बागमती प्रदेशभित्रको सवारी साधनहरुको विद्युतीय अभिलेख सिर्जना (डिजिटाइजेसन) को सुरुवात गरिएको छ।
सोमबार यातायात व्यवस्था कार्यालय मोटरसाइकल, गुर्जुधारामा आयोजित एक समारोहबीच बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले डिजिटाइजेशनको शुभारम्भ गरेका हुन्।
डिजिटाइजेसनका लागि मन्त्रालयले १ सय जना तथ्यांक प्रविष्ट गर्ने कर्मचारीको व्यवस्था गरिएको यातायात मन्त्री महर्जनले बताए।
महर्जनका अनुसार छिट्टै प्रदेशभित्रका सबै सवारी साधनको विद्युतीय अभिलेख राखिसक्ने र अनलाइनबाटै सवारी साधनको कर तिर्न सकिने र ब्लु बुक बोक्नु नपर्ने अवस्था निर्माण हुने बताएका छन्।
डिजिटाइजेसनले यातायात क्षेत्रमा काम राम्रो हुन नसकेको जनमानसमा भएको भावनालाई चिर्न सफल हुने विश्वास लिएको बताउँदै मन्त्री महर्जनले भने, 'यसका लागि भिआरएसमार्फत डिजिटाइजेशन गर्नका लागि थुप्रै पटक कर्मचारी र डेभलपरसँग बसेर समस्या नआउने गरि कार्य गरेका छौं।'
उनले अबको केही समयमा लिखित परीक्षा र सवारी साधन परिचयपत्रको ट्रायलका लागि मात्र यातायात व्यवस्था कार्यालय आउनुपर्ने र अन्य कार्यका लागि अनलाइनबाट गर्न सकिने वातावरण बन्न लागेको बताए।
कार्यक्रममा मन्त्री महर्जनसहित बागमती प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री केशवप्रसाद पोखरेल, प्रदेश सभा सदस्य रघुनाथ महर्जन, प्रदेश यातायात मन्त्रालय सचिव वीरेन्द्रदेव भारती, विभिन्न यातायात व्यवस्था कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो।
Shares

प्रतिक्रिया