सरकारले आगामी आर्थिक वर्षको बजेटमा सार्वजनिक संस्थानहरूलाई निजीकरण गर्ने योजना अगाडि सारेको छ।
आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत सरकारले आफ्नो स्वामित्वमा रहेका संस्थानहरूको सञ्चालन राम्रो हुन नसकेको निष्कर्षसहित सेयर पुनर्संरचना गरी निजी साझेदार भित्र्याउने योजना बनाएको हो।
सञ्चालनमा रहेका, नाफामा रहेका र सञ्चालन सम्भावना नभएका गरेर सार्वजनिक संस्थानहरुलाई तीन वर्गमा वर्गीकरण गरिएको छ। सरकारले सोहीअनुसार निजीकरण तथा खारेजीको नीति लिएको हो।
यसका लागि सरकारले आगामी आवमा सञ्चालनमा रहेका तर नाफा दिन नसकेका संस्थानहरूमा निजी क्षेत्रलाई भित्र्याउने योजना अगाडि सारेको छ। त्यस्तै सञ्चालनमा आउन नसकेकाको पनि सम्भावना अध्ययन गर्ने बजेटमा उल्लेख छ।
तर सरकारले बजेटपूर्व सार्वजनिक गरेको आर्थिक सुधार कार्यान्वयन कार्ययोजनाले भने सञ्चालनमा आउन नसकेका ५ संस्थान खारेज गर्ने र ४० वटा संस्थान सञ्चालन गर्ने योजना अगाडि सारेको थियो।
बजेटले उक्त ४० वटा संस्थानमध्ये पनि नोक्सानीमा रहेका १५ वटामा आफ्नो लगानी घटाएर निजी क्षेत्रलाई प्रवेश गराउने नीति लिएको हो।
यस्तो छ सार्वजनिक संस्थानहरूको अवस्था
अर्थ मन्त्रालयका अनुसार हाल ४५ वटा सार्वजनिक संस्थानहरू छन्। यीमध्ये २८ वटा संस्थानले आंशिक नाफा गर्दै आएका छन्। बाँकी १४ वटा भने पूर्ण नोक्सानीमा छन्। यसमा पनि ५ वटा अस्तित्वमा मात्रै छन्।
सरकारले अस्तित्वमा मात्रै रहेका तर सञ्चालनमा आउन नसक्ने ती संस्थानलाई खारेज गर्ने तथा अन्य संस्थानहरूमा पनि निजी क्षेत्रलाई साझेदार बनाउने भएको हो।

१० उद्योग सबै घाटामा
आर्थिक वर्ष २०८०/८१ मा उद्योगतर्फ १० वटामा ९ वटा उद्योग नोक्सानमा छन् भने बाँकी एक उद्योग सञ्चालनमा आएको छैन।
अर्थ मन्त्रालयका अनुसार जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी, धौवादी फलाम कम्पनी, दुग्ध विकास संस्थान, हेटौंडा सिमेन्ट उद्योग, नेपाल औषधि लिमिटेड, उदयपुर सिमेन्ट, नेपाल ओरियन्ट म्याग्नेसाइट प्राइभेट लि., बुटवल धागो कारखाना र नेपाल मेटल कम्पनी घाटामा रहेका हुन्।
यसमध्ये पनि सञ्चालनमा नरहेको जनकपुर चुरोट कारखाना घाटामा छैन। कारखानाको जग्गा तथा भवन भाडाबापत २२ लाख आम्दानी
भएका कारण यसलाई नोक्सानीमा नराखिएको हो। यद्यपि यो कम्पनी सरकारले एक वर्षभित्र खारेज गर्ने कार्ययोजना तयार पारिसकेको छ।
व्यापारिक क्षेत्रका १० संस्थानको आव २०८०/८१ मा घाटा १ अर्ब ४४ करोड रुपैयाँ छ।

व्यापारिक संस्थान सबै नाफामा
सरकारी स्वामित्वमा रहेका व्यापारिक प्रकृतिका सबै सार्वजनिक संस्थान नाफामा देखिएका छन्।
४ वटा व्यापारिक सार्वजनिक संस्थानमध्ये खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कृषि सामग्री लिमिटेड, नेपाल आयल निगम र नेपाल वन निगम नाफामा देखिएका हुन्।
यो क्षेत्रको खुद नाफा आव २०८०/८१ मा ९ अर्ब ९० करोड रुपैयाँ छ।

सेवा क्षेत्रमा ७ संस्थान नाफामा, २ घाटामा
सेवा क्षेत्रसँग सम्बन्धित ९ वटा सार्वजनिक संस्थान छन्। यीमध्ये २ वटा संस्थान गत आवमा नोक्सानमा जाँदा ७ वटा नाफामा देखिएका छन्।
अर्थ मन्त्रालयका अनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लि., नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पूर्वाधार निर्माण कम्पनी, साझा यातायात, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र र विशालबजार कम्पनी नाफामा देखिएका हुन्।
यता नेपाल वायुसेवा निगम र नेपाल रेल्वे कम्पनी भने यो वर्ष घाटामा देखिएका छन्। समग्रमा सेवा क्षेत्रका ९ वटा संस्थानको खुद नाफा २ अर्ब ९३ करोड रुपैयाँ छ।

सामाजिक क्षेत्रका ३ घाटामा, २ वटा नाफामा
सामाजिक क्षेत्रमा रहेका ५ वटा सार्वजनिक संस्थान छन्। यीमध्ये ३ वटा संस्थान खुद घाटामै छन्।
सांस्कृतिक संस्थान, जनक शिक्षा सामग्री केन्द्र र सार्वजनिक सेवा प्रसारण नेपाल घाटामा देखिँदा गोरखापत्र र राष्ट्रिय आवास कम्पनी नाफामा देखिएका हुन्।
सामाजिक क्षेत्रका सार्वजनिक संस्थान आव २०८०/८१ मा ४१ करोडले खुद नोक्सानीमा छ।

जनोपयोगी क्षेत्रका ४ कम्पनी नाफामा, एक घाटामा
जनोपयोगी क्षेत्रमा ५ सार्वजनिक संस्थान छन्। यीमध्ये ४ संस्थानहरू आव २०८०/८१ मा नाफामा देखिएका छन्।
नेपाल खानेपानी संस्थान यो वर्ष घाटामा देखिँदा नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी, विद्युत् उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी नाफामा देखिएका छन्।
यो क्षेत्रले सो वर्ष कुल १६ अर्ब ४६ करोड नाफा गरेको छ।

वित्तीय क्षेत्रका सबै नाफामा
वित्तीय क्षेत्रका सार्वजनिक संस्थानहरू भने आव २०८०/०८१ मा सबै नाफामा देखिएका छन्।
कृषि विकास बैंक, राष्ट्रिय जीवन बिमा कम्पनी, राष्ट्रिय बिमा कम्पनी, राष्ट्रिय वाणिज्य बैंक, निक्षेप तथा कर्जा सुरक्षण कोष, नेपाल स्टक एक्स्चेन्ज, नागरिक लगानी कोष, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, नेपाल बैंक र सीडीएस एन्ड क्लियरिङ लिमिटेड नाफामा देखिएका छन्।
यो क्षेत्रले यो वर्ष कुल १५ अर्ब १६ करोड खुद नाफा आर्जन गरेको छ।
Shares

प्रतिक्रिया