कारोबार


४८ प्रतिशतले घट्यो अडलटबाट हुने सेयर कारोबार

४८ प्रतिशतले घट्यो अडलटबाट हुने सेयर कारोबार

नेपालखबर
असार ५, २०८२ बिहिबार १४:४३, काठमाडौँ

लगानीकर्ताले धितोपत्रको दोस्रो बजारमा गर्दै आएको अडलटको कारोबार घटाएका छन्।

गत वर्षको जेठको तुलनामा चालू आवको जेठमा लगानीकर्ताले ४८ प्रतिशत कम कारोबार गरेका हुन्। 

गत आवको नाफाबाट यो वर्ष लगानीकर्ताले पाउने बोनससँगै हकप्रद सेयर पनि कम हुँदा त्यसको प्रत्यक्ष असर धितोपत्र बजारमा हुने अडलट कारोबारमा देखिएको हो।

सामान्यतया लगानीकर्ताले आफूसँग रहेको १० कित्ताभन्दा थोरै सेयर खरिदबिक्री अडलट कारोबारबाट गर्ने गर्छन्। धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ अनुसार लगानीकर्ताहरूले आफूसँग एक सय रुपैयाँ अंकित मूल्य भएको १० कित्ताभन्दा कम धितोपत्र भएमा वा १० रुपैयाँ अंकित मूल्य भएको एक सय कित्ताभन्दा कम धितोपत्र भएमा त्यस्तो धितोपत्रको कारोबारलाई अडलटबाट गर्ने गर्छन्।

गएको ११ महिनायता यस्ता टुक्रे सेयर कारोबारमा कमी आएसँगै अडलटमा हुने कारोबार स्वतः घटेको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार जेठ मसान्तसम्म लगानीकर्ताले अडलटमार्फत १ करोड ३६ लाख कित्ता सेयर, ५ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार अडलटमार्फत गरेका छन्। यो मात्रा गत वर्षभन्दा ४८.५३ प्रतिशतले कम हो।

गत वर्ष जेठ मसान्तसम्म लगानीकर्ताले ४ करोड २६ लाख कित्ता सेयर १० अर्ब ४३ करोड रुपैयाँको कारोबार गरेका थिए।

गत वर्षको तुलनामा यो वर्षको जेठ मसान्तसम्म लगानीकर्ताले २ करोड ९० लाख कित्ताले कम कारोबार गरेका हुन्।

जेठ महिनामा मात्रै भने लगानीकर्ताले १६ लाख ७८ हजार कित्ता सेयर ३३ करोड १९ लाख रुपैयाँमा कारोबार गरेका छन्। वैशाखको तुलनामा जेठ महिनामा यस्तो कारोबार ६१.३० प्रतिशतले बढे पनि वार्षिक कारोबारमा भने कमी आएको हो।

नेपाल स्टक एक्स्चेन्जका प्रवक्ता मुराहरी पराजुली अडलट कारोबार घट्नु लगानीकर्ताका लागि राम्रो भएको बताउँछन्। 

उनले भने, ‘लगानीकर्तालाई अडलट कारोबारले झन्झट बनाउँछ, १ देखि ९ कित्तासम्म बिक्री गर्नुपर्दा लगानीकर्ताले दोहोरो कमिसन तिर्नुपर्ने बाध्यता हुँदा अलडटको कारोबार घट्नु राम्रै हो।’ 

सामान्यतया लगानीकर्तासँग कम्पनीले लाभांश दिँदा, हकप्रद दिँदा वा सेयर बिक्री गर्दा सबै सेयर बिक्री नहुँदा १ देखि ९ कित्तासम्मको सेयर खरिद खातामा जम्मा हुने गर्दछ। यसरी जम्मा भएको सेयर बिक्री गर्नका लागि लगानीकर्ताले अडलटको कारोबार गर्ने गर्छन्। 

धितोपत्रको दोस्रो बजारमा न्यूनतम १० कित्ता सेयर कारोबार हुने हुँदा लगानीकर्ताले यस्ता कारोबार अडलटमार्फत गर्नुपर्ने हुन्छ। आफूलाई चाहिएको १० कित्ताभन्दा कम कित्ता सेयर किनेर लगानीकर्ताले दोस्रो बजारमा सेयर बिक्री गर्ने गर्छन्। 

यो वर्षको अडलटबाट हुने कारोबार घट्नुमा व्यवस्थापनको सुधार नभएर गत वर्षको तुलनामा यो वर्ष लगानीकर्ताले पाउने लाभांश र हकप्रदको परिमाण घटनु पनि प्रमुख कारण रहेको देखिन्छ। 

२०७९ वैशाखबाट लगानीकर्ताले दैनिक रुपमा अडलटको कारोबार गर्दै आएका छन्। त्यसअघि शुक्रबार मात्रै कारोबार गर्न पाए पनि २०७९ देखि भने लगानीकर्ताले हरेक दिन टीएमएसमार्फत नै अडलटको कारोबार गर्दै आएका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad