कारोबार


महासंघ अध्यक्ष भन्छन्– दक्षिण एसियाले आफ्नो व्यापार नीति पुनर्विचार गर्नुपर्छ

महासंघ अध्यक्ष भन्छन्– दक्षिण एसियाले आफ्नो व्यापार नीति पुनर्विचार गर्नुपर्छ

नेपालखबर
मंसिर २८, २०८१ शुक्रबार १७:१३, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एसियाले आफ्नो व्यापार नीतिहरू पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन्। 

यसले कमजोर क्षेत्रहरूको संरक्षण गर्दै हरित र समावेशी विकासलाई प्रोत्साहन गर्नुपर्ने ढकालले जोड दिए।

शुक्रबार सम्पन्न १५औँ दक्षिण एशियाली आर्थिक शिखर सम्मेलनको समापन समारोहमा बोल्दै ढकालले दक्षिण एसिया संसारकै तीव्र आर्थिक वृद्धिका क्षेत्रहरूमध्ये एक भए पनि व्यापार र लगानी प्रवाहका हिसाबले सबैभन्दा कम जोडिएको क्षेत्र रहेको बताए।

उनले क्षेत्रीय आर्थिक एकीकरणका लागि पछिल्लो दशकमा ठोस प्रगति नभएको जानकारी गराउँदै यस क्षेत्रमा घरेलु उद्योगहरूमा दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गतको न्यून भन्सार महसुलले महत्त्वपूर्ण दबाब सिर्जना गरेको औँल्याए। 

विशेष गरी नेपाल जस्ता साना अर्थतन्त्रहरूको स्थानीय उद्योगहरूको संरक्षण र प्रवर्द्धन गर्न गाह्रो परेको र छिमेकी देशका स्थापित क्षेत्रहरूसँग प्रतिस्पर्धा गर्नुपरेको ढकालले बताए।

ढकालले साफ्टाले दक्षिण एशियाली क्षेत्रभित्र व्यापार र लगानी प्रवर्द्धन गर्न सहयोग गर्नुपर्नेमा जोड दिए। उनले नेपालको जलविद्युत् जस्ता नवीकरणीय ऊर्जा क्षेत्रमा रहेको विशाल सम्भावनालाई उजागर गर्दै साझा ऊर्जा ग्रिडले सबै देशलाई स्वच्छ ऊर्जा स्रोतमा पहुँच प्रदान गर्न र जीवाश्म ईन्धनमा निर्भरता कम गर्न सहयोग गर्नसक्ने बताए।

अध्यक्ष ढकालले दक्षिण एसियाली क्षेत्रले जलवायु परिवर्तनको असर भोग्नुपरे पनि अनुकूलन र न्यूनीकरणका लागि स्रोत सीमित रहेको बताए। जलवायु योजना कार्यान्वयनका लागि २०३० सम्म वार्षिक २०० अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान रहेको उनले जानकारी गराए।

स्रोत परिचालनमा रहेको ठूलो अन्तरको चर्चा गर्दै ढकालले क्षेत्रीय सहकार्य र अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको र यसले न्यायसंगत हरित परिवर्तनलाई प्राप्त गर्न सहयोग पुर्याउने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad