केही वस्तुहरूको बाह्य निर्यात बढ्दा नेपालको समग्र निर्यात व्यापार नै ह्वात्तै वृद्धि भएको छ।
चालू आर्थिक वर्षको फागुनसम्म ५७ प्रतिशतले बढेर कुल निर्यात १ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको हो।
तुलनात्मक रुपमा आर्थिक वर्ष २०७९/०८० मा १ खर्ब ४ अर्बको र ०८०/०८१ मा १ खर्बको निर्यात भएको थियो।
खासगरी चिया, तेल, अलैँची र सिमेन्टजस्ता वस्तुको निर्यातले समग्र निर्यात बजारमा योगदान दिएको भन्सार विभागको ८ महिनाको तथ्यांकले देखाएको हो।
यस अवधिमा एक अर्ब रुपैयाँले चिया निर्यात बढेको छ। त्यसैगरी सोयाबिन, सनफलावर तेलको पनि निर्यात बढेको छ। यसबाहेक अलैँची, चियालगायत नेपालमा उत्पादिन वस्तुको निर्यात पनि बढेको छ।
गत वर्ष २ अर्ब २६ करोडको निर्यात भएको चिया यस वर्ष ८ महिनामा ३ अर्ब २३ करोडको निर्यात भएको छ।
यता गत वर्ष ५ अर्ब १७ करोड रुपैयाँको निर्यात भएको अलैँची यस वर्ष ५ अर्ब ८४ करोड पुगेको छ।
बाहिरबाट आयात गरी निर्यात हुने तेलमा उछाल आएको छ। गत वर्ष १ अर्ब ६४ करोडको निर्यात भएको सोयाबिन तेल ४७ अर्ब ९४ करोड पुगेको छ। यसमा सनफलावरको तेल ७ अर्ब ९८ करोड रुपैयाँको निर्यात भएको छ। गत वर्ष यो तेल ३ अर्ब ३१ करोडको निर्यात भएको थियो।
यो अवधिमा करिब २ अर्बको सिमेन्ट तथा क्लिंकर निर्यात भएको छ। साउनदेखि फागुनसम्म ६१ करोड रुपैयाँको क्लिंकर निर्यात हुँदा १ अर्ब ३३ करोडको सिमेन्ट निर्यात छ।
गत वर्ष २ अर्ब ४७ करोड रुपैयाँको सिमेन्ट तथा क्लिंकर निर्यात भएको थियो। क्लिंकर १ अर्ब १८ करोड र सिमेन्ट १ अर्ब २८ करोड रुपैयाँको निर्यात भएको थियो।
Shares

प्रतिक्रिया