कारोबार


युरोपेली स्वाद पस्किने पाँचतारे मर्क्युर, ११औँ तलामा बार र स्विमिङ पुल (भिडिओ/तस्बिर)

यस्तो छ सुकेधारामा ६ रोपनीमा बनेको ३ अर्बको होटल
युरोपेली स्वाद पस्किने पाँचतारे मर्क्युर, ११औँ तलामा बार र स्विमिङ पुल (भिडिओ/तस्बिर)

सन् २०२५ जनवरी १५ मा फ्रान्सेली ब्रान्डको पहिलो पाँचतारे होटल सञ्चालनमा आउँदै छ।


सरोज बैजु
पुस १७, २०८१ बुधबार ९:३३, काठमाडौँ

सन् २०२५ जनवरी १५ मा फ्रान्सेली ब्रान्डको पहिलो पाँचतारे होटल सञ्चालनमा आउँदै छ।

एबी होल्डिङ्सको लगानीमा सुकेधारा हाइटमा होटल सञ्चालनको सबै तयारी पूरा भएको हो। 

योसँगै आवासीय चर्चा बोकेको सुकेधारा आतिथ्य (हस्पिटालिटी)मा परिवर्तन हुँदै छ। अन्तर्राष्ट्रिय रुपमा चर्चित कुजिनसँगै इटालियन र इन्डियन स्वादलाई होटलले प्राथमिकता दिएको छ। 

एबी होल्डिङ्सअन्तर्गतको कम्पनी मेट्रोपोलिटियन होटलको व्यवस्थापन फ्रान्सको एकोर ग्रुपले लिएको छ।

‘हामीले होटलमा मात्रै लगानी गरेको होइन। सुकेधाराको स्वरुप नै बदलेका छौँ’, एबी होल्डिङ्सका अध्यक्ष देशबन्धु बस्नेतले भने, ‘होटल मात्रै बनाएनौँ, करिब १४० मिटर सार्वजनिक सडक, सुकेधाराको संरक्षण र ग्रिनरी बनाएका छौँ।’

बस्नेत अध्यक्ष रहेको एबी होल्डिङ्सले ३ वटा बैंकसँगको ऋण सहकार्यमा होटल खडा गरेको हो। मर्क्युर निर्माणमा ३ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको उनको भनाइ छ। 

‘होटलबाहेक बाहिरी सार्वजनिक संरचना बनाउँदा मात्रै ६ करोड बढी खर्च गरेका छौँ’, उनले थपे, ‘होटलको संरचनामा ३ अर्ब बढी खर्च भएको छ।’

११ तल्लाको भवनमा १०४ कोठा छन्। जसमध्ये १०औँ र ११औँ तल्लामा जिम, स्टिम, साउनालगायत फिटनेसका लागि छुट्याइएको छ। 

ग्राउन्ड फ्लोर इटालियन रेस्टुराँसहित ३ वटा फरक किचन छन्। पहिलो तल्लामा ४०० जना अट्ने ब्यान्क्वेट रहेको होटलमा स्विटसहित ४ प्रकारका रुम छन्।  

‘होटलको टपमा बसेर काठमाडौंको भ्यु हेर्दै खान सकिन्छ’, होटलका प्रोजेक्ट हेड जसवन्त सिंहले भने, ‘स्विमिङ पुलले पाहुनालाई छुट्टै आनन्द दिन्छ।’

सहरी सुविधा र सांस्कृतिक स्थलहरूसँगको निकटतालाई होटलले जोड्ने उनी बताउँछन्। 

हिन्दूहरुका आराध्य पशुपतिनाथको मन्दिरनजिकै तारे होटल निर्माण भएको छ।

मर्क्युर काठमाडौं होटलको विकासले यस क्षेत्रलाई पर्यटनको केन्द्रमा परिणत गर्दै रोजगारी सिर्जना गर्ने र भौतिक पूर्वाधार सुधार्ने बस्नेतको भनाइ छ। 

‘सुकेधारा क्षेत्रमा मात्रै ५ वटा पाँचतारे होटल निर्माण हुँदै छन्’, बस्नेतले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थलबाट सबैभन्दा नजिकमा यो होटल पर्छ। भित्री सहरको ट्राफिक झेल्नुपर्दैन।’

६ रोपनी क्षेत्रफलमा फैलिएको मर्क्युर काठमाडौं होटलले प्रत्यक्ष र अप्रत्यक्ष गरी १८० देखि २२० रोजगारी दिएको छ। होटलले स्थानीय जनशक्तिका लागि रोजगारी, सीप विकास र पेसागत वृद्धि गर्नेछ। 

एकोर ग्रुपको ‘मर्क्युर’ ब्रान्ड
एकोर ग्रुप फ्रान्सको आतिथ्य उद्योगमा विश्वव्यापी ब्रान्ड हो। यसका ११० देशहरूमा ५ हजार ५०० भन्दा बढी होटल सञ्चालनमा छन्। काठमाडौंमा मर्क्युरको होटल सञ्चालन हुँदा १११ देशमा फैलिएको छ। 

यसका लक्जरीदेखिका विभिन्न ब्रान्डहरूको समावेशी पोर्टफोलियो छ। पाहुनाहरुका लागि एकोरले विशिष्ट अनुभव प्रदान गर्नेछ। 

‘एकोर केवल आवासीय सेवामै सीमित छैन’, उनले भने, ‘संस्कृति, सम्पदा र पहिचानलाई प्रतिविम्बित गरेर अतिथिलाई फरक अनुभूति दिने गर्छ।’

एकोरका थुप्रै होटल ब्रान्ड छन्। मर्क्युर एकोर ग्रुपको एक चर्चित ब्रान्ड हो। यसका विश्वभरि हजारभन्दा बढी होटलहरू छन्।  

व्यवसायमा जमिरहेका इन्जिनियर
काठमाडौंसँगै इटहरीमा पाँचतारे होटल निर्माण गरेका देशबन्धु बस्नेत युवा व्यवसायी हुन्। 

काठमाडौंको होटल अंग्रेजी नयाँ वर्षबाट सुरु गर्दै छन् भने इटहरीमा नेपाली नयाँ वर्षबाट सञ्चालन गर्ने तयारीमा छन्। मनकामनामा ५२ कोठासहितको रिसोर्ट अघि बढाएका छन्। इन्जिनियरिङ अध्ययन गरे पनि उनी छोटो समयमै स्थापित व्यवसायी बनेका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य बस्नेत वायु तथा यातायात समितिका अध्यक्ष हुन्। नेपालमा जाम्बियाको मानार्थ कन्सुल समेत छन्। 

अध्यक्ष रहेको एबी होल्डिङ्स एक कन्ग्लोमेरेट संस्था हो। होल्डिङ्सले प्राथमिकताका क्षेत्रहरूमा आतिथ्य र पर्यटन, कृषि, स्वास्थ्य सेवा, उत्पादन, ऊर्जा, प्रविधि र शिक्षामा लगानी गरेको छ। 

‘हामीले विभिन्न क्षेत्रमा लगानीका सम्भाव्यता हेरिरहेका छौँ। अब खेल पर्यटनको सम्भावना छ’, उनी भन्छन्, ‘विदेश जाने ट्रेन्डको भाष्य मेटाउन यहाँ नै लगानी गरेर स्थापित हुँदै छौँ।’

तस्बिरमा हेर्नुहोस् पाँचतारे मर्क्युर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad