माघ महिनामा जीवन बिमा सरेन्डर १५.०४ प्रतिशतले बढेको छ ।
गत पुससम्म ७ अर्ब ६६ करोड पुगेकोमा माघमा १ अर्ब १२ करोड रुपैयाँले बढेर ८ अर्ब ५९ करोड रुपैयाँ पुगेको हो।
यो अवधिमा ६२ हजार ५ सय २३ वटा बिमालेख सरेण्ड भएका हुन्। बिमालेख बीचमै त्याग्नेको संख्या निरन्तर बढ्दा बिमा व्यवसायीहरु तनावमा रहँदै आएका छन् ।
पोलिसी बिक्री सुस्ताएकै समयमा बिमा सरेन्डर पनि बढ्न थालेपछि त्यसको असर जीवन बिमा व्यवसायमा पर्न थालेको हो।
सरेन्डर मा मासिक १४ देखि १५ को वृद्धि निरन्तर देखिँदै आएको छ। माघ मसान्तसम्म आइपुग्दा भने साढे ८ अर्ब माथिको बिमा सरेन्डर भएका हुन् ।
यो अवधिमा सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कर्पोरेसनको छ । यो कम्पनीको माघ महिनासम्म २ अर्ब ५९ करोड रुपैयाँ बराबरको बिमालेख सरेन्डर हुँदा नेपाल लाइफको २ अर्ब ३६ करोड बराबरको बिमालेख सरेन्डर भएको हो।
योबाहेक राष्ट्रिय जीवन बिमा कम्पनीको ७८ करोड,नेशनल लाइफको ५५ करोड,मेट लाइफको २४ करोड, एशियन लाइफको ५४ करोड, आइएमई लाइफको १२ करोड, सिटिजन्स लाइफको १४ करोड र सूर्यज्योति लाइफको ४६ करोडको बिमालेख सरेन्डर भएका हुन् ।
यस्तै हिमालयन लाइफ इन्स्योरेन्सको ३७ करोड रुपैयाँको बिमालेख सरेन्डर हुँदा सानिमा रिलायन्सको १५ करोड, प्रभु महालक्ष्मी लाइफको १२ करोड, रिलायबल नेपालको ६ करोड र सन नेपाल लाइफको ४ करोड रुपैयाँबराबरको बिमालेख सरेन्डर भएको हो।
Shares

प्रतिक्रिया