पासपोर्ट छपाइका लागि न्यून कम्पनीको सहभागिता भएको छ। राहादानी विभागले आह्वान गरेको बोलपत्रमा प्याकेज १ मा ३ कम्पनी मात्रै सहभागी भएका छन् भने प्याकेज २ का लागि ४ कम्पनीले आवेदन दिएका छन्।
६४ लाख पासपोर्ट छपाकाका लागि विभागले मंसिर १३ मा पहिलोपटक टेन्डर आह्वान गरेको थियो। तर एक कम्पनीलाई मात्र फाइदा पुग्ने गरी टेन्डर आह्वान गरिएको भन्दै विवादमा पर्यो।
फ्रान्सको बहुराष्ट्रिय कम्पनी आइडेमियाको प्रभावमा परी स्पेसिफिकेसन तयार गरेको आरोप लागेपछि विभागले १२ जनवरीसम्म आवेदन दिने व्यवस्थालाई १ महिना थप गरेको थियो। बीचमा टेन्डर डकुमेन्ट संशाेधन भएपछि अन्तिम समयमा फ्रेबुअरी २१ सम्म पुर्यायो।
‘प्याकजेज नम्बर १ मा ३ कम्पनी र प्याकेज २ मा ४ कम्पनी सहभागी भएका छन्,’ राहादानी विभागका निर्देशक रविन्द्रराज भण्डारीले भने,‘अबको २ हप्तामा प्राविधिक प्रस्ताव मूल्यांकन गरी छनोट गर्ने तयारीमा छौँ।’
प्याकजेज नम्बर १ र २ मा फ्रान्स र जर्मनीका एकै कम्पनी सहभागी भएका छन्। हाल पासपोर्ट छपाई गरिरहेको आइडिमियाले दुवै प्याकेजमा सहभागी भएको छ।
प्याकेज १ मा फ्रान्सेली कम्पनी आईडिमिया, अमेरिकन कम्पनी आईरिसिस् र जर्मन कम्पनी मुलबाउरले सहभागी जनाएका छन्। प्याकेज नम्बर २ मा आईडिमिया, जर्मन कम्पनी मुलबाउर, पोलाइन्डको पीडब्लु पीडब्लु र जर्मनकै भेरिडियसले आवेदन दिएका छन्।
Shares

प्रतिक्रिया