मुलुकको चालु खाता बचतमा रहेको छ भने विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुगेको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको विवरणअनुसार विप्रेषण आप्रवाहमा पनि उल्लेख्य सुधार भएको छ।
केन्द्रीय बैंका अनुसार, चालु खाता १ खर्ब ४० अर्ब ७१ करोडले बचतमा रहेको छ। यो गत वर्षभन्दा केही कम हो। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४१ अर्ब ३ करोडले बचतमा रहेको थियो।
यस अवधिमा खुद पुँजीगत ट्रान्सफर ३ अर्ब ५० करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब ८७ करोड थियो।
यसैगरी, गत मङ्सिर मसान्तसम्ममा ६ अर्ब ३ करोड प्रत्यक्ष वैदेशिक (इक्विटी मात्र) लगानी भित्रिएको छ। यो अंक गत वर्षभन्दा बढी हो।अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ३ अर्ब ९३ करोड रहेको थियो।
चालु आवको पाँच महिनामा शोधनान्तर स्थिति २ खर्ब २५ अर्ब ३४ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब १६ अर्ब पाँच करोडले बचतमा थियो।
गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पाँच महिनामा ११ दशमलव ४ प्रतिशतले वृद्धि भई २०८१ मङ्सिर मसान्तमा २२ खर्ब ७३ अर्ब २६ करोड पुगेको छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा समीक्षा अवधिमा ९ दशमलव ७ प्रतिशतले वृद्धि भई १६ अर्ब ७६ करोड डलर पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २० खर्ब ३३ अर्ब २७ करोड पुगेको छ भने राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ४० अर्ब कायम भएको छ।
गत मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव ८ प्रतिशत रहेको छ।
यस अवधिको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७ दशमलव ६ महिनाको वस्तु आयात र १४ दशमलव ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।
यसैगरी विप्रेषण आप्रवाह ४ दशमलव ४ प्रतिशतले वृद्धि भई ६ खर्ब ४० अर्ब ४३ करोड पुगेको छ।
५ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत/नयाँ) लिने नेपालीको संख्या १ लाख ९० हजार ३८४ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४२५ रहेको छ।
Shares

प्रतिक्रिया