कारोबार


पाथीभरामा केबलकार : कोसीको पर्यटनलाई विकाससँग जोड्ने ‘भाइब्रेन्ट’ परियोजना

पाथीभरामा केबलकार : कोसीको पर्यटनलाई विकाससँग जोड्ने ‘भाइब्रेन्ट’ परियोजना

नेपालखबर
माघ १५, २०८१ मंगलबार १८:२७, काठमाडौँ

पूर्वको पहाडी जिल्ला ताप्लेजुङस्थित धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण प्रक्रिया आगडि बढेको छ। माघ ८ गतेबाट केबलकार निर्माण सुरु भएसँगै स्थानीय एउटा समूहबाट विरोध पनि भइरहेको छ।

पाथीभरा क्षेत्रको धार्मिक, सांस्कृतिक, आर्थिक, सामाजिक तथा वातावरणीय पक्षको अध्ययनपछि निर्माण सुरु भए पनि विभिन्न स्वार्थसमूह यसको विरोधमा लागिपरेको हो।

तर ताप्लेजुङमा केबलकार निर्माण हुँदा स्थानीयलाई नै फाइदा हुने विज्ञहरुले बताएका छन्। पाथीभरा देवी मुकुम्लुङ केबलकार निर्माणमा भइरहेको विरोधले पर्यटन र आर्थिक विकासलाई नै अप्ठ्यारो पार्ने उनीहरुले उल्लेख गरेका हुन्।

जिल्लाका सबै राजनीतिक दलहरू, सांसदहरू, स्थानीय जनप्रतिनिधिहरू तथा स्थानीयवासी, सरकारी निकायसहित सुरक्षा निकाय समेतको सहयोग र समन्वयमा केबलकार निर्माणको काम अघि बढेको छ।

पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार सञ्चालन तथा व्यवस्थापन आईएमई ग्रुपले गरिरहेको छ। ग्रुपसँग केबलकार निर्माण तथा सञ्चालनमा डेढ दशक लामो अनुभव छ। आईएमई ग्रुपले अबको १५ महिनाभित्र केबलकार चढेर पाथीभरा देवीको दर्शन गर्न सकिने जनाएको छ। 

तर केबलकार निर्माणको प्रारम्भिक कार्य सुरु हुनासाथ केबलकार बन्न दिनुहुँदैन भन्दै एउटा पक्ष उत्तेजक बनेको छ। केबलकार निर्माणमा स्थानीयहरुले समर्थन गरे पनि बाहिरबाट मानिसहरु बोलाएर आन्दोलन चर्काउँदा झडपको अवस्था बनेको छ। 

पाथीभरा केबलकार निर्माण शिलान्यास गरिँदै

पूर्वाधारविज्ञ सूर्यराज आचार्य केबलकारको विषयमा अहिलेको विरोधको वस्तुगत आधार नभएको बताउँछन्। नेपालमा केबलकार निर्माण गर्दा मुख्यतः वन जंगल मास्यो र धार्मिक/संस्कृतिक क्षेत्र मिच्यो भन्ने उठ्ने गरेका छन्। 

आचार्य भने सामान्यतया पूर्वाधार निर्माण गर्दा वातावरणको क्षति कम हुने बताउँछन्। २ किलोमिटर केबलकार निर्माण गर्दा पुग्ने वातावरणको क्षति १ किमि सडक बनाउँदा नै हुने उनको भनाइ छ। 
 
सोही कारण पाथीभारा केबलकारको विषय यसरी उछाल्नुपर्ने मुद्दा नभएको आचार्य बताउँछन्।  

‘कतिपयले केबलकारको साटो हिँडेरै पुग्दा बढी धर्म हुन्छ भनेको पनि सुनिन्छ’, उनले नेपालखबरसँग भने, ‘तर कतिपय हिँडेर जान सक्ने हुँदैनन्। धार्मिक आस्था राख्ने वृद्धहरु केबलकार चढेर जान्छु भन्न पाउँछन्।’

पाथीभरामा निर्माण हुनलागेको पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजनाले त्यहाँका धार्मिक, सांस्कृतिक, आर्थिक, सामाजिक तथा वातावरणीय पक्षको विश्लेषण गरी काम सुरु गरेको आईएमई ग्रुपले जनाएको छ। 

आईएमई ग्रुपले परियोजनामा व्यापक अध्ययन र स्थानीय रुपमा सार्वजनिक सुनुवाइ गरेको छ। काठमाडौंमा समेत ताप्लेजुङ सरोकार केन्द्रले आयोजना गरेको सर्वपक्षीय छलफलमा परियोजना निर्माणलाई गति दिन आग्रह गरिएको थियो। 

‘यो पृष्ठभूमिमा कुनै एक कम्पनी वा व्यावसायिक घरानाको आर्थिक स्वार्थसिद्धिका लागि यत्रो परियोजना बन्न लागेको हो भन्ने आरोप निराधारपूर्ण छ’, आईएमई ग्रुपले एक अधिकारीले भने, ‘नेपाल गाउँ नै गाउँले भरिएको देश हो। यस्ता डाँडालाई पर्यटनसँग जोड्नसके बहुआयामिक फाइदा हुन्छ।’

पर्यटन चलायमान हुँदा अर्थतन्त्रका अन्य पक्ष आफैँ चलायमान हुने ती अधिकारी बताउँछन्। 

पाथीभरामा केबलकार निर्माण भई सञ्चालनमा आउँदा ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने र समग्र कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशेढुङ्गा बन्ने प्रदेश सरकारले समेत उल्लेख गरेको छ। 

नेपालमा अहिले केबलकारको विरोध गर्नेसँग कुनै आधार नरहेको पूर्वाधारविद् आचार्यको तर्क छ।  

‘पाथीभरासहित देशका विभिन्न ठाउँमा बन्ने केबलकारको विषयमा गरिएको विरोध वस्तुनिष्ठ छैनन्’, आचार्यले थपे, ‘विभिन्न स्वार्थसमूहले खेलेर विना आधार विरोध गरिरहेका छन्। मिडियाले गलत न्यारेटिभ (कथन) बनाएको छ।’

कुनै धार्मिक स्थल स्थानीयको मात्र नभई राष्ट्रकै केन्द्र हुने भएकाले स्थानीयका मात्रै कुरा सुनेर रोक्न नहुने उनको धारणा छ। 

‘स्थानीयको सानो विरोधलाई धेरै अतिरञ्जित गरिएको हुन्छ। रोजगारी र अवसर स्थानीयले नै बढी पाउँछन्’, उनले भने, ‘केबलकार मात्रै चढ्नुपर्छ, हिँडेर जान पाइँदैन भनियो भने मात्र विरोध गर्नु ठीक हो।’

चन्द्रागिरि केबलकार

अहिले लगानीकर्ताले नै केबलकारको आयोजना पहिचान गरी निर्माण गरिरहेको अवस्थालाई सरकारले आयोजना छनोट गरी टेन्डरमार्फत दिन सकिने विचार पनि उठिरहेको छ।

केबलकार निर्माणले पाथीभराको दर्शन गर्ने चाहना भएका तर अशक्त, वृद्ध वृद्धा तथा बालबालिकालगायतका भक्तजनको पहुँच स्थापित गर्ने मात्र नभई नेपाल भ्रमणमा आउने उच्च विदेशी पाहुनाका लागि थप एक दिन बिताउने गन्तव्य बन्ने निर्माणमा संलग्न अधिकारीहरूको भनाइ छ। 

आईएमई ग्रुपका ती अधिकारी भन्छन्, ‘हामीले गरेको अध्ययनअनुसार यो परियोजना सम्पन्न हुँदा पाथीभरा देवीको दर्शन गर्न आउने पर्यटकहरूको संख्या १० लाखसम्म पुग्नेछ।’

केबलकार सञ्चालनले पाथीभरा देवीको दर्शनको मौका सबैले सहजै प्राप्त हुँदा भक्तजनको संख्या बढ्ने र केबलकारले नेपालीभाषी भएका दार्जिलिङ सिक्किमसँगै भारतीय पर्यटकलाई तान्ने उनको दाबी छ। 

‘हामी नेपाली मात्रै विकास हेर्न भारततिर जाने परम्परा तोड्ने बेला भयो’, उनले थपे, ‘नेपालका हिल स्टेसन र आध्यात्मिक सम्पदालाई आधुनिक विकाससँग जोडेर उताका भक्तजन र पर्यटक भित्र्याउन ढिलाइ गर्ने अवस्था छैन।’

दार्जिलिङमा पर्यटकीय पूर्वाधार निर्माणमा अवरोध गरी दुर्गम नै राखेको भए अहिले यतिको चर्चा नहुने उनले उदाहरण दिए। 

विकासलाई रोकेर बस्नु हाम्रा कैयौँ पिँढीलाई गरिबीमा अभिशप्त बन्न बाध्य बनाउनुसरह हुने उनको बुझाइ छ। 

यता यातायात विज्ञ आशिष गजुरेल पनि केबलकार बनाउनै हुन्न भन्ने धारणा गलत भएको बताउँछन्। विकास र समाज सँगसँगै जानुपर्ने उनको भनाइ छ। 

‘केबलकार बनाउनै हुन्न भन्ने होइन। यसले त विकास रोकिन्छ। रोजगारी र अवसर नै गुम्छन्’, गजुरेलले भने, ‘तर स्थानीयका कुरालाई पनि सकेसम्म सम्बोधन गरेर यस्ता यातायातका पूर्वाधार निर्माण गर्नुपर्छ।’

नेपालमा केबलकार धार्मिक र पर्यटकीय स्थलमा बढी निर्माण भएकाले स्थानीयलाई महत्व बुझाएर निर्माण गर्नुपर्ने उनले बताए। 

पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार सञ्चालन तथा व्यवस्थापन गरिरहेको आईएमई ग्रुपसँग केबलकार निर्माण तथा सञ्चालनमा डेढ दशक लामो अनुभव छ।

काठमाडौंको चन्द्रागिरिमा पहिलो केबलकार निर्माण गरी ग्रुपले काठमाडौंमा नयाँ उत्कृष्ट पर्यटकीय गन्तव्य बनाएको छ भने नवलपुरको मौलाकालिका र बुटवलको लुम्बिनी केबलकारको निर्माण पूरा गरी सञ्चालनमा ल्याइसकेको छ। 

यी दुवै केबलकार तोकिएको समयभन्दा अघि नै निर्माणसम्पन्न भई सञ्चालनमा आएका थिए। कर्णालीको जालपादेवी केबलकार निर्माणको काम समेत द्रुत गतिमा अघि बढेको छ। 

‘हामीले निर्माण गरिरहेका पूर्वाधारहरू स्थानीय सहभागिताकै मोडलहरू हुन्’, आईएमई ग्रुपले भनेको छ, ‘अब बन्ने संरचना साझा सम्पत्तिका रूपमा रहने हुन्। यो केवल आईएमई समूहको नभई देशकै सम्पत्तिका रूपमा रहने विषय हो।’
 
आईएमई ग्रुप पर्यटन पूर्वाधारको विकासमार्फत मुलुकको पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिको बाटो पहिल्याउने दृढ संकल्प र उच्च उद्देश्यसहित सातवटै प्रदेशमा केबलकारसहितको पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजनामा छ।    

‘अहिले पाथीभरामा बन्ने केबलकार निर्माणलाई स्थानीय रोजगारी खोसिने भनेर प्रचार गरिएको छ’, ग्रुपले यसलाई नकार्दै उदाहरण दिएको छ, ‘चन्द्रागिरिमा बनेको एउटा पूर्वाधारले ५ सय जनालाई प्रत्यक्ष नयाँ रोजगारी मात्र सिर्जना गरेको छैन, यसले समग्र चन्द्रागिरि र यसको वरिपरि आमूल परिवर्तन ल्याएको छ।’

दैनिक औसत ३ हजार हाराहारीमा मानिसको आवतजावत हुँदा आर्थिक क्रियाकलाप बढेको र चन्द्रागिरि स्वदेशी तथा विदेशी पर्यटककै एउटा नवीन र आकर्षक गन्तव्य बनेको आईएमई ग्रुपको भनाइ छ। 

आईएमई ग्रुपका अनुसार बुटवल र गैँडाकोटमा पनि चन्द्रागिरि जस्तै सयौँ स्थानीयले रोजगारी पाएका छन्। यसले आर्थिक गतिविधि विस्तारमा भूमिका खेल्दै धेरै स्थानीय, भारतीय र अन्य विदेशी पर्यटकलाई आकर्षित गर्ने नयाँ गन्तव्य बनेको छ।

‘देशका अन्य केबलकारजस्तै अवसर पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजनाले सिर्जना गर्न सक्दैन र?’, आईएमई ग्रुपका अर्का अधिकारी भन्छन्, ‘ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा पनि केबलकार कुनै एक कम्पनीले निर्माण गर्ने फगत एउटा पूर्वाधार मात्र नभएर सो क्षेत्रको आर्थिक गतिविधि चलायमान बनाउने एउटा ‘भाइब्रेन्ट’ परियोजना हो।’

अहिले नेपालमा पर्यटन पूर्वाधारको कमी छ। नेपाल आउने विदेशी पर्यटकको औसत खर्च तथा बसाइ निकै कम र प्रतिदिन झनै घट्दो छ। विदेशी पर्यटकहरू औसत १२ दिन नेपाल बस्ने र दैनिक औसत ५० डलरभन्दा कम खर्च गर्ने गरेको पछिल्लो तथ्याङ्क छ। 

यस्तोमा नेपालले पर्यटकलाई आकर्षित गर्ने, उनीहरूको नेपाल बसाइ र खर्च बढाउने खालका थप ठूला पूर्वाधारहरू निर्माण गर्नुपर्नेछ। राज्यले पनि पर्यटनलाई तुलनात्मक लाभको क्षेत्र भनेको छ। 

प्रकृतिले नेपाललाई अपार वरदान दिएको छ। फलतः नेपाल प्रकृति, संस्कृति र साहसिक पर्यटनको केन्द्र हो। त्यसको विकास प्रवर्धनमा प्रविधि र पुँजी जोड्न सक्दा मात्र पर्यटनबाट सोचेभन्दा धेरै प्रतिफल प्राप्त गर्न सक्ने ग्रुपको विश्वास छ। 

‘पाथीभरा परियोजना सम्पन्न हुँदा पर्यटकको बसाइ लम्बिनेछ, रोजगारीका अवसर सिर्जना हुनेछन् र अर्थतन्त्र चलायमान हुनेछ’, कम्पनीको विश्वास छ, ‘त्यस्ता पर्यटकीय पूर्वाधारको विकास गर्नुपर्छ। यी कार्यहरूमा सरकारले निजी क्षेत्रलाई जति धेरै सहजीकरण गरेर साझेदारीको मोडल अपनाउने नीति लिन्छ, त्यति नै छिटो देशको विकास हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad