ठूलो पुँजीसहितका वाणिज्य बैंकहरुलाई पछि पार्दै स्थानीयस्तरका विकास बैंकहरुमा लगानीकर्ताको भीड लाग्न थालेको छ।
वित्तीय रुपमा सबलभन्दा पनि कमजोर विकास बैंकको सेयरमा लगानीकर्ता झुम्मिन थालेका हुन्।
पछिल्लो १३ कारोबार दिनमा स्थानीयस्तरका विकास बैंकको मात्रै अधिकतम ४६ प्रतिशतसम्मले सेयरमूल्य बढेको छ। यता राष्ट्रियस्तरका विकास बैंकको सेयरमूल्यमा अधिकतम ४ प्रतिशतसम्मको मात्र वृद्धि देखिँदा वाणिज्य बैंकहरुको भने सबै मूल्य घटेर राताम्मे बनेका छन्।
यो अवधिमा वाणिज्य बैंकहरुको अधिकतम ११.४६ प्रतिशतसम्मले मूल्य घटेको छ।
लगानीकर्ता वित्तीय स्थिति हेरेर भन्दा कारोबार र मूल्यवृद्धिको अवस्था हेरेर लगानीको रणनीति तय गरिरहेको देखिन्छ। जसले गर्दा खराब वित्तीय अवस्था भएका विकास बैंकको पनि सर्किट लागेर मूल्यगत रुपमा बढ्न पुगेको छ।
नेपाल राष्ट्र बैंकले खराब कर्जा ४१ प्रतिशतमाथि पुगेको भन्दै कारबाही गरेकै दिनदेखि कर्णाली विकास बैंकको सेयरमा निरन्तर १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट नै लाग्न पुग्यो। राष्ट्र बैंकले खराबकर्जाका कारण कर्जा दिन र लिन दुवै नसक्ने निष्कर्षसहित सुधारका लागि ६ महिनाको समय दिएर कारबाही गरेको थियो। तर लगानीकर्ताले सोही कम्पनीलाई सोही दिन नै खरिद चाप बढाउँदा मूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लाग्न पुग्यो।
पछिल्लो १३ कारोबार दिनमा यो कम्पनीको सेयरमा लगातार ४ दिन सर्किट लागेर ४० प्रतिशतको वृद्धि लिन पुग्यो। यद्यपि पछिल्लो तीन दिनबाट वृद्धिको गति सुस्त हुँदा समग्रमा यो कम्पनीको वृद्धि ११ प्रतिशतमा ओर्लिन पुग्यो। तर बजारमा सो कम्पनीको सेयर कारोबारमा अझै बढ्ने लयमै देखिन्छ। कारोबारलाई आधार मान्ने हो भने पनि लगानीकर्ता सेयर किन्ने मनसायमै देखिन्छन्।
यता वित्तीय अवस्था ऋणात्मक रहेको नारायणी विकास बैंकको सेयरमा पनि २७.८५ प्रतिशतको वृद्धि देखियो। जबकि यो कम्पनीको नाफा ४८ लाख रुपैयाँले ऋणात्मक छ। यस्तै प्रतिसेयर आम्दानी पनि १.८५ रुपैयाँले ऋणात्मक छ भने नेटवर्थ पनि २३.८८ रुपैयाँ मात्रै छ। यो बैंकले गत वर्षको मुनाफाबाट लगानीकर्तालाई लाभांश पनि बाँडेको छैन। तर पछिल्लो १३ दिनको कारोबार दिनमै बैंकको मूल्यमा २७ प्रतिशतले वृद्धि देखिएको हो।
यस्तै स्थानीयस्तरको विकास बैंकहरुमा सबैभन्दा धेरै बढ्नेमा सप्तकोशी बैंक पनि अगाडि देखिन्छ। पछिल्लो १३ कारोबार दिनमा यो बैंकको सेयरमूल्यमा ३९.८२ प्रतिशतले वृद्धि देखिएको हो। यो बैंकको पनि पहिलो त्रैमासको वित्तीय विवरणमा नाफा र प्रतिसेयर आम्दानी दुवै ऋणात्मक नै देखिन्छ। पहिलो त्रैमासमा बैंकको ८ करोड ७७ लाख रुपैयाँले नाफा ऋणात्मक छ भने प्रतिसेयर आम्दानी पनि ४२.०९ रुपैयाँले ऋणात्मक छ। नेटवर्थ पनि ७० रुपैयाँ रहेको हो।
२१.३७ प्रतिशतले मूल्य बढेको ग्रिन डेभलपमेन्ट बैंकको पनि वित्तीय अवस्था राम्रो छैन। बैंकले सार्वजनिक गरेका पहिलो त्रैमासको वित्तीय विवरणमा बैंकको नाफा १ करोड ५६ लाख रुपैयाँले ऋणात्मक छ भने प्रतिसेयर आम्दानी पनि २.९१ रुपैयाँले ऋणात्मक छ।
गत आर्थिक वर्षमा १ करोड ६४ लाख रुपैयाँ नाफा कमाउनुका साथै प्रतिसेयर आम्दानी पनि ३.१८ रुपैयाँ रहेको यो बैंकको चालू आवको प्रथम त्रैमासमा भने वित्तीय अवस्था खस्किन पुगेको हो। वित्तीय अवस्था खस्किए पनि पछिल्लो १३ कारोबार दिनमा बैंकको सेयरमूल्यमा उच्चवृद्धि देखिन पुग्यो।
यस्तै एक्सेल डेभलपमेन्ट बैंकको पनि वित्तीय अवस्थामा कमजोर नै छ। पहिलो त्रैमासमा यसको नाफामात्रै ऋणात्मक छैन प्रतिसेयर आम्दानी पनि ऋणात्मक देखिएको हो।
योबाहेकका केही स्थानीय स्तरका विकास बैंकको भने मूल्यवृद्धि र वित्तीय अवस्था दुवै सबल छन्। पछिल्लो १३ कारोबारबाट ४६ प्रतिशतसम्म मूल्य बढाउन सफल कर्पोरेट विकास बैंकले पहिलो त्रैमासमा २१ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको छ भने प्रतिसेयर आम्दानी १.६५ रुपैयाँ छ। यस्तै प्रतिसेयर नेटवर्थ पनि यसको १४३.४७ रुपैयाँ रहेको हो। यो कम्पनीको सेयरमूल्यमा १३ दिनमा कित्तामै ५४२ रुपैयाँले बढेको हो।
योबाहेक मितेर विकास बैंकको १२.९४ प्रतिशतले मूल्य बढेको छ। यो बैंकको पनि वित्तीय अवस्था राम्रै छ।
यसैको तुलनामा राष्ट्रिय स्तरका विकास बैंकको भने नाफा र सेयरमूल्यबीच फराकिलो अन्तर देखिन्छ। पहिलो त्रैमासमा नाफा कमाउने राष्ट्रियस्तरका आठवटै विकास बैंकको मूल्यवृद्धि भने स्थानीयस्तरका विकास बैंकसरह छैनन्।
‘जोखिमपूर्ण अवस्था’
सेयर लगानीकर्ता तथा इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार घाटामै गए पनि साना आकारको सेयर भएका कम्पनीहरुमा लगानीकर्ताको चाप बढेको तर्क गर्छन्।
‘वित्तीय अवस्था नकारात्मक नै भए पनि अहिले सर्वसाधारणको सेयरसंख्या थोरै भएका कम्पनीहरुमा लगानीकर्ताले प्राथामिकताका साथ लगानी गरिरहेका छन्। यो एकदमै जोखिमपूर्ण अवस्था हो’, उनले भने।
त्यसो त सेयरसंख्याका आधारमा वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंकभन्दा स्थानीयस्तरका विकास बैंकहरुको हिस्सा सानो छ। यसका कारण पनि पछिल्लो समय वित्तीय अवस्थालाई बेवास्ता गर्दै लगानीकर्ता साधारण सेयर थोरै भएका कम्पनीहरुको सेयर किन्न हारालुछ गरिरहेका हुन्।
रौनियार नियामकले काराबाही गर्दागर्दै पनि हौसिएर सेयर किन्ने जमात बढ्नु समग्र बजारका लागि जोखिमपूर्ण हुने बताउँछन्।
नवप्रवेशीदेखि छोटो प्रतिफल आर्जनको उद्देश्य लिएर बजार पस्नेहरुमा कम्पनीको वासलातलाई बेवास्ता गर्ने प्रवृत्ति मौलाएको उनको बुझाइ छ। कारोबारी लागनीकर्ताले वित्तीय अवस्था खराब भएकै कम्पनीको मूल्य बढाउँदा नाफा कामाउने लोभले बजारमा पसेका साना लगानीकर्ता फस्ने सम्भावना बढाएको उनको तर्क छ।
‘अन्तर्राष्ट्रिय बजारमा कम्पनीहरुमा लगानी गर्दा फन्डामेन्टल अवस्था हेरेर लगानी गरिन्छ। यहाँ भने जुन कम्पनी करबाहीमा पर्छ जुन कम्पनीको वासलात खराब आउँछ। त्यो कम्पनीमा लगानीकर्ता झुम्मिने लाखौँ रकम खन्याउने गलत परिपाटी देखिन थालेको छ’, उनी थप्छन्।
त्यसो त लगानीकर्ताले यी कम्पनीहरुमा मात्रै वित्तीय अवस्था बेवास्ता भने गरेका छैनन्। नेप्सेमा सूचीकृत दर्जन बढी कम्पनीहरु वित्तीय अवस्था कमजोर भई लगानीका लागि धराप अवस्थामा छन् र पनि ती कम्पनीहरुको मूल्यमा निरन्तर बढ्दो क्रममा देखिन्छ।
पछिल्लो समय संस्थापक सेयर थपिएर पुँजीका आधारमा सबैभन्दा ठूलो बनेको व्यापार समूहको विशालबजार कम्पनी पनि ज्वलन्त उदाहरण हो। वित्तीय विवरण पनि प्रकाशन नगर्ने विशालबजार कम्पनी घाटामा छ भने लाभांश पनि लगानीकर्ताले पाउने अवस्थामा छैन।
यस्तो अवस्थामा पछिल्लो १३ कारोबारमै कम्पनीको कित्तामै करिब ३ हजार रुपैयाँसम्मले मूल्य बढ्न पुगेको छ।
Shares

प्रतिक्रिया