कारोबार


दुई महिनामै निर्यात भयो ७ अर्ब ५५ करोड रुपैयाँको बिजुली

दुई महिनामै निर्यात भयो ७ अर्ब ५५ करोड रुपैयाँको बिजुली

फाइल तस्बिर


नेपालखबर
असोज २३, २०८१ बुधबार १४:४९, काठमाडौँ

चालू आर्थिक वर्ष २०८१/८२को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ।

नेपाल विद्युत प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ। प्राधिकरणले साउनमा ३ अर्ब ९९ करोड ५६ लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ। भदौमा ३ अर्ब ५५ करोड ५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ।

साउनमा ४९ करोड २८ लाख ६१ हजार युनिट भारतर्फ निर्यात गरिएको थियो। भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत् निर्यात गरिएको छ। दुई महिनाको विद्युत् निर्यातको औसत दर प्रतियुनिट ७ रुपैयाँ ३३ पैसा रहेको छ। साउनको प्रति युनिट औसत दर ८ रुपैयाँ ११ पैसा थियो भने भदौमा ६ रुपैयाँ ६२ पैसा रहेको छ।

भदौको तेस्रो साता (१६–२३ गते) मा सबैभन्दा बढी ९९ करोड ५५ लाख रुपैयाँको विद्युत् निर्यात भएको छ। सबैभन्दा कम भदौको दोस्रो हप्ता (९–१५ गते)मा ६९ करोड ८ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ। त्यसैले चालू आवको दुई महिनामा ४ अर्ब ७१ करोड ६३ लाख भारुको विद्युत् बिक्री भएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत केन्द्रहरु र प्रसारण लाइनमा क्षतिपुग्दा हाल विद्युत् निर्यात प्रभावित भइरहेको बताए।

‘चालू आवमा करिब ३० अर्ब रुपैयाँको विद्युत् निर्यात लक्ष्य राखेका थियौं, बाढीपहिरोले जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पुर्‍याउँदा विद्युत् उत्पादन नै बन्द भई लक्ष्य प्रभावित हुने देखिएको छ’, कार्यकारी निर्देशक घिसिङले भने।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ।

प्राधिकरणले हालसम्म प्रतिश्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरुबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ। बाढीबहिरोभन्दा पहिले दैनिक रुपमा नौ सय मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेको थियो। अहिले दैनिक रुपमा डेढ सय मेगावाटको हाराहारीमा मात्र निर्यात भइरहेको छ। बाढीपहिरो कारण सञ्चालमा रहेको सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित करिब ७५० मेगावाट विद्युत् उत्पादन बन्द छ।

गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत आयात गरिएको थियो। यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो। गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad