कारोबार


जलविद्युतमा लगानी गर्न अजरबैजानलाई आइडाको आग्रह

जलविद्युतमा लगानी गर्न अजरबैजानलाई आइडाको आग्रह

नेपालखबर
जेठ ४, २०८२ आइतबार १२:५२, काठमाडौँ

एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेशनल अफेयर्स (आइडा)का संस्थापक सुनील केसीले जलवायुसम्बन्धी विषयमा अजरबैजान गणतन्त्रका राष्ट्रपतिको प्रतिनिधि तथा कोप२९का अध्यक्ष मुक्तार बाबायेभलाई नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्न अनुरोध गरेका छन्।

अजरबैजानबाट बाबायेभको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको भेटमा, केसीले दुवै मुलुकबीच आर्थिक सम्बन्ध विस्तार गर्न आग्रह गर्दै यसबाट दुवै मुलुकलाई फाइदा हुने पनि उल्लेख गरे।

भेटघाटका क्रममा नेपालको कृषिमा आस्रित अर्थतन्त्रलाई सघाउन मल आयात गर्ने बारेमा पनि छलफल भएको थियो। केसीले अजरबैजानबाट नेपाललाई आवश्यक पर्ने मल सिधै आयात गर्ने सम्भावनाबारे पनि छलफल गरेका थिए।

केसीले नेपालको हरित ऊर्जामा भएको विकासलाई जोड दिँदै अजरबैजानी उच्च प्रतिनिधिलाई नेपाली जलविद्युत विज्ञहरूलाई अतिथिका रूपमा आमन्त्रण गर्न र ज्ञान आदानप्रदान गर्न सुझाव पनि दिए। 

यसमा प्रतिक्रिया दिँदै बाबायेभले भने, “अजरबैजानले सन् २०२७ सम्ममा आफ्नो कुल विद्युत आवश्यकताको ३० प्रतिशत जलविद्युत, सौर्य र हावा जस्ता नवीकरणीय उर्जा स्रोतबाट आपूर्ति गर्ने लक्ष्य राखेको छ, र यसमा नेपालको विशेषज्ञता उपयोगी हुन सक्छ।”

बाबायेभले नवीकरणीय ऊर्जालाई राष्ट्रिय एजेन्डा बनाउने अजरबैजानको नीतिबारे पनि जानकारी गराए र नवीकरणीय ऊर्जातर्फको संक्रमणलाई अजरबैजान प्राथमिकता दिइएको पनि उनले जानकारी दिए।

“सबै सम्बन्धको आधार राम्रो व्यापारिक सम्बन्ध हो,” बाबायेभले बताए, “जति व्यापार र आर्थिक सम्बन्ध बढ्छ, उति नै द्विपक्षीय सम्बन्ध बलियो हुन्छ। त्यसैले, नेपाल सरकारका अधिकारीबाहेक निजी क्षेत्र र व्यवसायीहरूसँग भेटेर म खुसी छु।”

नेपाल सरकारद्वारा आयोजित सगरमाथा संवादको अवसरमा भएको उक्त भेटमा दुई देशबीच व्यापार तथा व्यवसायका विभिन्न सम्भावना र आइडासँगको भविष्यको सहकार्यबारेमा पनि छलफल भएको थियो। साथै, भेटमा नेपाल र अजरबैजानबीच ऊर्जा पूर्वाधार, जलविद्युत् र पर्यटन प्रवर्द्धनजस्ता क्षेत्रमा सहकार्य गर्न सकिने प्रसस्त संभावनाका बारेमा पनि छलफल भएको थियो।

बाबायेभ सगरमाथा संवादको पहिलो संस्करणमा प्रमुख वक्ताका रूपमा नेपाल आएका हुन्। उनले शुक्रबार काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा उद्घाटन भएको कार्यक्रममा उद्घाटन सत्रमा आफ्नो मन्तव्य दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad