कारोबार


ग्राहक संख्या बढाउन इन्टरनेट कम्पनी चर्को प्रतिष्पर्धामाः कसको ग्राहक कति?

ग्राहक संख्या बढाउन इन्टरनेट कम्पनी चर्को प्रतिष्पर्धामाः कसको ग्राहक कति?

नेपालखबर
असार ३, २०८२ मंगलबार १४:४९, काठमाडौँ

ग्राहक संख्या बढाउन इन्टरनेट कम्पनी चर्को प्रतिष्पर्धामा रहेको तथ्यांकले देखाएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकका आधारमा सरकारी कम्पनीलाई समेत उछिन्दै इन्टरनेट सेवामा वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड सबैभन्दा अगाडि देखिएको छ। कम्पनीका इन्टरनेट सेवाका ग्राहक संख्या १० लाख ३ हजार ९ सय ४९ पुगेका छन्।

घरेलु, साना व्यवसाय, कर्पोरेट क्षेत्रलाई लक्षित गर्दै सेवा दिइरहेको वर्ल्डलिंकले दुई वर्षअघि विदेशी लगानी समेत भित्र्याएको थियो। जुन नेपालकै पहिलो विदेशी लगानी भित्र्याउने इन्टरनेट कम्पनी बनेको थियो। सो कम्पनीले ब्रिटिश इन्टरनेशनल र डोल्मा इम्प्याक्ट फण्डमार्फत विदेशी लगानी ल्याएको थियो।

ग्राहक संख्या आक्रामक तवरले बढाइरहेको वर्ल्डलिंकले व्यापार पनि उत्तिकै गरिरहेको छ।

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले गत वर्ष (सन् २०२४) मा ११ अर्ब १२ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ। यो सन् २०२३ को भन्दा ७।७० प्रतिशत धेरै हो। सन् २०२३ मा यस कम्पनीले १० अर्ब ३३ करोड २० लाख र सन् २०२२ मा ९ अर्ब ३० करोड १० लाख रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपालले जनाएको छ।

हाल वर्ल्डलिंकको फाइबर नेटवर्क मुख्यतया शहर केन्द्रित छ। ग्रामीण क्षेत्रसम्म सेवा विस्तार गर्न कम्पनीले थप फाइबर नेटवर्क बिछ्याउने योजना बनाइरहेको छ। 

सबैभन्दा धेरै ग्राहक संख्याका आधारमा दोस्रो स्थानमा रहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को ग्राहक संख्या ३ लाख ५१ हजार ९ सय १२ छ। नेपाल टेलिकममा सरकारको लगानी पनि छ। सरकारी लगानी भएपनि यो कम्पनी पहिलो बन्न सकेको छैन। नेपाल टेलिकमको वित्तीय अवस्था हेर्ने हो भने सार्वजनिक संस्थानहरूमध्ये धेरै सञ्चित नाफा कमाउनेमा पहिलो स्थानमा देखिन्छ।

हालै सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन, २०८२ अनुसार नेपाल टेलिकमले ४८ अर्ब तीन करोड २० लाख रुपैयाँ सञ्चित नाफा कमाएको थियो।

यद्यपि सबैभन्दा बढी सञ्चित नाफा भएको सार्वजनिक संस्थान नेपाल टेलिकमको पनि खुद नाफामा भने पछिल्ला वर्षमा गिरावट आइरहेको छ। आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको खुद नाफा ६ अर्ब २३ करोड एक लाख रुपैयाँ रहेको थियो। जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को ७ अर्ब ९२ करोड दुई लाख रुपैयाँको तुलनामा २१.३४ प्रतिशतले कम हो। 

अर्को इन्टरनेट सेवा प्रदायक ग्राहक संख्याका आधारमा तेस्रो स्थानमा रहेको डिस मिडिया नेटवर्क लिमिटेडसँग ३ लाख ५० हजार ४ सय ६ ग्राहक छन्। यस्तै, सुबिसु केबलनेट लिमिटेडको ग्राहक संख्या ३ लाख १० हजार २ सय ९४ छ भने भायानेट कम्युनिकेसन लिमिटेडको ग्राहक २ लाख ४५ हजार ९४५ छन्।

अर्को इन्टरनेट प्रदायक कम्पनी क्लासिक टेक प्रा।लि।को ग्राहक संख्या वैशाख मसान्तसम्म १ लाख ८२ हजार ९ सय ८६ पुगेका छन्। वेबसर्फर नेपाल कम्युनिकेसनले पनि ग्राहक संख्या बढाउँदै लगेको छ। वेबसर्फरका ग्राहक अहिले १ लाख ७६ हजार ६९ छन भने टेकमाइण्ड्स नेटवर्क प्रा।लि।को ग्राहक ८५ हजार ८ सय ९१ रहेका छन्।

त्यस्तै चौधरी ग्रुपले सञ्चालन गरिरहेको सीजी कम्युनिकेसन लिमिटेडले पनि ग्राहक संख्या बढाउँदै लगेको छ। सिजिका ग्राहक अहिले ८० हजार ८५४ रहेका छन् भने बजारमा सस्तो नेट दिएको भनेर प्रचार धेरै गर्ने वाइफाइ नेपाल प्रालिले समेत ७४ हजार २९ ग्राहक बनाइसकेको छ। 

यी १० कम्पनी बाहेक अरुले पनि सेवा दिइरहेका छन्।

खासगरी ब्रोडलिंक, फाइबर वर्ल्ड कम्युनिकेसन, सजिलो नेट, कोनेक्ट नेपाल नेटवर्क लगायतले सेवा दिइरहेका छन्। उनीहरुको ग्राहक संख्या धेरै ठूलो छैन तर पनि आफ्नो उपस्थिति जमाएकै छन्।

बजारमा वर्ल्डलिंक सहितका दर्जनौं कम्पनीहरुले सेवा दिइरहँदा इन्टरनेटको गुणस्तरीयतामाथि बारम्बार प्रश्न उठ्न गरेको छ। खासगरी इन्टरनेट स्लो चलेको, भनेको भन्दा कम एमबीपीएस सेवा प्रदायकले दिँदा प्रभावकारी सेवा नपाएको गुनासो उपभोक्ताले गर्दै आएका छन्।

उपभोक्ताले त्यस्ता गुनासाहरु पटकपटक इन्टरनेट कम्पनीलाई गराउँदा समेत उन चासो नदेखाउने गरेको बताउँदै आएका छन्। नियामक दूरसञ्चार प्राधिकरणले ग्राहकलाई हैरानी दिने सेवाप्रदायकमाथि कारबाही गर्न नसकेकोप्रति पटकपटक प्रश्न समेत उठ्ने गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad