विश्वकै सबैभन्दा ठूलो आतिथ्य कम्पनीमध्येमा पर्ने मेरियट इन्टरनेशनलका अध्यक्ष डेभिड मेरियट र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ।
सोमबार बिहान अर्थ मन्त्रालयमा अर्थमन्त्री वाग्लेलाई भेट्न मेरियट सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेका थिए।
१४६ देशमा ९ हजार ९ सयभन्दा बढी होटल तथा रिसोर्ट सञ्चालन गरिरहेको मेरियट इन्टरनेसनल विश्वकै सबैभन्दा ठूलो आतिथ्य कम्पनीमध्येमा पर्छ।
उक्त कम्पनीका अध्यक्ष डेभिड मेरियट नेपालमा चारवटा लक्जरी ब्रान्ड सञ्चालनको लागि समझदारी कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन्।
अर्थमन्त्रीसँगको भेटमा पर्यटकीय हिसाबले सुन्दर देश नेपालमा आउन पाउँदा खुसी लागेको मेरियटले बताएका थिए। उनले नेपालको ट्रेकिङ र हिमालबारे जानकारी पाउँदा अद्वितीय लागेको अर्थमन्त्रीसँग बताएका थिए।
अर्थमन्त्री वाग्लेले भने मेरियट इन्टरनेसनलका लक्जरी ब्रान्डको नेपालमा उपस्थिति हुँदा यहाँको पर्यटन क्षेत्रको ब्रान्डिङमा ठूलो सहयोग मिलेको भन्दै डेभिड मेरियटको उपस्थितिको प्रशंसा गरेका थिए।
अर्थमन्त्रीसँगको भेटमा डेभिड मेरियटले नेपालको लागि कस्तो सहयोग गर्न सकिन्छ भनेर सोधेका थिए। जवाफमा अर्थमन्त्री वाग्लेले नेपालको पर्यटन क्षेत्रको ब्रान्डिङमा सहयोग आवश्यक रहेको बताएका छन्। उक्त भेटमा चौधरी ग्रुपका निर्वाण चौधरी र राहुल चौधरी पनि सँगै थिए।
अर्थमन्त्रीसँग भेटेर बाहिरिएपछि मेरियटले अर्थमन्त्री वाग्लेको प्रशंसा गरेको उद्योगी तथा होटल व्यवसायी शशीकान्त अग्रवालले जानकारी दिए।
अग्रवाल तिनै व्यक्ति हुन् जसले सबैभन्दा पहिले मेरियटको ब्रान्ड नेपाल भित्र्याएका थिए। दुई दिने भ्रमणका लागि नेपाल आएका मेरियट आजै भारत प्रस्थान गरेका छन्।
Shares

प्रतिक्रिया