कारोबार


नेपाली व्यवसायीको रोजाइमा केरुङ  बजार

नेपाली व्यवसायीको रोजाइमा केरुङ  बजार

नेपालखबर
असार २१, २०८२ शनिबार ६:०, रसुवा

काठमाडौँबाट नजिक रहेको रसुवागढी नाका हुँदै मित्रराष्ट्र चीनको तिब्बतस्थित केरुङ बजार नेपाली व्यवसायीको रोजाइमा परको छ।  

रसुवा जिल्लाका बासिन्दालाई मात्र प्राप्त हुने सीमा परिचयपत्रका आधारमा केरुङमा व्यापार–व्यवसाय गर्न पाउने सुविधा भएसँगै बाहिर जिल्लाका बासिन्दाको समेत बसाइँसराइका आधारमा सो परिचयपत्र लिन दौडधुप गरेको देखिन्छ।

उक्त परिचयपत्रवाहकले व्यावसायिक कामकाजका सन्दर्भमा उक्त नाका हुँदै केरुङ आइजाइ गर्न पाउने व्यवस्था छ। अध्यागमन कार्यालय रसुवागढीले चालु आर्थिक वर्षमा २४२ रसुवावासीलाई सीमा परिचयपत्र प्रदान गरेको छ।

रसुवागढी अध्यागमन कार्यालय घट्टेखोलाका वरिष्ठ अध्यागमन सहायक मेघराज शर्माका अनुसार कति रसुवावासीसँग यस किसिमको पास भएको भन्ने यकिन तथ्याङ्क नभए पनि अहिलेसम्म करिब ३० हजार रसुवावासीले सीमा परिचयपत्र लिएको अनुमान छ।  

अन्यत्रबाट रसुवामा बसाइँ सरेपछि प्राप्त गर्न सकिने  सीमा परिचयपत्र लिई केरुङमा व्यापार–व्यवसाय गर्नेको सङ्ख्या वृद्धि भइरहेको अध्यागमन सहायक शर्माले जानकारी दिए। अध्यागमन कार्यालयका अनुसार एकपटक पास लिएपछि हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान रहेको छ।

जिल्लास्थित राजनीतिक पार्टीका नेता तथा नागरिक समाजका अगुवाले सीमा परिचयपत्र वाहकले केरुङमा घर भाडामा लिन र ढुक्कसँग व्यापार–व्यवसाय गर्न पाउने भएपछि बसाइँसराइ आउनेको सङ्ख्या वृद्धि भएकाले यसबाट भविष्यमा अनेकौँ समस्या सिर्जना हुनेसक्नेतर्फ सम्बद्ध निकायको ध्यानाकर्षण गरेका छन्।   

पछिल्लो समय बसाइँसराइको सङ्ख्या बढेपछि जग्गाधनी प्रमाण पुर्जा, घर निर्माणसहित विद्युत् महसुल तिरेको प्रमाणपत्र र सम्बन्धित वडाको सिफारिससमेत आवश्यक हुने प्रावधान राखेसँगै बाहिर जिल्लाबाट यहाँ आउनेको सङ्ख्या कमी हुने अपेक्षा गरिएको छ।

यसै सन्दर्भमा माइती नेपाल रसुवागढी शाखाकी सीमा इन्चार्ज बीरू तामाङले  रोजगारीका लागि रसुवागढी नाकाबाट ५०० नेपाली महिला केरुङ गएकाे बताएका छन्। रोजगारीका लागि केरुङ गएका ती महिलामध्ये २०/२५ जनाले आफ्नै लगानीमा पसल सञ्चालन गरेका र बाँकीले होटल, पसल तथा तिब्वेतियनको घरमा रोजगारी गरिरहेको इन्चार्ज तामाङले जानकारी दिए।

केरुङ आवतजावत गर्ने व्यवसायीले दिएको जानकारीअनुसार नेपालीले केरुङमा करिब २० वटा होटल तथा लज खोलेका छन्। यसरी केरुङमा होटल खुलेपछि आफ्नोपन महसुस गरी सुपथ मूल्यमा दालभात खान र  सुत्न नेपालीलाई सहज भएको छ।

यसैगरी, खुद्रा पसलबाहेक १५/२० जनाले सिलाई बुनाइ गर्ने, करिब १५ जनाले  सुनका गरगहना बनाउने र अन्य व्यक्ति मजदुर पेसामा रमाइरहेको बताइएको छ।

यसैगरी, यस वर्ष रसुवागढी नाकाबाट मानसरोवर कैलाश तीर्थका लागि दुई हजार ३९८ पुरुष र एक हजार ६१४  महिला गएको अध्यागमन कार्यालय रसुवाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad