कारोबार


एक महिनामै भित्रिए दुई हजार २८७ ईभी, बजेटपछि ४५ मात्रै

एक महिनामै भित्रिए दुई हजार २८७ ईभी, बजेटपछि ४५ मात्रै

नेपालखबर
असार ८, २०८३ सोमबार १८:५२, काठमाडौँ

चालु आर्थिक वर्ष २०८२/८३ को जेठ महिनामा ठूलो संख्यामा विद्युतीय सवारी (ईभी) नेपाल आयात भएको छ। 

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकअनुसार, जेठमा मात्र दुई हजार २८७ वटा ईभी आयात गरिएको छ। चालु आर्थिक वर्षको वैशाख महिनासम्म आठ हजार ६०५ वटा ईभी आयात भएका छन्। 

वैशाखसम्म प्रति महिनामा औसतमा ८६१ वटा ईभी आयात हुने गरेको थियो। तर आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुने महिनामा औसतभन्दा करिब २.६५ गुणाबढी ईभी आयात भएको हो। 

जेठमा मात्रै पाँच अर्ब ३६ करोड २४ लाख ३० हजार रुपैयाँको ईभी आयात भएको छ। वैशाखसम्म २० अर्ब ३२ करोड ३५ लाख ९२ हजार रुपैयाँ बराबरको ईभी आयात भएको भन्सार विभागले जनाएको छ। 

चालु आर्थिक वर्षको ११ महिनामा २५ अर्ब ६८ करोड ६० लाख २२ हजार रुपैयाँ बराबरको १० हजार ८९२ वटा ईभी आयात भएको छ। चालु आर्थिक वर्षको १० महिनामा २० अर्ब ३२ करोड ३५ लाख ९२ हजार रुपैयाँ बराबरको आठ हजार ६०५ वटा ईभी आयात भएको थियो।

बजेटपछि भित्रिए ४५ वटा ईभी

आगामी आर्थिक वर्षको बजेट वक्तव्यपछि नेपालमा ४५ वटा ईभी भित्रिएको विभागको तथ्यांकमा देखिन्छ। जेठ १५ गतेसम्म १२ करोड ३७ लाख आठ हजार रुपैयाँ बराबरको ईभी भित्रिएको हो। 

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले ईभीमा कर संरचनामा व्यापक परिवर्तन गरेको थियो। यसअघि पिकपावर क्षमताको आधारमा लाग्दै आएको भन्सार महसुल मूल्यगत आधारमा लाग्ने बनाइएको छ। 

यस्तै ईभीमा पूर्णरुपमा अन्तःशुल्क खारेजी गर्दै मूल्य, बीमा र ढुवानी खर्चका आधारमा भन्सार विन्दुमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउने व्यवस्था मिलाइएको छ। नयाँ व्यवस्थाअनुसार, भन्सार विन्दुमा २० लाख रुपैयाँसम्म मूल्य भएका विद्युतीय गाडीमा अब २.५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्नेछ। 

त्यस्तै, २० लाखदेखि ३० लाख रुपैयाँसम्म मूल्य भएका गाडीमा २० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्ने भएको छ। यसैगरी,  ३० लाखदेखि ४० लाख रुपैयाँसम्मका गाडीमा ३५ प्रतिशत, ४० लाखदेखि ५० लाख रुपैयाँसम्म मूल्य भएका गाडीमा ९० प्रतिशत र ५० लाख रुपैयाँभन्दा बढी मूल्यका गाडीमा १३० प्रतिशतसम्म स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्ने भएको छ।

यससँगै सरकारले २० लाखभन्दा मुनिका विद्युतीय गाडीमा २.५ प्रतिशत सडक निर्माण दस्तुर र अन्य ईभीमा ५ प्रतिशत सडक निर्माण दस्तुर यथावत् राखेको छ भने १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पनि कायमै रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad