सूचना प्रविधि क्षेत्रका जानकारहरुले नेपालले सूचना प्रविधि (आईटी) जनशक्ति उत्पादन गर्ने हो भने वार्षिक रु १० खर्बभन्दा बढी आम्दानी गर्न सकिने बताएका छन्। नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको सम्मेलनको आजको समूहगत छलफलमा उनीहरूले सो धारणा व्यक्त गरेका हुन्।
कांग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा जारी नेपाल ‘स्टार्टअप’ र ‘एसएमई’ सम्मेलनको दोस्रो दिनको ‘उद्यमशीलता र जनशक्ति विकासः आईटी क्षेत्रको लागि तयारी’ शीर्षकको सत्रमा भएको छलफलका वक्ताहरुले आईटीमा थोरै लगानी गर्नसके राम्रो परिणाम हात पार्न सकिने बताएका हुन्।
उनले भने, ‘अहिले हामीले दक्ष जनशक्ति निर्माणको लागि प्रयत्न गरिरहेका छौं। हरेक आईटी कलेजहरुमा कोटा नछुट्याइ सहजै आईटी पढन सकिने व्यवस्था गर्नुपर्ने नीति अवलम्बन गर्नुपर्छ भनेर लविङ गरिरहेका छौं।’ अहिले विश्वभर सबैभन्दा बढी आर्थिक उपार्जनको स्रोत बनेको पर्यटन क्षेत्रलाई पनि आईटीले उछिनिसकेको छ।
उनले थपे, ‘सरकारले नीति त ल्याउँछ तर प्राविधिक क्षेत्रमा विद्यार्थीलाई कसरी जोडने भन्ने बिषय समेटिएको छैन। हरेक संकायमा प्राविधिक र व्यवसायिक सिप सिकाउने गरी पाठ्यक्रम निमार्ण गर्ने र त्यसलाई व्यवहारिक रुपमा लागु गर्न आवश्यक छ।’
योङ इनोभेसनका संस्थापक विभूषण बिष्टले राज्यले आईटी क्षेत्रलाई समेट्ने गरी नीति ल्याएको अवस्थामा अहिलेको तुलानामा पाँच गुणा बढी जनशक्ति उत्पादन गर्न सकिने र त्यहीअनुसार सेवा निर्यात गर्न सकिने बताए।
उनले थपे, ‘उद्यमशीलता एक माइन्डसेट हो। उद्यमी र सर्वसाधारण मानिसबीच के भिन्नता छ भने सामान्य मानिसले समस्या देखिरहेको हुन्छ भने उद्यमीले अवसर देखिरहेको हुन्छ। त्यो समस्या समाधान गर्ने प्रयास गरिरहेको हुन्छ। कुनै पनि उद्यमीले त्यसलाई कार्यान्वयन नगरेसम्म त्यो अवसर वा त्यो ‘आइडीया’को मूल्य शून्य नै रहन्छ। शिक्षामा उद्यमशीलतालाई जोड्न आवश्यक छ र उद्यमशीलता पढेको व्यक्तिले मात्रै स्टार्टअप गर्नुपर्छ भन्ने हुँदैन।’
त्यस्तै खिम्भु टेकका सीईओ कार्भिका थापाले स्टार्टअप सुरु गर्दा आफ्नो रुचीको विषय छानेर काम गर्न सकेको अवस्थामा मात्रै सफलता हात पार्न सकिने बताइन्।
उनले भनिन्, ‘सुरुमै उद्यमशील बन्ने आधारको लागि सिप विकास आवश्यक छ। जे विषयमा क्षमता छ, त्यसैका लागि प्रयत्न गनुपर्दछ।’ कांग्रेस केन्द्रीय कार्यालयमा बुधबारदेखि सुरु भएको सम्मेलनले भर्खरै व्यवसाय प्रारम्भ गर्ने उद्यमी, व्यवसायीहरूलाई प्रोत्साहन गर्नुका साथै व्यवसायको प्रवद्र्धनसमेत हुने विभागका संयोजक उर्मिला थपलियाको विश्वास छ। रासस
Shares

प्रतिक्रिया