भारतीय राज्य गुजरातको अहमदावाद विमानस्थलनजिकै एयर इन्डियाको विमान दुर्घटनापछि आकस्मिक रुपमा बाहिर निस्किने ढोकानजिकको सिट बुकिङमा यात्रुहरुले धेरै चासो देखाएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार विशेषगरी ११ए नम्बरको सिट बुकिङमा यात्रुहरुले अत्यधिक चासो देखाएका हुन्।
बिजनेस टुडेका अनुसार सो नम्बरको सिटमा बसेका एक जना यात्रु बाँच्न सफल भएसँगै ‘इमरजेन्सी एक्जिट सिट’को माग बढेको बताइएको छ। एआई१७१ दुर्घटनामा २६० जनाको मृत्यु भएको थियो।
विमानमा सवार २४२ मध्ये २४१ जना र विमान बज्रिएको आवासीय डाक्टर बस्ने भवनमा बाँकी मानिसको ज्यान गएको थियो। तर विश्वास कुमार रमेश नामका एक यात्रु भाग्यवश बाँच्न सफल भएका थिए।
उनी इमरजेन्सी एक्जिटनजिकै ११ए सिटमा बसेका थिए। त्यससँगै सो सिटमा बुकिङ गर्न चाहने धेरै देखिएका हुन्।
हवाइ विज्ञहरुका अनुसार एक्जिट रोका सिटहरुले धेरै लेगरुम अफर गर्छन्। तर तथ्यांगत रुपमा भने कुनै पनि दुर्घटनामा यी सिटहरुले बचाउने विशेषता प्रमाणित भएको छैन।
अर्को भारतीय सञ्चारमाध्यम एनडीटीभीले पनि तीन दशकको अन्तरालमा भएका दुई विमान दुर्घटनामा ११ए सिटमा बसेका यात्रु बाँच्न सफल भएको उल्लेख गरेको छ। सन् १९९८ मा थाइल्यान्डमा भएको दुर्घटना र २०२५ को एयर इन्डियाको दुर्घटनामा बाँच्न सफल यात्रु सोही सिटमा रहेको समाचारमा उल्लेख छ।
३ दशकअघिको दुर्घटनामा थाइल्यान्डका अभिनेता तथा गायक जेम्र रुआङसाक बाँच्न सफल भएका थिए।
Shares

प्रतिक्रिया