दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा बिहीबार एक जना पनि यात्रु नपाएपछि हवाई सेवा अवरुद्ध भएको छ। गत सोमबारदेखि यहाँको विमानस्थलबाट हवाई सेवा सुरु भएको थियो।
बिहीबार पनि जहाज आउने तालिका थियो। तर, तुलसीपुरबाट एकजना पनि यात्रुले टिकट काटेका थिएनन्।
काठमाडौँबाट पनि तीन जनाले मात्र टिकेट काटेका थिए। यात्रु नभएपछि बिहीबारको उडान अवरुद्ध भएको एयरलाइन्सका स्टेसन इन्चार्ज बलबहादुर सुनारले जानकारी दिए।
तीन महिना सेवा अवरुद्ध भएपछि सोमबारदेखि सेवा सुरु भएको हो। हालको भाडा न्यूनतम रु सात हजार १०० मात्र कायम गरिएको छ। नियमित भाडा रु आठ हजार ७७५ भए पनि हाललाई रु सात हजार १०० मात्र कायम गरिएको हो।
टरिगाउँमा नियमित हवाई सेवा नहुँदा यात्रुहरू नेपालगन्ज वा भैरहवा जानुपर्ने अवस्था छ। विमानस्थलको धावनमार्ग पनि सानो हुँदा ठूला जहाज बस्न सकेका छैनन्।
अहिले १९ सिटे जहाज मात्र बस्दा पनि अनियमित हुने हुँदा यात्रुहरू भैरहवा वा नेपालगञ्ज जानुपर्ने अवस्था छ । हाल विमानस्थलको धावनमार्ग ७५० मिटर छ।
उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटकपटक उठ्ने गरेको छ। यो विमानस्थल २०११ सालमा स्थापना भएको हो। रासस
Shares

प्रतिक्रिया