सरकारले आगामी वर्षदेखि वैदेशिक रोजगार सेवा शुल्क लगाउने भएको छ।
आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा वैदेशिक रोजगारीमा जाने व्यक्तिबाट असुल गरेको रकममा एक प्रतिशतका दरले वैदेशिक रोजागार सेवा शुल्क दाखिला गर्नुपर्ने व्यवस्था गरेको हो।
वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने कम्पनीले बुझाएको कर वैदेशिक रोजगारीमा जाने व्यक्तिको हितमै खर्च गर्ने व्यवस्था गरेको अर्थ मन्त्रालयले जनाएको छ। नयाँ व्यवस्थाअनुसार मेनपावर कम्पनीले हरेक महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गरी सो रकम रोजगार विभागमा पठाउनुपर्नेछ।
त्यसबाहेक विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्कबापत विदेशी मुद्राको सटही सुविधा दिँदा त्यस्तो सटही रकममा ३ प्रतिशत शिक्षा सेवा शुल्क लगाइने र असुल गरिने व्यवस्था गरेको छ। सटही सुविधा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थाले शिक्षा सेवा शुल्कबापत संकलन गरेको रकम हरेक महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गर्नुपर्ने उल्लेख गरिएको छ।
सटही सुविधा लिई शिक्षा सेवाशुल्क बुझाएका तर विदेशमा अध्ययन गर्न जान नपाएका विद्यार्थीले विदेशी मुद्रा फिर्ता गरी शिक्षा सेवा शुल्क फिर्ता माग गर्न पाउनेछन्।
Shares

प्रतिक्रिया