको आकलन छ। 

गाडी तथा पार्टस बिक्रेताहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले ६ दिनसम्म गरेको अटो सो (भदौ ११–१६)मा चारपांग्रे गाडी मात्रै ३८ सय बढी बुकिङ भएको व्यवसायीले दाबी गरेका छन्। गत वर्ष ७५ हजार अवलोकनकर्ता पुगेकोमा अहिले ८२ हजार बढी पुगेका छन्। व्यवसायीले यसले समग्र अर्थतन्त्र नै चलायमान बनाउन सहयोग पुग्ने देखिएको बताएका छन्। 

‘नाडा अटो सोले दशैँको बजार सुरु भएको इंगित गरेको छ’, नाडा अध्यक्ष करण चौधरी भन्छन्, ‘व्यवसायीहरुको अनुहारमा खुसी दिएको छ।’

अटो व्यवसायी तथा नाडाका निवर्तमान अध्यक्ष ध्रुव थापा

व्यवसायीको मिश्रित मत
सेयरबजार बढ्दा अटोबजारमा प्रभाव पर्छ त? सकारात्मक प्रभाव परे पनि सेयरबजारअनुसार नै अटोबजार भने नबढ्ने व्यवसायी बताउँछन्। 

नाडाका निवर्तमान अध्यक्ष ध्रुव थापा सेयरबजार र घरजग्गामा कारोबार बढ्दाको वर्ष अटो बजार बढ्ने गरेको बताउँछन्। 

‘सेयरबजारबाट गरेको आम्दानी नेपालीले मुख्यतः घर र गाडी खरिद गर्नमै प्रयोग भएको देखिन्छ’, थापा भन्छन्, ‘सेयरबजार बढेका वर्ष तुलनात्मक रुपमा गाडीको व्यापार बढेकै देखिन्छ।’

नेपालको अर्थतन्त्र घरजग्गा, अटो र सेयरबजारमा चक्रको रुपमा देखिएको बताउँछन्। अटो बजारमा गिरावट आएको वर्ष सेयरबजार र घरजग्गा क्षेत्रमा पनि राम्रो भएको नदेखिने उनी बताउँछन्। 

अर्का अटो व्यवसायी तथा नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा सेयर बजारले अटो क्षेत्रमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्ने सुनाउँछन्।  

‘सेयर बढेको समयमा कतिले कमाउँछन्। धेरैले कमाए त त्यसपछि गाडी किन्ला’, गोल्छा भन्छन्, ‘तर सेयर सधैँ त बढ्दैन। धेरैले बजारमा पैसा फसाउँछन्। गाडी खरिद गर्ने पैसा पनि त सेयरमै रोकिन्छ।’

सेयर बजारको नाफा तत्काल घरजग्गामा नगए पनि केही महिनापछि जाने गरेको व्यवसायीको दाबी छ। नेपाल जग्गा विकास तथा आवास महासंघका अध्यक्ष भेषराज लोहनी सेयरबजार बढ्दाको प्रभाव घरजग्गामा पनि देखिने बताउँछन्। 

‘सेयरबजार जसरी बढ्छ, त्यहीअनुसार त घरजग्गा कारोबार वृद्धि हुँदैन’, लोहनी भन्छन्, ‘तर सेयरको सूचक उच्च हुँदा घरजग्गा कारोबारमा अन्य वर्षको तुलनामा बढी नै देखिन्छ।’

सेयरबजार बढ्दाबित्तिकै नभई केही महिनापछि कारोबार बढ्ने गरेको उनको भनाइ छ। 

जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमला सेयरबजार एउटा विन्दुमा पुगेपछि थप लगानी नहुने भएकाले सेयरबजारको कारोबार घरजग्गातर्फ ‘सिफ्ट’ हुने बताउँछन्। 

‘सेयरबजार र घरजग्गा कारोबार रिलेटेड (सम्बन्धित) नै हुन्छ। सेयरबजार उच्च विन्दुमा पुग्दाको वर्ष घरजग्गा कारोबार बढ्छ’, धमला भन्छन्, ‘अहिले सेयरबजार बढे मंसिरबाट घरजग्गाको कारोबारमा धेरै वृद्धि हुने देखिन्छ।’

चालू आर्थिक वर्षको साउनमै विगतका वर्षको तुलनामा कारोबार वृद्धि भएको छ। जग्गा वर्गीकरण नगर्दा कतिपय पालिकामा कारोबार हुन नपाउँदा पनि बढेको छ। राष्ट्र बैंकको खुकुलो नीति र बैंकहरुको ब्याजदरले समेत घरजग्गा खरिद गर्न सहज भएको व्यवसायी बताउँछन्।

सेयरबजार विश्लेषक अनलराज भट्टराई र पूर्वअर्थसचिव रामेश्वर खनाल

विज्ञ भन्छन्– सेयरबजार, घरजग्गा र अटोबीच ‘चक्रीय सम्बन्ध’ 
भूमि व्यवस्था मन्त्रालयका अधिकारीहरुले सेयर बजार, अटो बजार र घरजग्गालाई एउटा चक्रका रुपमा हेर्ने गरेका छन्। 

‘वर्षातको समयमा घरजग्गा कारोबार कम हुन्छ। लगानीकर्ता सेयर बजारतर्फ ध्यान दिन्छन्’, करिब एक दशक भूमि व्यवस्था मन्त्रालयमा बिताइसकेका एक अधिकारी सुनाउँछन्, ‘साउन, भदौ, असोजमा सेयरबाट गरेको आम्दानी चाडपर्वको खर्चसहित सवारी साधनमा लगानी गर्छन्। मंसिरपछि लगानीकर्ता जग्गातिर मोडिन्छन्।’

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक हेर्दा मंसिरदेखि जेठ महिनासम्म घरजग्गा कारोबार हुने गरेको देखिन्छ। अटो व्यवसायीका अनुसार गाडीको ६० प्रतिशत व्यापार तीजदेखि छठ पर्वसम्म बढी हुने गर्छ। 

पूर्वअर्थसचिव रामेश्वर खनालको विश्लेषण पनि यही चक्रसँग मिल्छ। 

खनाल सेयरबजार र घरजग्गाको सम्बन्ध विपरीत प्रकृतिको हुने सुनाउँछन्। सेयर बजार बढ्दाको समयमा घरजग्गा कारोबार घट्ने उनको भनाइ छ। 

‘बजारमा खेलाउने पैसा एउटै हो। कता लगानी गर्दा नाफा हुन्छ, त्यतातर्फ बढ्छ’, खनाल भन्छन्, ‘घरजग्गामा गरेको लगानी बढ्न सकेन। तर सेयर बजार बढ्दै छ भने लगानी सिफ्ट हुन्छ।’

उनले नेपालमा मात्र नभई विश्वभर स्टकको पैसा रियलस्टेट र रियल स्टेटको पैसा सेयर बजारमा लगानी भइरहेको देखिने बताए। पैसा एकै ठाउँमा नथुप्रिएर चलायमान हुँदा समग्र अर्थतन्त्रमा प्रभाव पार्ने बताउँछन्। 

‘अहिले सेयर बजार बढेको छ। जब सेयर बजार घट्न थाल्छ अधिकांश रियल स्टेट तर्फ लाग्छन्’, उनले भने, ‘फेरि सेयरबजार बढ्दा जग्गा बेचेर स्टक मार्केटमा छिर्छन्।’

खनालले सेयर बजारबाट प्रोफिट बुक गरेका केहीले गाडी अपग्रेड गर्ने बताए। 

‘अहिले नाडा अटो सोमा करिब १५ अर्ब रुपैयाँको गाडी बुकिङ भएको भनिएको छ। अब ती गाडी खरिद गर्न अधिकांशले सेयरको प्रोफिट नै प्रयोग गर्छन्’, उनले भने।

अर्थविद् तथा सेयरबजारका जानकार अनलराज भट्टराई सेयरबजारबाट कमाएको नाफा घरजग्गा र अटो बजारमा मात्रै नजाने बताउँछन्। सेयर बजार कम हुँदा पनि अटो बजार र घरजग्गाको कारोबार राम्रै हुने गरेको उनी बताउँछन्। 

‘सेयर बजारमा धेरै कारोबार हुँदा बजारका अन्य क्षेत्रमा पनि कारोबार बढ्छ’, भट्टराई भन्छन्, ‘मानिसले पैसा दैनिक खेलाउन थाल्यो भने लगानी र आम्दानी हुन्छ। बजारको चक्रमा घरजग्गा र अटो पनि पर्छन्।’

एउटा जग्गा खरिद गर्नको लागि सेयरबजारमा करोडौँ लगानी गर्नुपर्ने भट्टराईको भनाइ छ। 

‘एक करोडविना त कहीँ पनि घर किन्न सकिँदैन। छोटो समयमा एक करोड नाफा कमाउन १० करोड लगानी गर्नुपर्छ’, उनी भन्छन्, ‘१० करोड लगानी गर्नसक्ने मानिस घरजग्गा खरिद गर्न सेयरको आम्दानी कुरेर बस्दैन।’

३२ सय अंक पुग्दा अटो र घरजग्गा दुवै कारोबारमा वृद्धि
पछिल्लो १० वर्षको तथ्यांक हेर्दा सेयरबजारमा अहिलेसहित ३ पटक उच्च कारोबार भएको छ। सेयरबजार बढ्दा त्यसको प्रभाव घरजग्गा र अटो बजारमा पर्छ कि पर्दैन त? 

सेयरबजार बढेको वर्ष, त्यसअघिको वर्ष र त्यसपछिको आर्थिक वर्षको तथ्यांक केलाऔँ–

३ वर्षअघि अर्थात् २०७८ भदौ ३ मा सेयरबजार परिसूचक नेप्से ३२०८ विन्दुमा पुग्यो। उक्त दिन २० अर्ब ४९ करोड रुपैयाँ कारोबार भयो।

त्यसको अघिल्लो दिन भदौ २ मा २१ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको थियो। जुन उक्त समयको कीर्तिमानी कारोबार थियो। २०७७ मंसिरदेखि २०७८ भदौ महिनासम्म सेयर कारोबार बढिरहेको थियो। यसो हुँदा आर्थिक वर्ष २०७७/०७८ मा कुल सेयर कारोबार १४ खर्ब ५४ अर्ब रुपैयाँको भएको थियो। 

सेयरबजार बढेको आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा गाडी तथा तिनका पार्टस आयात झण्डै खर्ब रुपैयाँ हाराहारीमा पुगेको देखिन्छ।

गाडी र तिनका पार्टस मात्रै ९९ अर्ब ४२ करोड रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। यो वर्ष अघिल्लो वर्षको तुलनामा सेयर कारोबार कम अर्थात् १२ खर्ब २ अर्बको भएको छ। अर्थात् यो वर्षको भदौसम्म बजार बढे पनि त्यसपछि बाँकी समय बजार नबढेकाले कारोबारमा केही कमी आएको थियो। 

उक्त वर्ष पेट्रोल डिजेलका गाडी मात्रै १५ हजार वटा नेपाल भित्रिए। विद्युतीय १८ सय ७ वटा र पेट्रोल इन्जिनका २ पांग्रे २ लाख ७८ हजार वटा आयात भए। 

त्यसअघिको आर्थिक वर्ष २०७७/०७८ मा कुल गाडीको आयात ९७ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो। त्यसमा चारपांग्रे गाडी १५ हजार ५३ र दुईपांग्रे ३ लाख ५३ हजार भित्रिए। नेपालको इतिहासमै सर्वाधिक दुईपांग्रेको कारोबार भएको थियो। 

व्यवसायीहरु आर्थिक वर्ष २०७६/०७७ मा कोभिड महामारीका कारण बिक्रीको कमी र सार्वजनिक यातायातमा सवारी गर्दा कोभिड फैलिने डरले दुईपांग्रेको बिक्री ह्वात्तै बढेको मान्छन्। 

सेयरबजार घटेको आव २०७९/८० मा पेट्रोल डिजेलका गाडी २ हजार ६३ वटा मात्रै भित्रिए। विद्युतीय गाडीको संख्या भने यो वर्ष बढेर ४ हजार ५० पुग्यो। तर वार्षिक १५ हजार वटा बढी कारोबार हुने बजार एक्कासि घट्यो। यो वर्ष कुल ५१ अर्ब ९६ करोडको गाडी आयात भएको थियो। 

सरकारले वैदेशिक मुद्रा सञ्चितिमा चाप परेको भन्दै मंसिरसम्म गाडी आयातमा प्रतिबन्ध लगाएको थियो। दुईपांग्रेको १५० सीसीसम्म भने  ल्याउन छुट दिइएको थियो। यो वर्ष एक तिहाइ मात्रै अर्थात् १ लाख ४ हजार वटा मात्रै मोटरसाइकल आयात भए। 

यो वर्ष अर्थात् २०७९/८० मा सेयरबजार घट्दा ४ खर्ब ६७ अर्बको मात्रै सेयर कारोबार भएको छ। 

यता घरजग्गा कारोबारतर्फ आर्थिक वर्ष २०७८/०७९ मा ६३ अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। राजस्व बढी हुँदाको वर्ष कुल कारोबार १८ लाख २४ हजार वटा भयो। रजिस्ट्रेसन दस्तुरबाट ३५ अर्ब २२ करोड राजस्व संकलन भएको थियो। 

त्यसअघिको आर्थिक वर्ष २०७७/०७८ मा ४८ अर्ब २७ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। उक्त वर्ष ९ लाख ४ हजार लिखित पारित भयो। यसरी सो वर्ष कुल कारोबार १७ लाख २९ हजार भए। रजिस्ट्रेसनबाट २८ अर्ब ४ करोड राजस्व संकलन भएको थियो। 

सेयरबजारमा पुनः गिरावट आएको वर्ष आर्थिक वर्ष २०७९/०८० मा घरजग्गा कारोबारबाट ३६ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ। यो वर्ष घटेर १३ लाख ३६ हजार वटा कुल कारोबार भयो।

सरकारले भूउपयोग नियमावलीमार्फत जग्गा वर्गीकरण नहुँदा कित्ताकाट रोकिएको र समग्र अर्थतन्त्रमा नै गिरावट आएकाले सो वर्ष कारोबार घटेको व्यवसायी बताउँछन्। रजिस्ट्रेसनबाट उठ्ने राजस्व यो वर्ष १९ अर्ब ३५ करोड रुपैयाँ उठेको छ।

  २०७७/०७८ २०७८/०७९ २०७९/०८०
गाडी आयात (रु) ९७ अर्ब ३७ करोड ९९ अर्ब ४२ करोड ५१ अर्ब ९६ करोड
घरजग्गा राजस्व (रु) ४८ अर्ब २७ करोड ६३ अर्ब ५२ करोड ३६ अर्ब १८ करोड
सेयर कारोबार (रु) १४ खर्ब ५४ अर्ब १२ खर्ब २ अर्ब ४ खर्ब ६७ अर्ब

२०७३ को ‘बुल’मा कस्तो थियो घरजग्गा र अटो बजार?
२०७३ साउन १३ गते नेप्से १८८१ विन्दुमा पुगेको थियो। उक्त दिन २ अर्ब १० करोड रुपैयाँको कारोबार भएको थियो। त्यसको १२ दिनपछि साउन २५ गते २ अर्ब ९४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

२०७३ को असारदेखि कात्तिकसम्म अधिकांश कारोबार दिन अर्ब बढीको कारोबार भएको थियो। त्यसको करिब ४ वर्षमा केही दिन मात्रै अर्ब बढीको कारोबार भएको तथ्यांकले देखाउँछ। 

आर्थिक वर्ष २०७३/०७४ मा घरजग्गातर्फ ९ लाख ८४ हजार लिखित पारित भएका छन्। अघि र पछिको वर्षको तुलनामा लिखित पारित अर्थात् नयाँ जग्गा खरिदबिक्री बढी भएको देखिन्छ। त्यसअघिको आर्थिक वर्ष २०७२/०७३ मा ८ लाख ३२ हजार लिखित पारित भएका थिए। कुल राजस्व संकलन १६ अर्ब २२ करोड रुपैयाँ संकलन भएको भूमि व्यवस्था विभागको प्रतिवेदनमा उल्लेख गरिएको छ।

उक्त वर्ष रजिस्ट्रेसन शुल्कबापत १४ अर्ब ६६ करोड रुपैयाँ संकलन भएको छ। आर्थिक वर्ष २०७४/०७५ मा कुल घरजग्गा कारोबार ८ लाख ७५ हजार वटा हुँदा ४७ अर्ब ६ करोड राजस्व संकलन भयो। ३ वर्षको लिखित पारितलाई तुलना गर्दा कारोबार बढेकै देखिन्छ। 

१८ सयको बुल पार गर्दाको वर्ष गाडी तथा तिनका पार्टस्को आयात ७९ अर्ब ५० करोड बराबरको छ। उक्त वर्ष चारपांग्रे गाडी मात्रै १८ हजार ७१४ वटा बिक्री भएका छन्। उक्त वर्ष २ पांग्रे २ लाख ४५ हजार वटा भित्रिएका थिए। 

त्यसअघि आर्थिक वर्ष २०७२/०७३ मा गाडी तथा पार्टसको कुल आयात ६६ अर्ब २० करोड रुपैयाँबराबरको थियो। उक्त वर्ष १२ हजार ३३१ चारपांग्रे र २ लाख १९ हजार मोटरसाइकल भित्रिएका थिए।  

सेयर बजार फेरि घट्दा आर्थिक वर्ष २०७४/०७५ मा कुल गाडीको आयात ८६ अर्ब ३१ करोड रुपैयाँको देखिन्छ। १७ हजार ६९९ चारपांग्रे भित्रिएका थिए। मोटरसाइकल २ लाख ५८ हजार भित्रिएका थिए। 

समग्रमा ३ वर्षको हेर्दा गाडी आयातको हिसाबले हेर्दा कारोबारकै वर्ष धेरै भित्रिएका छन्। तर समग्र आयातमा भने ०७४/०७५ मा बढी देखिन्छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad